
काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका उप–प्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्ने समूहमाथि ज्यान मार्ने उद्योगमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । चलाउनेमाथि आक्रमण गर्ने समूहका रूपेश साह र रविनकुमार लामालाई पक्राउ गरेपछि सोमबार प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएर अनुसन्धान अघि बढाएको हो ।
साह र लामालाई जिल्ला अदालत काठमाडौंबाट ज्यान मार्ने उद्योगको कसुरमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । साह र लामालाई प्रहरीले आइतबार साँझ भक्तपुर र सिरहाबाट पक्राउ गरेको थियो । उनीहरू दुवै जना सिरहाका बासिन्दा हुन् ।
चलाउनेलाई आक्रमण गर्ने साह र लामा पक्राउ परे पनि मुख्य योजनाकार हरि आचार्य र योगेन्द्र रावलसहित अरु तीन जना भने अझैसम्म फरार रहेका छन् । फरार हुनेमा निरज राना मगर, अनिष आर्चाय, सयुस श्रेष्ठ पनि छन् । उनीहरूविरुद्ध चलाउनेले सोमबार काठमाडौं प्रहरीमा किटानी जाहेरी दर्ता गराएका छन् ।
कुटपिटमा परी गम्भीर घाइते भएका चलाउनेको हाल ललितपुर नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा भाँचिएको छ भने शरीरभरि नीलडाम छ ।
चलाउनेमाथि कुटपिटको योजना बनाउने मुख्य योजनाकार हरि आर्चाय र योगेन्द्र रावलले दुई वर्षअघि कांग्रेस नेता कृष्णप्रसाद सिटौलानिकट भनेर आफैँले अर्को कार्यसमिति बनाएका थिए । सिटौलानिकट त्रिवि विद्यार्थीका सभापति आचार्य र रावल सचिव हुन् ।
त्यसरी नै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट विद्यार्थीका त्रिवि सभापति डा. श्यामचन्द्र अधिकारी छन् । हरिको समूहले १ भदौदेखि त्रिविमा प्राध्यपक नियुक्तको भागबन्डाको विषयलाई लिएर त्रिवि समाजशास्त्र विभागमा ताला लगाएको थियो ।
सोही ताला खोल्ने विषयमा क्याम्पस प्रशासनले हरि र रावललाई पटक–पटक छलफलका लागि बोलाउँदासमेत नआएपछि अदालतको स्टे अर्डर लिएर १४ असोजमा त्रिवि क्याम्पस प्रशासनले ताला खोलेको थियो । सोही ताला खोलेको विषयमा हरि समूह र प्राध्यापकबीच १४ गतेपछि विवाद हुँदै आएको थियो । सोही कारण आफूमाथि आक्रमण गरिएको चलाउनेको भनाइ छ ।






























