आफ्नै भोगाइ र अनुभूतिमा कोरोना संक्रमण

प्रकाशित मिति : २०७७ कार्तिक ५

- गौरी देवकोटा

काठमाडौभित्र गत महिना देखि कोभिड -१९ को संक्रमण निकै फैलिरहेको अवस्था छ । म पनि संक्रमणको महामरीमा परेर उम्किएकोले म सँग रोगको प्रकृति, लक्षण र खानपानबारे बुझ्न धेरैले सम्पर्क गरिरहनु भएको छ । यहाँहरूकै जिज्ञासा अनुरूप आफ्ना अनुभूतिहरूलाई सार्वजनिक रूपमा नै व्यक्त गर्दा उपयुक्त होला भन्ने सोचले यो जमर्को गरेको छु ।

तीन हप्ताभित्र मलाई भएको :
बिहानै देखि ज्यान धरमराए झैँ भएथ्यो । बन्दै गरेको ग्यारेजको पोलमा नराम्रोसँग टाउको ठोकियो ।सामान असरल्ल थ्यो । थचक्क बस्न खोजेर पनि जबरजस्ती उभिरहेँ । म लड्ला भनेर समाउन लम्किएका मिस्त्रिहरू रोकिएर हेरिहेरेथे। कोठामा गएर पल्टिएँ । देब्रे कान हल्का दुख्यो, छोरालाई भनेँ । उसले गुगलतिर हेरेर Concussion हुन्छ रे ! आतिँदै भन्यो । ह्या क्यै हुन्न, नआत्ति भने पनि रातीबाट हल्का ज्वरो आयो । दोस्रो दिन छोराले कर गर्यो, टाउको जचाउन जाम भनेर । ज्वरो पनि छ । टाउको पनि दुखेको छ । जाम न त भनेर बाबुसँग अन्नपुर्ण न्युरो हस्पिटल गएँ । डक्टरलाई सबै बताएँ । सिटि स्क्यानको कुरा गरे । कति आवश्यक छ ? भनेपछि एक हप्ता अौषधि खाएर हेरौँ न त भने । अौषधि शुरु गरेँ । तेस्रो रातसम्म १०० आसपासको ज्वरो थ्यो तर पसिना आए पछि ज्वरो हरायो । भरेङ तल माथि गर्न धेरै नै गाह्रो भैरहेथ्यो । अौषधीले गलेको पो हो कि भनेर एक दिन अझै रोकियौँ । मुख बेस्वादको भयो । यो असाधारण गलाइ अौषधीले मात्रै हैन, कतै संक्रमण त भएन ? भनेर तिनै जना चेक गर्ने सल्लाहा भयो र ह्यम्स हस्पिटल पुयौँ । आफूलाई संक्रमणको शंका लागिसकेकोले सजगता अपनाइसकेथेँ । भोलि पल्ट बेलुका ९ बजे बाबु छोराको रिपोर्ट आयो नेगेटिभ तर मेरो आएन । बिहान नौ बजे पछि हस्पिटलकै नवजीको साथीसँग सोध्दा रिपोर्ट पोजेटिभ भयो भने पुन: टेष्ट गरेर भेरीफाइ गरेर मन्त्रालय मार्फत खबर आउँछ रे त्यसैले ढिलो हुन्छ भनेछन् । बिहान उठ्दा खुट्टा कापिरहेथ्यो । उठेर पनि सकिन । फेरि सुतेँ । संक्रमणमा खाने जडीबुटी र तागत दिने सबै जुटाएर खान बाँकी राखिएन । रिपोर्ट हातमा भएको भए त्यही अनुसार गर्नुहुन्थ्यो त्यो पनि पाईएन । हस्पिटल जाउँ के को आधारमा जाउँ ? चिनजानको डक्टरसँग सल्लाहा के को आधारमा गरौँ ? के खाँदा खुट्टा टेक्न सकिन्छ कसरी थाहा पाउँ ? अन्यौलतामै दुई दिन बित्यो । आइसोलेशनमा बसेको मान्छे । ब्याथा, अत्यास, अन्यौल, टाढा भएका छोराछोरी आत्तेलान् भन्ने पीर ! घरमा हुनेलाई राती गाह्रो पो भयो कि भन्ने चिन्ता ! असाध्यै अप्ठेरो परिस्थितिको सामना गरियो । धन्न मलाइ श्वास प्रस्वासमा समस्या आएन ! तेस्रो दिन नवजीले उनै साथी मार्फत रिपोर्टको फोटो प्राप्त गरे पछि आफन्त डक्टरसँग सल्लाहा गर्यौँ र मल्टिभिटामिन र भिटामिन डि खान थालेँ । मलाइ सजिलो हुँदै आयो । रिपोर्ट सुटुक्क पठाईदिने उनै साथी माथि मनमनै कृतज्ञ भएँ । शुरू भएको सत्राैँ दिनको रिपोर्टमा म संक्रमण मुक्त भएको प्रमाण पायौँ । तर कमजोरी बाँकी छ र ढाडको समस्या बल्झिएको छ । बिस्तारै दैनिकी सामान्य बन्दै छ ।

