इब्रु र हेलिन हत्याको जिम्मेवार टर्किस सरकार

प्रकाशित मिति : २०७७ भाद्र ३१

- शान्ता ढकाल

 

टर्किस सरकारले सेप्टेम्बर २०१७ मा प्रोग्रेसिभ लयर एसोसिएसनका १८ जना सदस्यलाई सरकार विरोधी मानिसहरूको पक्षमा वकालत गरेको भन्ने आरोपमा गिरफ्तार गरेको थियो । यो त केवल वहानामात्रै थियो । राष्ट्रपति रिसेप तेइप एर्दोगान लगातार केही समयदेखि आफ्नो शासन पद्धतिलाई तानाशाहीकरण गर्न अभ्यस्त थिए जसको परिणाम टर्किस जनताको न्याय र समानताको मुक्तिका लागि संघर्षरत व्यक्तिहरूलाई आतंककारीको संज्ञा दिँदै मर्न वाध्य पार्दै आएको देखिन्छ ।
इब्रु तिम्तिक गिरफ्तार भएका १८ जना वकिलहरूमध्येकी एक सकृय सदस्य थिइन । उनको जन्म १९७८ मा कुर्दिस परिवारमा भएको थियो । टर्किस उत्पीडित श्रमजीवी जनताको मुक्तिको निम्ति संघर्षरत महिला इब्रु तिम्तिक कानुन व्यवसायी तथा मानवअधिकारकर्मी थिइन । उनले फासीवादी र अन्यायपूर्ण कुर्दिस सरकारको अगाडि आत्मसमर्पण नगरी निष्पक्ष अदालतको माग गर्दै २३८ दिनको भोकहडताल गर्दैगर्दा अगस्त २७, २०२० मा अस्पतालमा उनले मृत्युवरण गरिन । उनको उमेर जम्मा ४२ वर्षको थियो । तिम्तिकको मृत्यु पछि टर्किस सरकारको सर्वत्र विरोध र निन्दा हुन थालेको छ । सेप्टेम्बर २०१८ मा तल्लो अदालतले तिम्तिक र उनका साथीहरूलाई १३ वर्ष ६ महिनाको जेल सजाय सुनाएको थियो । यसको विरोधमा तिम्तिकले प्रादेशिक अदालतमा अपिल गरेकी थिइन, जसलाई अस्वीकार गरियो ।
पुनः मार्च २०१९ मा टर्किस सरकारले प्रतिवन्धित पार्टी क्रान्तिकारी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोपमा यसअघि तल्लो अदालतले सुनाएको लामो जेल सजायलाई नै पुनरावेदन अदालतले सदर गर्दै इब्रु तिम्तिक सहित १८ जना वकिलहरूलाई सबैभन्दा बढी १८ वर्ष ९ महिना वकिल बारकिन तिम्तिक र सबैभन्दा कम ३ वर्ष १ महिना वकिल अहमद मन्दिकलाई सहित.गरी जेल सजाय तोकेको थियो जसमध्ये ८ वर्ष जेल सजाय पाएकी वकिल एजी ककिरलाई भने उनको ६ वर्षकी सानी छोरी भएकाले जेल नभइ छोरीको रेखदेखका लागि घरमा नै नजरवन्दको आदेश दिइयो । उक्त सजाय सुनाउँदा इब्रु तिम्तिक लगायत अरु १७ जना वकिल र उनीहरूको पक्षमा वकालत गर्नेहरूको अनुपस्थितिमै यस्तो निर्णय सुनाइयो । यो निर्णय कसुरदारहरूले गलत र अमानवीय माने । जुरीको अध्यक्षता गरिरहेका न्यायाधीश अकिन गरलेकको नेतृत्वले गरेको अन्यायपूर्ण र मानवता विरोधी निर्णयको विरोधमा निष्पक्ष अदालतको माग राखेर भोकहडताल सुरु गरे । फरबरी २, २०२० मा एटिक अन्सलले पनि भोकहडतालमा साथ दिए । त्यसपछि अप्रिल ५, २०२० मा टर्किस एटर्नीडेमा तिम्तिक र अन्सल दुबैजनाले अदालती प्रक्रिया निष्पक्ष नभएसम्म भोकहडताल कायम राख्ने घोषणा गरे । स्वास्थ्य अवस्था बिग्रदै गएपपछि दुबैजनालाई जुलाई ३०, २०२० मा सुरक्षाघेराभित्रै सिल्बिरी जेलबाट इस्तानबुल अस्पताल सारिएको थियो ।
तिम्तिकहरूको संघर्षमय कार्यक्रमलाई सहयोग र समर्थन गर्दै अन्तर्राष्ट्रिय लयर एशोसिएसनले वन्दी वकिलहरूको रिहाइका लागि ३६५ विदेशी र ४०० टर्किस लयरहरूको हस्ताक्षर संकलन गरी उच्च न्यालयमा बुझाएका थिए । केही संघसंस्थाहरूले संयुक्त राष्ट्रसंघले टर्किस सरकारको व्यक्तिगत र पेशागत सुरक्षा प्रतिको फासीवादी व्यहवार विरुद्ध हस्तक्षेप गरोस भन्ने आव्हान गरेका थिए । यी सबै राष्ट्रिय–अन्तर्राष्ट्रिय दबाब र प्रयास गर्दागर्दै पनि टर्किस सरकारले बन्दी बनाइएका वकिलहरूको निष्पक्ष अदालतको माग पूरागर्ने प्रयास गर्नुभन्दा अझ दमनको स्थितिमा अगाडि बढ्यो ।
इब्रु तिम्तिक लामो समयको भोकहडतालका कारण अस्वस्थ भएपछि इस्तानबुलको अस्पतालमा सारिएको उनकी बहिनीले बताएकी थिइन । उनले दिदीका लागि जेलभन्दा अस्पताल कष्टकर रहेको भनेकी थिइन किनकी त्यहाँ बत्ती थिएन, अँध्यारो कोठामा राखिएको थियो जुन चिसो थियो अनि तिम्तिकको भोकहडताल तोडाउन केही खुवाउन दबाब दिइन्थ्यो । भोकहडतालका कारणले इब्रु तिम्तिकको तौल घटेर ३० किलोग्राम भएको थियो तर पनि उनी एर्दोगान सरकारको विनाकारण आतंककारीको संज्ञा दिदैँ एक पक्षीय जेल सजायको तानाशाही निर्णयको विरोधमा टर्किस जनताको मानवीयता र स्वतन्त्रताका लागि जेल जीवन विताइरहेका आफ्ना १७ जना साथीहरूको रिहाइको लागि भोकहडतालमा निरन्तरता दिदैँ, अस्पतालमा नै अगस्त २७, २०२० मा सहादत प्राप्त गरिन । तिम्तिकको अकल्पनीय मृत्युलाई लिएर टर्कीको सरकार र न्याय व्यवस्थाको चौतर्फी विरोध गुञ्जिरहेको छ । तीता टिप्पणीहरूले समाचार भरिएका छन् । त्यहाँका राजनीतिज्ञहरू, मानवअधिकारकर्मीहरू, संगीतकार, कलाकर्मीहरूले सामाजिक सञ्जालमा बहिरो सरकार, टर्कीमा मानवीयता, न्याय र समानताको मृत्यु भएको जस्ता भावनाहरू व्यक्त गरिरहेका छन् ।

