डबल नेकपाको अन्तर्संघर्ष भित्र पुर्व माओवादीका केही नेताहरु प्रचण्डलाई छाडेर केपि ओलिको कित्तामा गएको विषयलाई लिएर अनेकौं हल्लाहरु बजारमा आइ रहेको छ । अमुक अमुक नेताहरू लाभको पद विभिन्न आश्वासन र प्रलोभनमा परेर जनयुद्धको मान्यता विपरित गएको आरोप लागेको छ । कसै कसैले त सहिदको रगत माथी अपमान भयो भनेर पनि बोलेका छन । त्यो पार्टी भित्र चल्ने अन्तरसंघर्ष त्यही पार्टी भित्रकै निजि मामला हो । मिलुन कि झगडा गरून् अरु कसैको चासोको विषय पनि हैन । घरायसी झगडाले जब घरको दलिन नाघेर आगँन हुँदै चोक चौतारीमा पाखुरा सुर्का सुर्की हुन्छ नचाहेर पनि मान्छेले मुख खोल्नै पर्दो रहेछ । बोल्नै पर्ने दुईवटा कारण छन , पहिलो आफैं यदुवंशी व्यावहार गरि रहेकाहरुको हातमा दुर्भाग्यवश देशको शासनको बागडोर छ र अर्को चाहिँ यो जुंगाको लडाइलाइ कम्युनिस्ट पार्टीको खोल ओडेर प्रतिक्रियावादी शिविरमा मन्चन गरिदै छ ।
पुर्व एमालेको हकमा धेरै आलोचना गर्नु छैन । आज पुष्पकमल दाहालले जे भने पनि क. प्रचण्डको नेतृत्वमा तत्कालीन एमालेको संशोधनवादी लाइन विरुद्ध निर्मम संघर्ष गरेरै जनयुद्धको बैचारिक जग मजबुत बनेको हो । क्रान्तिकारी ’ विचार निर्माण र परिमार्जनको प्रक्रियामा शोषित पीडित नेपाली जनताको संघर्ष र त्यसमा मार्क्सवाद– लेनिनवाद –माओवादद्वारा निर्देशित पार्टीको नेतृत्व स्थापित गर्न विभिन्न खाले अवसरवाद र मुख्यतः दक्षिणपन्थी संशोधनवादका विरुद्ध पार्टीको सम्पुर्ण नेतृत्व र कार्यकर्ता पंक्तिले चलाएको सामुहिक संघर्ष’को भुमिकालाइ क. प्रचण्डले गम्भीरतापूर्वक उल्लेख गर्नु भएको थियो । “ सुधारवादले मार्क्सवादलाई यस्तो किसिमले अपव्याख्या गर्दछ , जहाँ अरु सबै कुरा स्वीकार गरिएको हुन्छ र क्रान्तिको विरोध गरिएको हुन्छ । सुधारवादीहरुको ’ मार्क्सवाद ’ मा मात्रा कहिल्यै गुणमा रुपान्तरित हुँदैन त्यँहा केवल मात्रा , मात्रा र फेरि मात्रा हुन्छ । वास्तविक जीवनमा क्रान्तिका दृस्टीले के स्पष्ट भएको छ भने सुधारवादीहरुको त्यो मात्रा बढदैन बरु घटदै जान्छ र उल्टो छर्लङ्ग अर्थात नाङ्गो प्रतिक्रियावादमा पतन हुन्छ । नेपालमा एमाले गुट त्यसको सटीक उदाहरण हो । “ क. प्रचण्ड , नेपाली क्रान्तिका समस्याहरु , भाग १ , पृ ३ । तत्कालीन एमाले र उसको वैचारिक लाइन सुधारवाद र संशोधनवाद्को बारेमा तत्कालीन नेकपा ( माओवादी ) को यो निष्कर्ष नै आज पनि उत्तिकै सान्दर्भिक छ ।
आज केही मान्छेहरु जो जनयुद्धको पृष्ठभुमिबाट नेता भए र प्रचण्डको नेतृत्वमा हालसम्म पनि पार्टीका विभिन्न तहको नेतृत्व र सरकारका मन्त्रालयको समेत नेतृत्व गरि रहेका छन , ओलि क्याम्पमा गए भनेर ठुलै कोकोहोलो मच्चिएको छ । यसलाई दाहाल नजिकका नेता तथा कार्यकर्ताले जनयुद्धको अवमूल्यन र सहिदको रगत माथी गद्दारी गरेको संज्ञा समेत दिने गरेका छन । ओलि र दाहाल मिलेर काम गर्दा भयंकर क्रान्तिकारी र अग्रगामी हुने त्यही काम प्रचण्डलाई किनारामा राखेर गर्दा पस्चगमन र प्रतिक्रियावादी हुने गजबको तर्कशास्त्र बिकास भएको छ ।
