आत्मसमर्पण कि विद्रोह ? को चौबाटोमा प्रचण्ड

प्रकाशित मिति : २०७७ मंसिर ५

- –हुकुमबहादुर सिंह

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्व (विस २०४७)राजनीतिक मान्यता र संगठनात्मक चेतको गोलचक्करमा प्रचण्डलगायत नेकपा(नेकपा)का नेता तथा कार्यकताहरु रुमल्लिएका छन । । हिंजोका प्रतिगमनकारीहरु, २०५२ सालदेखिको माओवादी जनयुद्ध र २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनका विरोधीहरुलाई खुशी बनाउने हिसावले ओली सरकारका हरेक निर्णयहरु भइरहेका छन । एकप्रकारले ओलीबाट राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका हरेक सवालहरुलाई वैदेशिक तथा देशीय प्रतिक्रियावादी शक्तिहरुका हितमा लैजाने काम भइरहेको छ । नेकपा(नेकपा) भित्रका राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरुलाई देश र जनताको पक्षमा देख्न चाहनेका लागि गम्भीर भएर सोच्ने समय आएको छ ।
इतिहास साछी छ, ओली न विगतमा २०५२ सालदेखिको माओवादी जनयुद्धको पक्षमा रहे न एकतापछि रहेका छन , न त २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनका एजेण्डाका पक्षमा थिए र न अहिले रहेका छन । कुरा स्पष्ट छ नेकपा(नेकपा)भित्रका नेता तथा कार्यकर्ताहरु, जो २०६२–०६३को ऐतिहासिक जनआन्दोलनका एजेण्डाका पक्षमा गाउँदेखि केन्द्रसम्म नेतृत्वदायी भूमिकामा थिए, उनीहरुबाट ओलीका अगाडि अहिले रोइकराई गर्नुको के अर्थ रहन्छ ? अझ झन २०५२ सालदेखिको माओवादी जनयुद्धको नेतृत्व गरेका र २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनमा गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षताजस्ता उपलब्धीहरु प्राप्त गर्नका लागि बलिदानीपूर्ण भूमिका खेलेका माओवादी जनयुद्धको इतिहासबाट उत्पादित नेता तथा कार्यकर्ताहरु ओलीका अगाडि लम्पसार परेर एउटा पदका लागि रोइकराइ गरेर विगतको इतिहासलाई तिलाञ्जली दिन किन खोजीरहेका हुन ? प्रश्न गम्भीर छ । ओलीका अगाडि लम्पसार परेर एउटा पदका लागि रोइकराइ गरेर देश र जनता र उनकै व्यक्तिगत फाइदाकालागि पनि खासै उपलव्धीमूलक काम हुने सम्भावना देखिदैन । तर किन हो उनीहरु कथामा बर्णित माहादेव र पार्वतीका वरीपरी गणेशले चक्कर लगाएझै ओलीको वरीपरी चक्कर लगाएर आफ्नो समग्र राजनीतिक तथा वैचारिक स्तरलाई जनताको अगाडि सून्यमा विलिन गराउन खोजिरहेका छन ।
भरखरै प्रचण्डलगायत नेकपा(नेकपा) का अन्य केही नेताहरुद्धारा ओलीका गलत कार्यशैली तथा देश र जनताका पक्षमा नदेखिएका जे जस्ता निर्णयहरु गरे तिनका विरुद्ध सचिवालयको बैठकमा प्रस्तुत गर्नका लागि ९ पृष्ठको प्रस्ताव लैजाने तयारी गरे, यसले ओली क्याम्पमा भूकम्प गएको छ । ओली क्याम्पमा भूकम्प जानु त एक हिसावले स्वाभाविक नै थियो, यहाँ त अचम्म के भएको छ भने यो भूकम्पको असर नेकपा(मसाल) लाई पनि बलियो गरी पर्न गएको देखिएको छ । ओलीपक्षधरहरु चाहन्छन, त्यो भूकम्प पार्र्टीभित्रका ओली विरोधीहरुलाई बुमे¥याङ बनोस । ओलीलाई यो प्रस्तावले खासै असर नपारोस । हुन पनि हो कि सम्भावना यही देखिदै छ, यदि प्रचण्डले एउटा बलियो निर्णय गर्ने