हामीले तिम्तिकको भोकहडताल पछिको सहादतको कुरा गर्दैगर्दा केही अगाडिमात्र पनि टर्किस सरकारको फासीवादी चरित्रको शिकार बनेका प्रतिबन्धित सांस्कृतिक समूह योरुम ब्यान्डका कलाकारहरू हेलिन बोलेक, इब्राहिम गोकेक, मुस्तफा कोकेकहरूको पनि भोकहडतालका कारण मृत्यु भएको थियो । लेफ्टिस्ट टर्किस फोक म्युजिक ब्यान्ड माथिको प्रतिबन्ध फुकुवाको माग, उक्त समुृहका व्यक्तिहरूको धरपकडको विरोध, उनीहरूको कार्यालय तोडफोडको विरोधमा सरकारसँग स्वतन्त्रताको माग राख्दै हेलिन बोलेक लगायत अरु सांस्कृतिककर्मीहरू अनसन बसेका थिए । टर्किस सरकारको चौतर्फी विरोधको वावजूद योरुम ब्यान्डकी गायिका बोलेनले २८८ दिनको लामो भोकहडतालको क्रममा अप्रिल ३, २०२० मा २८ वर्षको उमेरमा सहादत प्राप्त गरिन साथै उक्त ब्यान्डका सदस्य इब्राहिम गोकेकको भोकहडतालको क्रममा ३२३ दिनमा सहादत भयो, अर्कासाथी मुस्तफा कोकेकको पनि भोकहडताडको २९७ दिनमा मृत्यु भयो । अरु सांस्कृतिककर्मीहरू पनि अनसनमा छन् तर टर्किस फासीवादी सरकारबाट सुरक्षाको कुनै आशा देखिदैन । पछिल्लो केही समयदेखि टर्कीमा मानवअधिकार हननका घटनाहरू बढ्दै गएको ह्युमन राइट्स वाचले उल्लेख गरेको छ । न्यायपालिका जस्तो अंगमा राजनीतिक प्रभावका कारणले नै सरकारको आलोचना गर्ने मानवअधिकारकर्मी, विपक्षीदलका कार्यकर्ता, वकिल, पत्रकार, सांस्कृतिककर्मीहरूलाई आतंककारीको विल्ला लगाउँदै मर्न वाध्य तुल्याएको छ । यसलाई हत्या नभने के भन्न सकिन्छ त ?