लक्षणहरू :
यसको संक्रमण पश्चात् कसैमा हल्का त कसैमा अलि बढी ज्वरो आउने, नाक पोल्ने , मुख सुख्खा हुने, थकाइ लाग्ने, स्वाद, गन्ध र वास्ना  हराउने, टाउको दुख्ने, छातीभारी भएर दुख्ने, जोर्नीहरू र पुरै शरीर दुख्ने, दिशा पिसाबमा समस्या देखिने कसैमा ज्यान असन्तुलित हुने, डाइरिया हुने आदि लक्षणहरू देखिने गरेको छ । सम्पर्क गर्नु हुनेहरूसँग कुराकानी भएको आधारमा फरक फरक लक्षण र फरक फरक पीडा दिने यो रोगको समान लक्षण भनेको मुखको स्वाद हराउने पाइएको छ । आजसम्म मानव जीवनले सामना गर्न  नपरेको यो रोग साच्चै अनौठो रहेछ । मेरो अनुभव र संश्लेषणमा अग्रिम रोग भएको व्यक्तिमा रोग अनुसारको लक्षण देखिने र शरीरमा भैरहेको ब्याथालाई यसले बल्झाइदिने गरेको पाएको छु ।

मनोविज्ञान:
मैले जब मेरो अवस्थाबारे र सरकारी लापर्वाहीबारे सामाजिक सञ्जालमा राखेँ । म सँग खुलेर वा नखुलिकन मलाइ पनि यस्तो भएको छ, के गरौ ? के खाउँ ? (अलि पछि) कसरी ठिक भइस् ? भनेर फोन र म्यासेजहरू थुप्रै आए/आइनै रहेछन् ।
संक्रमित भैसके पछिको आम मनोविज्ञान एकदम गलत पाइयो । संक्रमितहरू सकेसम्म जचाउनै नजाने । घर परिवार वा समाजले नराम्रो मान्ला कि भनेर कसैलाई नभन्ने । समस्या भैसके पछि पनि म संक्रमित हो भनेर परामर्श लिन हिचकिचाउने, सकेसम्म लुकाउन प्रयत्न गर्ने, म हैन मेरो आफन्त वा साथी बिरामी छ यसैले सोधेको भनेर कुरा शुरु गर्ने गरेको पाइयो । जस मध्ये कतिपय फोनहरू “कसैलाई नभन्दिनूहोला” भनेको सुन्दा झन्  अचम्ममा पर्ने गरेको छु । यस किसिमको चेतनाले पनि संक्रमणले बढ्दो रूप लिँदैछ । एक्लै बस्नेलाई (समान्य मात्रै असर गरेमा मात्रै) लुकाएर फरक नपर्ला तर परिवार र समाजमा घुलमिल हुनेले रोग लुकाउँन खोज्नु आत्मघाती कुरा हो । आगोलाई पोल्टामा लुकाउनु र कोरोना भाइरसलाई लुकाउनु उस्तै कार्य हो । आफ्नो कारणले अरूलाई क्षति  हुन नदिन सबैले सचेत हुनै पर्छ । यौटा संक्रमित बेलैमा सचेत हुनु र अरूलाई जोगाउनु अहिलेको अवस्थामा सबैभन्दा महत्वपूर्ण काम हो । यो एक जनाको कारणले मात्र लाग्ने रोग नभएकोले सामुहिक रूपमा नै  प्रयत्न गर्नु पर्ने देखिन्छ तर यस मामिलामा व्यक्ति, परिवार,समाज र सरकार सबै चुकिरहेको महसुस भैरहेछ ।

