धर्मनिरपेक्ष राज्यको धज्जी उठाउँदै ओली सरकार, गोरु काटेको आरोपमा फेरि १० जना पक्राउ, १४ बर्षे छोरी पक्राउ परेपछि ३८ बर्षे कुमालले गरे आत्महत्या

प्रकाशित मिति : २०७७ कार्तिक १


बाग्लुङ । गोरु काटेको आरोपमा बाग्लुङको ढोरपाटन नगरपालिका–१ खप्तरीवाङबाट प्रहरीले १० जनालाई पक्राउ गरेको खबर छ । गोरु काटेर मासु भाग लगाउँदै गरेको अवस्थामा स्थानीय प्रहरी कार्यालय ढोरपाटन बुर्तिवाङको प्रहरीले घटनास्थलबाट १४ बर्षे बालिकासहित १० जनालाई पक्राउ गरेको नेकपा (क्रान्तिकारी माओवादी)का केस तथा बाग्लुुङ इन्चार्ज निलबहादुर पुनले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाग्लुङले पक्राउको पुष्टि गरेपनि सो विषयमा थप केही बताउन चाहेन । क्रान्तिकारी माओवादीका नेता पुनले दिएको जानकारी अनुसार गोरु काटेको आरोपमा असोज २७ गते १४ बर्षे छोरी सुस्मिता कुमाललाई समेत प्रहरीले पक्राउ गरेर लगेपछि खप्तरीवाङका ३८ बर्षे तिलबहादुर कुमालले झुण्डिएर आात्महत्या गरेका छन् । कुमालको आत्महत्यामा प्रहरी दोषी रहेको भन्दै पीडितहरुले पोस्टमार्टम गर्न र अन्त्यष्टी गर्न नमानेपनि प्रहरीले दबाब दिएर पास्टमार्टम र अन्त्यष्टी गर्न लगाएको बुझिएको छ । २८ गते आत्महत्या गरेका कुमालको पोस्टपार्मटमपछि असोज ३० गते दाहसंस्कार गरिएको छ ।
१४ बर्षे बालिका सुस्मिता कुमाललगायत पक्राउ परेका १० जनालाई पुर्पक्षका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङमा थुनामा राखिएको छ । सुस्मितासहित पक्राउ पर्ने दिपेन्द्र कुमाल, रामलाल कुमाल, प्रकाश कुमाल, अर्जुन कुमाल, कमले श्रेष्ठ, धर्म श्रेष्ठ, सुस्मिता कुमाल (१४ बर्ष), धनकुमारी कुमाल, प्रेम कुमाल, असारी कुमाल रहेका छन् ।
संविधानमा धर्मनिरपेक्ष राज्य घोषणा गरेको सरकारले गोरु काटेर मासु खाएको आरोपमा यसरी नागरिकहरुलाई पक्राउ गर्नु, यातना दिनु र आत्महत्या गर्न समेत बाध्य पारिनुले धर्मनिरपेक्ष राज्यको धज्जी उडाएको भन्दै राजनीतिक तथा नागरिक समाज वृतमा व्यापक विरोध हुँदै आएको छ । क्रान्तिकारी माओवादीका नेता निलबहादुर पुनले राज्यको यस्तो क्रियाकलापलाई हिन्दु फासिवादको संज्ञा दिएका छन् । धर्मनिरपेक्ष भन्ने तर हिन्दु धर्मिक मान्यता, संस्कार र परम्परालाई मात्रै प्रश्रय दिने र हिन्दु धर्मको नाममा अन्य धार्मिक सम्प्रदायमाथि विभेद र उत्पीडन लाद्ने हिन्दु फासिवादी राज्यका विरुद्ध संघर्ष अपरिहार्य रहेको नेता पुनको भनाइ छ ।