एजेन्सी । भारतीय वामपन्थी तथा क्रान्तिकारी कवि पीभी वरवर रावलाई भारतीय अदालतले डिसेम्बर १५ सम्म अस्पतालमै राखेर उपचार गर्न निर्देशन दिएको छ । ८२ बर्षीय रावलाई बम्बईको उच्च अदालतले गएको बिहीबार उनी उपचाररत नानाभती अस्पतालमा डिसेम्बर १५ सम्म राखेर उपचार गर्न निर्देशन दिएको हो । उनकी जीवनसंगिनी पी हेमलथाले कवि रावको स्वास्थ्यमा सुधार भइरहेको सञ्चारकर्मीहरुलाई बताएकी छन् । कवि रावको स्वास्थ्य स्थितिबारे अदालतलाई जानकारी गराएर मात्र अस्पतालबाट डिस्चार्ज गर्न समेत अदालतले नेश्नल इन्भेस्टीगेसन एजेन्सी (एनआईए)लाई भनेको छ ।

कवि रावको स्वास्थ्यमा समस्या आएपछि अदालतले नोभेम्बर १८ मा नानाभती अस्पतालमा भर्ना गराएर उपचार गर्न निर्देशन दिएको थियो । रावकी जीवनसंगिनी हेमलथाले मेडिकल रिपोर्टका आधारमा उपचार गर्न गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायधिशद्वय एसएस् शिन्डे र एमएस कर्निकले यस्तो निर्देशन दिएको थियो । हेमलथाले अधिवक्ताहरु इन्दिरा जैसिङ, आनन्द ग्रोभर र आर सत्यनारायणको सहयोगमा अदालत समक्ष रावको मेडिकल रिपोर्टको एक प्रति उपलब्ध गराउन समेत माग गरेकी थिइन् र पूर्ण उपचारविना तलोजा जेलमा नलैजान आग्रह गरेकी थिइन् ।

गएको जुलाईमा कवि रावलाई जेलमै कोरोना संक्रमण भएको थियो । केही समय अस्पताल भर्ना गराएर उपचार गरेपछि रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएसँगै उनलाई परिवारलाई जानकारी नै नगराई तलोजा जेलमा लगिएको थियो । उनको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि परिवारले उपचारका लागि अदालतलाई गुहार्नु परेको थियो । अदालतको आदेशपछि कवि रावलाई अस्पताल भर्ना गरिएको थियो । तेलगुका क्रान्तिकारी कवि रावलाई भारतीय माओवादीको समर्थकको आरोपमा विगत दुई वर्षदेखि महाराष्ट्रको तलोजा जेलमा राखिएको छ । कवि रावको रिहाईका लागि विश्वभरका वामपन्थी तथा क्रान्तिकारी कवि, लेखक तथा साहित्यकारहरुले रिहाईको लागि माग गर्दै आएका छन् । तर भारतीय फासिवादी मोदी सरकारले यसको सुनुवाई गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर