हिन्दू धर्म परम्परामा आधारित चाडपर्वहरू सामान्यतया साउन महिनामा पर्ने नागपञ्चमीबाट शुरु हुन्छ । त्यसपछि जनैपूर्णिमा, गाइजात्रा, कृष्णअष्टमी हुँदै तीज, पञ्चमी, गौरा, कुशेऔँशी, सोह«श्राद्धेपछि बडादशैँ, तिहार र छठजस्ता अली ठूला पर्वहरू आउँछन् । क्रमशः विभिन्न चाडपर्वहरू हुँदै चैतेदशैँमा पुगेर बर्सका चाडपर्वहरू समाप्त हुन्छन् । यसबिचमा विभिन्न जनजाति तथा विशेष समुदायका आआफ्नै मौलिक परम्परामा आधारित विभिन्न चाडपर्वहरू पनि पर्दछन् । यी सबै चाडपर्वहरू पौराणिक मिथोलोजीका उपज हुन् । त्यसैगरि हिन्दू धर्म अन्तरगतका कैयौँ संस्कारहरू पनि प्रचलनमा रहि आएका छन् । चाडपर्व नमनाउँदा र संस्कारहरूलाई अस्वीकार गर्दा ‘नर्क’मै परिन्छ भन्ने प्रकारले कर्मकाण्डका पुरोहितहरूले ब्याख्या गर्ने गरेका छन् । संस्कार र चाडपर्वहरूलाई धर्मकै रूपमा लिने पनि गरिएको छ । यद्यपि चाडपर्व, संस्कार वा संस्कारजन्य कृयाकलापहरू र धर्म फरक कुराहरू हुन् । धर्म नमान्दा पनि मानव जीवनका लागि आवश्यक नयाँ कुराको विकास गरेर नयाँ चाडपर्व र संस्कारहरू मान्न सकिन्छ । किनकि संस्कार र पर्वहरू भौतिकवादी पनि हुन सक्छन् । बनाउन सकिन्छ । यो नयाँ निर्माणको कुरा हो । जहाँसम्म मिथोलोजीकल पर्व र संस्कारहरू छन् ती सबै आध्यात्मिक दर्शनमा आधारित छन् । तिनले मानिसलाई ‘स्वर्ग’को आस र ‘नर्क’को त्रास देखाएर भ्रमित गरेको छ । जो सत्तासिन शोषक वर्गको स्वार्थमा नीहित छ ।
नेपाल विभिन्न जाति, धर्म, वर्ग र संस्कृतिमा आधारित जनसमुदायको बाहुल्य भएको देश हो । यद्यपि यहाँ साढे दुईसय बर्सदेखि खसआर्यहरूको एकल जाति, धर्म र संस्कृतिको एकात्मक राज्यसत्ता सञ्चालनमा छ । व्यवस्थाका नाम र शाषकहरूका अनुहार जेजति बदलिए पनि सत्ताको वर्गचरित्र पुरानै रहेको छ । विद्यमान लोकतान्त्रिक सङ्घीय गणतन्त्र भनिएको व्यवस्थाको स्वरूप र चरित्र पनि एकात्मक नै हो । यो हिन्दू धर्म संस्कृतिमा आधारित कथित उच्च जातीय र उच्च वर्गीय शाषकहरूको सत्ता हो । त्यसैले विगत साढे दुईसय बर्सदेखि शाषक वर्गले एउटै धर्म, संस्कार संस्कृति र चाडपर्वहरूलाई राष्ट्रिय मानक दिएर सबै जात जातिमा लादेर आयो । हुँदा हुँदा वहुराष्ट्रिय कम्पनीहरूले आफ्ना उत्पादित वस्तुहरूमा पनि यसैलाई विज्ञापन बनाएर कर्पोरेट संस्कृतिमा रूपान्तरण गरिदिए । फलस्वरूप आज कैयौँ चाडपर्व र संस्कारहरू फेसनको रूपमा पनि व्यापक बनेका छन् । तिनलाई विभिन्न राजनीतिक दलहरूले संरक्षण दिने र प्रोत्साहन गर्दै जाँदा कर्पोरेट मालिकहरूलाई झन् बढि फाइदा हुँदै गएको छ । जस्तो कि एक महिनादेखि तीजको दर खाने र त्यहाँ विभिन्न राजनीतिक दलको शीर्ष नेताहरू सहभागी भएर शुभकामना आदान प्रदान गर्नु, दशैँ, तिहार, छठहरूका सन्दर्भमा चियापान समारोह गरेर कर्पोरेट बजारका उत्पादनहरू सेवन गर्दै ‘जस्न’ मनाउनु र शुभकामना साटासाट गर्नु आदि । यसले त झन् पौराणिक मिथोलोजीलाई अकाट्य तथ्यमा परिणत गर्दै जान्छ र गएको छ ।