तिम्तिकको मृत्युपछि टर्कीका सहरहरूमा इब्रु तिम्तिक अमर छिन् भन्दै प्रदर्शन भइरहेका छन् । अन्तर्राष्ट्रिय रूपमा पनि टर्की सरकारको निन्दनीय कार्यको विरोध र तिम्तिकको समर्थनमा आवाज उठेका छन् । तिम्तिकको शवयात्राका प्रकाशित तस्बिरहरूमा उनको शवलाई धेरै महिलाहरूले काँध दिएको देखिन्छ । उनको शवयात्रामा समर्थकहरूको जनलहर एर्दोगान सरकारले आफ्नो सत्ता प्रतिको नकारात्मक भिड संझिएर त्यहाँ पनि हेलिकोप्टरबाट सैनिकद्वारा अश्रुग्यास प्रहार गरी शवयात्रामा सरिक जनसमूहलाई तितरवितर पार्ने षडयन्त्र गरिएको थियो । विचारधाराकै आधारमा कुनै व्यक्तिविशेष वा पार्टी संगठन, अधिकारकर्मीहरूको माग र आवाजलाई संबोधन र समर्थन गर्न नसक्ने, नागरिक जीवनको रक्षागर्न नसक्ने सरकारलाई सत्तामा बसिरहने अधिकार हुँदैन । हामीसँग यस्ता सत्ताभोगीहरूलाई जनताले सत्ताच्युत गर्दै आएको इतिहास साक्षी छ । मानवअधिकारकर्मी तथा वकिल इब्रु तिम्तिक, सांस्कृतिककर्मी हेलिन बोलेक लगायत भोकहडतालको क्रममा टर्किस सरकारको फासीवादी, तानाशाही कदमका कारण सहादत प्राप्त गरेका प्रति हार्दिक नमन ।