भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल ‘गुप्तचर शैली’कै भ्रमण सकेर फर्किए

प्रचण्डको सचिवालयद्धारा भारतीय गुप्तचर संस्थाका प्रमुखसँग प्रचण्डले भेट गरेको भन्ने समाचारमा सत्यता नरहेको दाबी

प्रकाशित मिति : २०७७ कार्तिक ६

६ कार्तिक काठमाडौं — भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौंमा ‘गुप्तचर शैली’कै भ्रमण सकेर बिहीबार दिल्ली फर्किएका छन ।
उनी बुधबार दिउँसो १ बजे चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए । विमानस्थल स्रोतका अनुसार गोयल सोही विमानमा बिहीबार बिहान सवा १० बजे नयाँ दिल्ली फर्किएका हुन । उनी आएको र गएको बाहेक सम्पूर्ण गतिविधि भने गोप्य नै रह्यो ।
राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले ‘रअ’का प्रमुख काठमाडौं आएको पुष्टि गरे । उनले भने, ‘यो औपचारिक भ्रमण होइन, उहाँको व्यक्तिगत वा धार्मिक भ्रमण हुन सक्छ ।’
भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा आउनुअघि त्यहाँकै अर्र्काे सुरक्षा संस्थाका प्रमुखको नेपाल भ्रमणको मुख्य एजेन्डा के थियो भन्ने सार्वजनिक भएन । स्रोतका अनुसार गोयलका लागि द्वारिकाज होटल र हायात होटलमा कोठा बुक गरिएको थियो । गोयलको भ्रमणसम्बन्धमा नेपाली सेनालाई कुनै जानकारी नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताएका थिए । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि गोयलको भ्रमण कार्यक्रमबारे अनभिज्ञता जनाएकी थिइन । तर परराष्ट्रले नै ‘कूटनीतिक अनुमति’ सहित भारतीय कूटनीतिक उडानका लागि आवश्यक प्रबन्ध तय गर्न भन्दै नेपाल उड्डयन प्राधिकरणलाई पत्र लेखेको थियो । त्यही अनुसार नेपाल उड्डयन प्राधिकरणले प्रबन्ध मिलाएको थियो ।
दुई देशबीचको सीमा विवादमा नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय पक्षबाट कुनै उच्च अधिकारी नेपाल आएका थिएनन । गोयल नेपाल आएको यो पहिलोपटक भने होइन । उनी यसअघि सन २०१९ को जुलाईमा आएका थिए । त्यस बेला उनले उच्चस्तरीय भेटघाट गरेका थिए । उनको यसपालिको भ्रमणबारे भारत र नेपाल दुवै पक्षले गोप्य राखेका छन । भारतीय दूतावासले गोयल आएको अस्वीकार गर्दै आएको छ ।
काठमाडौंमा रहेका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य भेटवार्ता गरेका छन । उनले नेतात्रयसँग बेग्लाबेग्लै रुपमा गोप्य भेट गरेपनि कुन नेतासँग के कुराकानी भयो भन्ने खुलेको छैन । बुधबार नेपाल आएका गोयलसँग पूर्व प्रधानमन्त्री प्रचण्ड र नेपालले सोल्टी होटल पछाडिको एउटा घरमा गोप्य भेटवार्ता गरेको सुरक्षा स्रोतले जनाएको छ ।
गोयल नेतृत्वको नौ सदस्यीय ‘रअ’ टोलीका निम्ति काठमाडौंको बत्तिसपुतलीस्थित द्वारिका होटल र होटल हायातमा बस्ने व्यवस्था मिलाइएको छ । तर ती दुवै होटलमा नभइ अर्कै घरमा प्रचण्ड र नेपालको गोप्य भेटवार्ता भएको हो । केही निजी सुरक्षा गार्ड लिएर गोयललाई भेट्न गएका प्रचण्डले आफ्नो सचिवालयलाई समेत जानकारी नदिएको बताइएको छ ।
सुरक्षा स्रोतका अनुसार माधव नेपालसँग पनि गोयलले सोल्टी पछाडिको त्यही घरमा भेटेका थिए तर प्रचण्ड र नेपाल सँगसँगै भेटवार्ता भयो वा छुट्टाछुट्टै भन्ने प्रष्ट भएको छैन । सोल्टी पछाडिको घरमा भएको त्यो भेटपछि प्रचण्ड र नेपाल फेरि द्वारिका होटल पुगेको र त्यहाँ गोयलसँग थप कुराकानी भएको सुरक्षा स्रोतहरूको दाबी छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि गोयलसँग बुधबार राति नै गोप्य भेट गरेका छन । प्रधानमन्त्री ओलीसँग दुई घण्टा भेटवार्ता गरेको बताइए पनि भेटवार्तामा के–के कुराकानी भयो भन्नेबारे भने खुलिसकेको छैन ।
सुरक्षा स्रोतहरूका अनुसार गोयलको भेटघाटको सूचीमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र शशांक कोइराला, जसपाका नेता बाबुराम भट्टराई र महन्थ ठाकुर लगायत थिए ।
एक दिनका लागि भनेर काठमाडौं आएका गोयल राजनीतिक भेटघाट नसकिएको जनाउँदै गोयल आज (बिहीबार) मात्र दिल्ली फर्कने बताइएको छ । गोयलको नेपाल भ्रमणलाई पछिल्लो समय नयाँ दिल्लीले नेपालमा पारेको प्रभावका रुपमा हेरिएको छ ।
यसैबीच प्रचण्डको सचिवाले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग प्रचण्डले भेट गरेको भन्ने समाचारमा सत्यता नरहेको दाबी गरेको छ ।
बिहीबार बिहान विज्ञप्ति सार्वजनिक गर्दै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रचण्डसँग भेट गरे भनेर समाचार लेख्नु भ्रम भएको बताएका हुन । रअ प्रमुखसँग भेट भएको समाचार कपोलकल्पित भएको प्रचण्डको सचिवालयले बताएकोछ ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ भनेर प्रकाशित समाचारको खण्डन गरेको छ ।
प्रचण्डको नीजि सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटाले उक्त समाचारप्रति सचिवालयको ध्यानाकर्षण भएको भन्दै संवेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गरेका छन । साथै उनले आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील पनि गरेका छन । यस्तो छ प्रचण्डको सचिवालको विज्ञप्ति ः
भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का बारेमा केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।
विष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डको निजी सचिवालय