हिम्मत गरेनन भने । तर सम्भावना के बलियो देखिन्छ भने प्रचण्डले यो प्रस्तावलाई फिर्ता लिएर पुनः ओलीको प्रतिगमनलाई सहयोग र साथ दिने छन । किनभने ओलीसंग प्रतिमनतर्फ देशलाई लैजाने पदको लिष्ट र पैसाको थैलीजस्ता यस्ता अनेकौ बाटा छन, , जसका अगाडि नेकपा(नेकपा) का कुनै पनि नेता तथा कार्यकर्ता टिक्न सक्ने हैसियत राख्दैनन । फेरि योसँगै ओलीसंग अनेकौ यस्ता देशी तथा विदशी बलिया हतियार छन,जसको माध्यमबाट आवश्यकता परेमा ओलीले आफनो वरीपरी पूर्व एमालेलाई एकगठ राख्न सक्ने छन, जो उनले त्यसको पूर्व तयारी गरिसकेका छन । त्यो भनेको उनले दिने नारा ‘पूर्व एमाले एक हांै’ हुने छ । ‘पूर्व एमाले एक हांै’ को नारालाई मान्नेहरुको जमात नेकपा(नेकपा) भित्र कार्यकर्तादेखि नेतासम्म बलियो छ । ओलीले सबैलाई तह लगाउन एउटा जाल फयाँकि सकेका छन–नेकपा(नेकपा) को नेतृत्व दोस्रो तहका नेताहरुमा हस्तान्तरण गर्ने भनेर । नेकपा(नेकपा) भित्र यो उनको अति विकाउ नारा हुनेछ, जसले पार्टीभित्र र बाहिरका उनका विरोधीहरु सबैलाई एकैसाथ तह लगाउने छ । साथै ओलीको पूर्व एमालेलाई एकगठ राख्न सक्ने काममा प्रभावकारी भूमिका खेल्ने नेपालमा विद्यमान एनजीओ, आइएनजीओहरुको बलियो सञ्जाल पनि हो, जसमा नेपालमा विद्यमान सामुदायिक उपभोक्ता समूहहरुदेखि ठूलाठूला पैसाको कुम्लो कुटुरो बोक्ने बुद्धिजीवीहरुको एनजीओ, आइएनजीओहरुमा कार्यरत बलियो जमात छ ।
फेरी प्रचण्डका लागि पूर्व एमालेभित्रका ओली विरोधी क्याम्पमा अहिले देखिएकाहरु यदि पार्टी विभाजनसम्मको खतरा लिने मार्गतर्फ अग्रसर हुनै पर्ने भईहालेमा ‘पूर्व एमाले एक हांै’ को नारा लाग्ने सम्भावना ओलीले प्रचण्डलाई बताइसकेका छन् । यो भनेको प्रचण्डका लागि एउटा विद्रोह सिवाय अरु बाटो देखिदैन । तर यता भने पूर्व माके एक हौं भन्दा दुई पटक सोच्नेहरुको बाहुल्यता उनको पूर्व माकेभित्र झन झन बलियो बन्दै गएकोछ । भोलि विहान यस्तो नहोस प्रचण्डले आफ्ना माओवादी आन्दोलनबाट आएका नेता तथा कार्यकर्ताहरु ओलीलाई बुझाएर पार्र्र्टीबाट उनी बाहिरिन नपरोस । तै पनि इतिहासले उनलाई अवश्य एकफेर झकझकाउने छ कि जनयुद्धको माओवादी विद्रोहभन्दा ओलीसंगको विद्रोह उनलाई किन कठिन बनेको होला ? यो निश्चित हो कि माओवादी आन्दोलनको इतिहासको व्याजमा रमाउने उनको चाहनालाई भने उनले च्यातचुत पार्नै पर्ने हुने छ । प्रचण्डका लागि सबैभन्दा कठिन यही बनेको छ कि वर्तमानमा माओवादी जनयुद्धबाट आएका नेता तथा कार्यकर्ताहरु अनेकौ चीरामा बाँडिएका छन्, तिनीहरुको विश्वास जित्न अब उनका लागि फलामको च्युरा चपाउनु सरह हुने छ । तै पनि यसरी प्रचण्डजस्तो एक जना क्रान्तिकारी व्यक्तित्व अहिले आएर रातदिन ओलीमात्रै नभई उनका कार्यर्ताहरुका अपमानजनक शब्दहरु, व्यवहारहरु र उनीहरुका अहंकार र धम्कीहरुबाट पीडित भएको देख्दा माओवादी जनयुद्धका हरेक नेता तथा कार्यकताहरुमा एकप्रकारको पीडाबोध हुनु स्वाभाविक हो र भएको पाइन्छ । प्रचण्डले अब नेता होइन सामान्य कार्यकर्ता भएर माओवादी आन्दोलनलाई एकतावद्ध गर्ने गरी देश र जनताको पक्षमा कामगर्ने महान