चाडपर्व र संस्कार संस्कृतिहरूका सबै नकारात्मक पक्ष मात्रै हुन्छन् भन्ने यो स्तम्भकारको भनाई होइन । हिन्दू धर्मको विकास र विस्तार हुनु भन्दा पहिला नेपाली भूगोलमा सनातन वैदिक धर्म र प्राकृत धर्म प्रचलनमा भएको कुरा यसका जानकार विद्वानहरूले भन्दै आएका छन् । वेदहरू चार वटा छन् । र, ती सबैमा प्रकृति, यसको श्रृष्टि र मानव जीवनका सम्बन्धका विषयमा चर्चा गरिएको छ । वेदहरूमा कतिपय सन्दर्भमा आध्यात्मिक संस्कारहरूको चर्चा गरिए पनि मुलतः वेदहरूको सार भौतिकवाद हो भन्ने तर्कहरू पनि विद्वानहरूले गर्दै आएका छन् । त्यस्तै प्राकृत धर्म मान्दै आएका विशेषतः जनजातिहरूमा प्रकृति पूजाका पर्व र संस्कारहरू प्रचलनमा रहेका छन् । संस्कृति पनि त्यसै अनुसार विकसित हुँदै आएका छन् ।
अब कम्युनिस्ट पार्टी र तिनको धर्म, चाडपर्व र संस्कारहरूका सम्बन्धमा मान्यता के हुनु पर्ने हो तर के भइआएको छ भन्ने कुराको सङ्क्षिप्त चर्चा गरौँ ।
कम्युनिस्ट हुनु भनेको भौतिकवादी हुनु हो । किनकि कम्युनिस्ट भनेको आजको सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादी विचार दर्शनलाई आत्मसात गर्नु हो । वा न्युनतम पनि माक्र्सवादी दर्शन स्वीकार गर्नेहरू मात्रै सच्चा कम्युनिस्ट हुन्छन् । नेपालमा जेजति कम्युनिस्ट हौँ भन्ने मानिस छन् र कम्युनिस्ट नामका राजनीतिक दलहरू छन् ती मध्य अधिकांश कम्युनिस्ट नै होइनन् । ती बजारमा राखिएका एउटै गुण, विशेषता भएका सामानका फरक फरक ट्रेडमार्क भए जस्तै हो । एउटै प्रकृतिका चिया पसलहरूका फरक फरक नाम भएजस्तै राजनीतिक दलहरूका पनि फरक फरक नाम रहेका हुन् । तिनका चरित्र, लक्ष्य, उद्धेश्य र दृष्टिकोण फरक नभएर समान छन् ।
आज सत्तासिन रहेको कम्युनिस्ट पार्टी, त्यसै सेरोफेरोका अन्य कम्युनिस्ट पार्टीहरू (जो संसदीय व्यवस्थालाई स्वीकार गरेका छन्) र काङ्ग्रेस, राप्रपा, वा मधेशवादी दलहरूका चरित्र, राजनीति, संस्कार, लक्ष्य, उद्धेश्य, सिद्धान्त र ब्यबहारमा रौँ बराबरको पनि अन्तर छैन । तीनवटै तहमा दुइतिहाई बर्चस्व जमाएर सत्ता चलाएको ‘कम्युनिस्ट’ पार्टीका कारण जनतामा सच्चा कम्युनिस्ट र नक्कली कम्युनिस्ट छुट्याउने अलमल पैदा भएको छ । आम जनताले सिद्धान्त र दर्शन बुझेका पनि हुँदैनन् । दोस्रो कुरा सत्ता बाहिर रहेका अन्य कम्युनिस्ट पार्टीका पनि धेरै कार्यकर्ताहरूमा सिद्धान्त, दर्शन तथा वैचारिक अध्ययनको खडेरी छ । जसका कारण तिनीहरूमा पनि वस्तुलाई हेर्ने र पर्गेल्ने समस्या रहेका छन् । त्यसैले पनि पौराणिक मिथोलोजीमा आधारित संस्कार, संस्कृति वा चाडपर्वहरूलाई छोड्न सकिरहेका छैनन् । छोड्नु पर्ने कुरा गरियो भने पनि विकल्प के हो त भन्ने प्रश्न उठाउने गर्छन् । यसको अर्थ दशैँ, तिहार, तीज, पञ्चमी आदि इत्यादिका तत्तत् प्रकारका विकल्प चाहियो अनि मात्रै पुराना पर्व वा संस्कारहरूलाई हटाउन सकिन्छ भन्ने हो । नत्र विकल्प नहुँदासम्म तिनैलाई मानिराख्नु पर्छ भन्ने तर्क आउँछ र आइरहेको छ । वास्तवमा यो माक्र्सवादी तर्क होइन ।
