एकैदिन थपिए २ हजार ७ सय २२ जना संक्रमित, संक्रमितको संख्या ८२, ४५० पुग्यो

प्रकाशित मिति : २०७७ आश्विन १६

काठमाडौँ । गएको पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्मकै एकै दिनमा देखिएको सबैभन्दा उच्च संक्रमण दर हो । शुक्रबार प्रवक्ता डा जागेश्वर गौतम दिएको जानकारी अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२, ४५० पुगेको बताएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।
यसैगरी आइसोलेसनमा रहने कोरोना संक्रमित २१ हजार २ सय ३४ जना छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १० लाख ४८ हजार ६ सय ८६ परीक्षण भएको छ ।