उद्घोषले मात्रै पनि देश र अन्तराष्ट्रिय जगतमा एउटा तरंग ल्याउने थियो, ओलीत त्यससमयमा एउटा भूसुनो सरह हुने थिए । के यस्तो ऐतिहासिक शाहस प्रचण्डले गर्न सक्लान ? उनका लागि यो गर्न अब सम्भवजस्तो देखिदैन । तै पनि अहिले प्रचण्डले पार्र्टी सचिवालयमा पेश गरिने प्रस्तावनामा उनले ओलीका कारण कम्युनिष्ट आचरण र मूल्य मान्यतामा भयानक ह्रास आइरहेको आरोप ओली माथि लगाएका छन, त्यसमा केही सत्यता अवश्य छ तर त्यो भन्दा पनि बढ्ता उक्त आरोपका लागि स्वयम प्रचण्ड पनि कम जिम्मेवार देखिदैनन । नेतृत्व तहदेखि स्थानीय स्तरसम्म पद र पैसाका निमित्त जे पनि गर्न उद्यत हुने घोर व्यक्तिवादी र अराजकताजवादी प्रवृत्तिका लागि ओलीभन्दा उनी कम जिम्मेवार छैनन भन्ने उनको विगत इतिहास साक्षी छ । क्रान्तिकारी आचरण र लोकतान्त्रिककरणको प्रक्रिया विलोप गराउने नेताहरुमध्ये प्रचण्डको नाम ओलीसँगै अग्रपंक्तिमै सम्झन्छन नेपाली जनता ।
अहिले बहुदलीय जनवाद’ र ‘२१ औं शताब्दीको जनवाद’ को अनावश्यक बहस चलाएर समय वर्वाद गर्नेभन्दा अवको परिवर्तनको कार्यदिशा समाजवाद भन्न नसक्ने प्रचण्डबाट ओृलीभन्दा फरक रुपले दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहने काम हुन्न भन्ने आधार के छ र ?
अब नेकपा(नेकपा) मालेमावादी संगठनात्मक, सिद्धान्त र विधि–पद्धतिबाट चल्ने संगठन रहेको छैन । किनभने यो कम्युनिस्ट पार्र्टी नै होइन , यो पूर्व एमालेको एनजीओ आइएनजीओ विचारमा आधारित पार्र्टी हो । एनजीओ आईएनजीओ विचारमा आधारित पार्टीलाई कम्युनिष्ट पार्र्टीको संगठनात्मक सिद्धान्त जनवादी–केन्द्रीयताको सिद्धान्तमा चलाउने कुरा गर्नु प्रचण्डले आफूले आफैलाई ठग्नु सरह हो ।
प्रचण्डले आफ्नो प्रस्तावमा कमरेड ओलीको सोच र कार्यशैली कम्युनिष्ट पार्र्टीको यो संगठनात्मक सिद्धान्त र मान्यताहरुको विल्कुल विपरित रहेको छ भनेर किन भनिरहेका छन ? जवकि स्वयम ओली भन्दै छन “म कम्युनिस्ट नै होइन” । यो अर्थमा ओली इमान्दार छन । प्रचण्डले नेकपा(नेकपा)भित्र रहेर कम्युनिस्टको नाममा अझै भ्रमको खेतीगर्ने प्रयास गदैछन । प्रचण्डका लागि अव केवल दुइटा मार्ग देखिएका छन , प्रथम विद्रोही प्रचण्ड बन्ने कि आत्मसपर्णवादी दाहाल रहने । उनका लागि अबको मार्ग पछिल्लो नै सजिलो होला किनभने उनले विश्व साम्राज्यवाद र भारतीय विस्तारवादका अगाडि आजभन्दा १४वर्ष पहिले नै विद्रोही प्रचण्डलाई बुझाइ सकेका छन । यद्यपि इतिहासले उनलाई अहिले यस्तो चौवाटोमा एक पटक खडा गरिदिएको छ, त्यो चौबाटो हो आत्मसपर्णवादी दाहाल कि विद्रोही प्रचण्ड ? गन्तब्य के लिने ? वैद्य, विप्लव र भट्टराईलाई साथ दिएर एउटा आमूल परिवर्तनतर्फको कार्यकता भएपनि स्विकार गरेर आवश्यक परे बरु जेल नेल र हत्कडी लगाउन तयार जनताको नेता हुने अथवा ओलीजस्ताको बैशाखीमा पूर्व एमालेको अगाडि लम्पसार पर्दै वेइजति र अवहेलनाको पात्र बनेर पार्र्टी अध्यक्ष र भावी प्रधानमन्त्री बन्ने सपनामा रमाउने ?
यसरी इतिहासमा फेरी एकपटक प्रचण्ड एउटा चौबाटोमा खडा भएका छन् – आत्मसमर्पण कि विद्रोह ? को चौबाटो ।
[email protected]