तीजमा जनवादी गीत (समाज रूपान्तरका चेतनामुलक गीत) गाएर तीज मनाउनु, साथी साथीहरू मिलेर मिठो मसिनु खानपिन गर्नु, त्यसैगरी जनवादी गीत नाच लिएर चेतनामुलक सन्देश प्रवाहका भैलो भट्याएर तिहार मान्नुलाई केही बर्सदेखि कम्युनिस्टहरूले जनवादी संस्कृति भन्दै पनि आएका छन् । वास्तवमा यो पनि हात घुमाएर कान छुनु जस्तै हो । यो वैकल्पिक पर्व वा संस्कृति होइन । तर यस्तो तरिका नेपालका कम्युनिस्टहरूले पञ्चायतकालदेखि नै अपनाउँदै आएका हुन् ।
सिङ्गो मुलुकमै कम्युनिस्ट नामको पार्टीको बर्चस्व रहँदा र कम्युनिस्ट नामकै पार्टीको सरकार हुँदा पनि किन सामज रूपान्तरण हुन सकिरहेको छैन ? यो निकै गम्भीर प्रश्न हो । र, आजको जटील समस्या पनि हो । वास्तविक कम्युनिस्टहरूका लागि यो चुनौतीको विषय बनेको छ । झापा आन्दोलनका नायकहरू तथा जनयुद्धका नायकहरू सम्मिलित पार्टीको नेतृत्व तीनै तहको सरकारमा हुँदा पनि देश झन्झन् विकराल बन्दै जानु र सांस्कृतिक रूपान्तरण अधोगतिमा ओर्लनुले जनतामा व्यापक निरासा पैदा गरेको छ । यसले सत्तामा जुन जोगी आए पनि कानै चिरेको उखानलाई बलियो बनाएको छ । यो सबै हुनुमा सत्तासिनहरू कम्युनिस्ट सिद्धान्तबाट च्युत हुनु हो । तर यो कुरो आम जनतालाई कसरी बुझाउने ? यो आजका सच्चा कम्युनिस्टहरूका लागि चुनौती बनेर खडा भएको छ ।
भौतिकवाद वस्तु (पदार्थ)लाई प्रधान ठान्ने विश्वदृष्टिकोण हो । यसलाई ऐतिहासिक श्रृङ्खलामा द्वन्द्ववादी तरिकाले अध्ययन गर्नुपर्ने तर्क सर्वप्रथम माक्र्सले प्रस्तुत गर्नुभयो । यसैलाई माक्र्सवाद भनियो । त्यसैले माक्र्सवाद द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा आधारित दर्शन हो । यसले वस्तु अर्थात् पदार्थ र चेतनामा पदार्थलाई पहिलो र प्रधान ठान्छ । पदार्थबाटै चेतनाको निर्माण हुन्छ । त्यसको अर्थ प्रकृतिमा भएका हरेक कुरालाई द्वन्द्ववादी भएर मूल्याङ्कन वा विश्लेषण गर्नु हुन्छ । त्यसैले चाडपर्वहरूलाई पनि हेर्ने दृष्टिकोण कम्युनिस्टहरूको द्वन्द्ववादी तथा भौतिकवादी हुन्छ र हुनुपर्छ । भौतिकवाद र अध्यात्मवाद एकअर्कामा विपरित दर्शन वा दृष्टिकोण हुन् । यी एकअर्काका विरोधी दर्शन भन्न पनि सकिन्छ । भौतिकवादले पौराणिक मिथोलोजीलाई इतिहास मान्दैन । किनकि यसको तथ्य प्रमाण हुँदैन । यो एउटा साहित्य मात्रै हो । कविला समाजका घटनालाई मिथोलोजी बनाएर माहाख्यान तयार गरियो । तिनै आख्यानलाई पुरोहितहरूले आफ्नो वर्ग स्वार्थका लागि पुराण र शास्त्र बनाएर जनतामा थोपरे । स्वर्ग र नर्कका भयानक कथा रचेर जनतामा स्वर्गको आस र नर्कका त्रास देखाएर सत्ता सञ्चालनका अचुक शुत्र तयार पारे । आज विज्ञानले पृथ्वी, सौर्यमण्डल हुँदै ब्रह्माण्डसमेत्को विहङ्गम अध्ययन गरिरहेको छ । यो सबै भौतिकवादी दर्शनमा आधारित छ । कम्युनिस्टहरू भौतिकवादी दर्शनलाई स्वीकार गर्ने भएकाले पौराणिक मिथहरूलाई मिथकै रूपमा लिन्छन् । त्यसैअनुसार ग्रहण गर्छन् । त्यसैले हिन्दू होस् वा कुनै पनि धर्मबाट सिर्जित पौराणिक कथामा आधारित चाडपर्वहरूलाई अस्वीकार गर्छन् । यस्ता चाडपर्व, संस्कार र संस्कृति मान्दैमा स्वर्ग वा नर्कमा जाने भन्ने कुरालाई भ्रम ठान्दछन् । र, मानिसको मृत्युपछि अर्को जन्म लिने भन्ने कुरा पनि अबैज्ञानिक र अवस्तुवादी ठान्दछन् ।
२३, असोज २०७७

प्रतिक्रिया

सम्बन्धित खवर