हस्पिटल पुग्नै पर्ने अवस्था:
आन्तरिक शक्ति बलियो हुनेको लागि कोरोना भाइरस केही हुँदै होइन । कसैमा अलिअलि लक्षण देखिन पनि सक्ने र कसैमा नदेखिन पनि सक्ने रहेछ तर पहिल्यै देखि कुनै रोग भएको शरीरलाई यसले नराम्रो असर गर्ने पाइयो । आफ्नो रोग अनुसार सचेत हुनुपर्ने देखियो । जस मध्ये पनि श्वास प्रस्वासको समस्या देखिएमा हस्पिटलको साहारा खोज्नु आवश्यक हुने रहेछ । अक्सिजन वा भेन्टिलेटर श्वास प्रस्वासमा पहिलो प्राथमिकता हुने भएकोले हस्पिटल पुग्नै पर्ने रहेछ । अन्यथा रोग अनुसार जटिल अवस्था नभएमा होम आइसोलेशन नै उपयुक्त हुने देखियो ।

खानपान:
यो रोगले शरीरलाई अत्यन्तै नाजुक बनाउने भएकोले प्रशस्त पोसिलो, रसिलो र झोलिलो खानाको आवश्यकता पर्ने रहेछ । नाक मुख शरीर पुरै सुख्खा हुने भएकोले पानी पर्याप्त पिउनु पर्ने । जडीबुटीहरू दालचिनी, गुर्जो, तुलसी पत्ता, ज्वनु, हलेदोको टुक्रा वा बेसार, जेठीमधु, सबै राखेर पकाएको गाढा रंगको पानी पिउने । पानीमा सञ्चोको थोपा हालेर पटक पटक बाफ लिने । फलफूल प्रशस्त खाने, नरिवलको पानी खाने भन्ने पनि रहेछ । (मैले चाहिँ आयुर्वेदिक ज्ञाताको भनाइलाई मानेर काँचो नरिवलको पानी पहिलो दिन चार ग्लास दोस्रो दिन दुई ग्लास र तेस्रो दिन एक ग्लास पनि पिएँ ) । खानाको स्वाद हराउने भएकोले मन नलाग्दा पनि जबरजस्त खानु पर्ने अवस्था हो यो । शरीरको स्थिति हेरेर डक्टरको सल्लाहामा भिटामिन, सिटामोल, खोकिको अौषधी, जीवनजल,डाइरीयाको अौषधी आदि लिँदा र खानपानमा ध्यान दिँदा सहज हुने पाइयो यसको लागि परिवारको महत्वपूर्ण भूमिका रहन्छ । सान्त्वना, सद्भाव र सहयोग कुनै पनि रोगको आधा अौषधी भए जस्तै यो रोगमा अझ जरूरत देखियो ।

सरकारी निकाय:
बाहिर सुन्दा कोरोना नियन्त्रण र रोकथाममा सरकारले पुरै शक्ति लगाएको भान हुन्छ तर यथार्थ फरक छ । संक्रमितको उपचार र व्यवस्थापनको त धेरै परको कुरा, पोजेटिभ बिरामीको रिपोर्ट नदिन निर्देशन रहेछ । सरकारी माध्यमबाट दिने परिपाटी भएकोले होला तर समयमा पोजेटिभ भएको सुचना नदिदा अशक्त नभएको संक्रमित परिवार र समाजमा घुलमिल भै सक्ने अवस्था हुन्छ यसर्थ संक्रमण फैलाउन सरकारी गतिविधी नै कारक रहेको पनि पाइयो । रिपोर्ट दर्ता प्रक्रियाबाट पठाउँदा ढिला सुस्ती भए पनि पोजेटिभ देखिए पछि सम्बन्धितलाई सुचना दिनु र सजग गराउनु हस्पिटल वा सरकारी निकायको दायित्व हो तर यस्तो पाइएन । उल्टै संक्रमितलाई समाजमा जाने अवसर र बिरामीको समयमा उपचारमाथि अंकुश लगाउने गरेको देखियो । मेरै सवालमा पनि पाँचौँ दिनमा सुचना आयो तपाईको रिपोर्ट पोजेटिभ छ, उमेर र स्थायी ठेगाना के हो भनेर सोधियो । कुन अवस्थामा कहाँ बसेको छ सम्म सोधिएन  । मरियो भने तथ्याङ्कको लागि सोध्यो भन्ने लागेर मन असाध्यै अमिलो बनाउने काम सरकारी निकायबाट भयो ।

देशमा शोक धुनले फेरा मारिरहेछ 
कोरोनाको कारण नागरिक आक्रान्त छौँ । राजधानीमा यौटा भेन्टिलेटरको जोहो गर्न रातभर  आठ दस वटा फोन ब्यस्त रहदा पनि उपाय विहीन भैरहेको अवस्था छ । दैनिक बिरामी बढेको बढ्यै छ । न्यून आयबाट गुजारा गर्नेहरूको दैनिकीलाई कोरोनाले बिथोलेर घर न घाटको बनाएको छ । सिंहदरबारको मूल ढोका बाहिर खुल्ला मञ्चमा महिनौँ देखि कहिले पानीले रुझ्दै त कहिले घामले पिल्सिँदै कसैले दुई गाँस देला कि भनेर पर्खिने निला अनुहारहरूलाई देख्दैन सिंहदरबार । मतलब राख्दैन संक्रमितको !  । संक्रमण घटाउने कुनै कदम वा योजना छैन सरकारसँग । यसै बीच मंगल धुन पनि शुरु भएको छ । सांसदहरू दशैं भत्ता पोको पारेर रमझममा लागिसकेका छन् । यो कुनै मामुली विषय होइन । कति अमिल्दो छ दृष्य ! यो अप्राकृति दृष्यको सृष्टि कर्ता यौटा लोकतान्त्रिक मुलुक हो । लोकतान्त्रिक मुलुकको प्रशासकीय कमजोरी मात्रै हैन यो यौटा अक्षम्य अपराध पनि हो ।

अन्तमा:
यो रोग कै कारण विश्वमा आजसम्म एघार लाख एघार हजार नौ सय पैंतालीस जनाको ज्यान गैसकेको छ । यो सामान्य रोग हैन । हल्का रूपमा कसैले नलिनुहोस् । शरीरमा भएको रोगलाई बढाएर ज्यानै जाने सम्भावना हुँदो रहेछ । त्यसैले आफू स्वस्थ भए पनि परिवारमा सबै स्वस्थ नहुन सक्ने हुनाले सबै सचेत हुनै पर्छ । कसैमा शङ्का लागेमा तुरुन्त परिवार र समाजबाट अलग हुनु पहिलो प्राथमिकता हो । सरकार गैरजिम्मेवार भयो । हामी जिम्मेवार बनौँ । परिवार र समाजको जयमा लागौँ । आउदै गरेका चाडवाडलाई भन्दा कोरोनालाई ख्याल गरौँ । सकेसम्म बाँचौँ र बचाअौँ । आउँदै गरेका शरदीय चाडहरूको सबैमा शुभकामना !

२०७७/७/३