आफैं अध्यक्ष रहेको पार्टीको स्थायी समिती देखि केन्द्रीय समिती सम्मका संरचना अटेर र अवमानना गर्ने केपि पाराको अगाडि एकलौटी रुपले प्राधिकारपुर्ण हिसाबले पार्टी संगठन संचालन र निर्णय गर्दै आएका दाहालको ’ नत्र भने चिसै पानीले नुहाउने ’ हबिगत आइ सकेको छ । ओलिले पार्टी एकताका अधुरो ( प्रचण्डका लागि उधारो ) काम पुरा पनि नगर्ने र सरकारको काम पनि पार्टीको कुनै पनि तहमा छलफल नै नगरी एकलौटी गर्दै लगे पछी पुर्व एमालेका ओलि इत्तर समूह छापामार कमान्डर प्रचण्डको काधमा बन्दुक राखेर निशाना साधेर हिडेका छन । उनिहरुको दुवै हातमा लड्डु भएको स्थिति हो । अगाडि निशाना लागेर ओलि कमजोर भए पुर्व एमालेको सिंगै समुहको नेतृत्व , ब्याकफायरको धक्काले प्रचण्ड ढले पार्टी भित्रको प्रतिपक्षी असन्तुष्ट समूह आफ्नै पोल्टामा पर्नेमा झलनाथ र माकुने ढुक्क छन् । खासमा यो प्रवृति कुनै पनि पार्टी भित्रको शिखण्डी प्रवृति हो ।
दाहाल अहिले पनि नेपाली राजनीतिको चर्चाको केन्द्रमा छन । पार्टीको दोश्रो दर्जाको अध्यक्ष हुँदा पनि चर्चामा रहनुलाइ उनी नजिकका चाटुकारहरुले उनलाइ चमात्कारिक व्यक्तित्वका रुपमा व्याख्या गर्छन र राजनितीको आफ्नो दोकान चलाइ रहन्छन् । प्रचण्ड राजनीतिको केन्द्रमा अझै पनि रहनुको एकमात्र कारण बलिदानको जगमा खडा भएको जनयुद्ध र त्यसको मुख्य नेतृत्व गर्नु नै हो । उनको चर्चा चली रहनु भनेको जनयुद्धको औचित्य र अपरिहार्यता पुष्टि हुनु हो । जनयुद्धले उठाएका मुद्दाहरु समाधान भइ नसकेको कारण क्रान्तिको निरंतरतासंग जोडेर प्रचण्डबाट क्रान्तिको आशा र अपेक्षाको भ्रममा बाच्नेहरु क्रान्तिलाई सचेतता पुर्वक विसर्जन गरेकाले त्यसको आलोचना गर्नेहरु बिगतमा भएका गद्दारि र धोखाबाट पाठ सिक्दै गम्भीर समिक्षा सहित अगाडि बढन खोज्नेहरु र एउटा युग पुरुष शिवनगर चितवनको प्रचण्ड टोल बिकास संस्थाञमा पुगेर अवसान भएको देखेर खुशी मनाउनेहरु सबैको चर्चामा कतैबाट पनि जोडिने नाम हो प्रचण्ड । उनले सुत्दा घुरेको देखि मुत्दा उच्छिटिएका छिटाको समेत कस्मेटिक समाचार बनाउने केही अनलाइन पोर्टलहरु छन । लम्पट (बादलको शव्दमा “ लुम्पेन”) चेतनाले लैस कार्यकर्ताले संचालन गर्ने केही समर्थक समुह नामका सामाजिक संजालका समुहहरु छन , जसमा शेयर गरेर ती अनलाइनहरुले आफ्नो समाचार बेच्दछन । समाचारमा आउने लाइक र शेयर संख्या गनेर प्रचण्डको उचाइ नाप्नेहरु पनि कम छैनन । वास्तावमा प्रचण्डलाई धुरिको टुप्पोमा पुर्याएर मुल खाँबो भाच्ने यहि समूह हो । यो यत्ति अवसरवादी छ कि चुनावमा आउँदा केपि ओलि सम्झने मात्रै हैन , कांग्रेसको चारतारेसंग हसिया हथौड़ा अंकित झण्डा समेत साट्न गौरवबोध गर्दछ । अलिकति अप्ठ्यारो पर्यो , ओलि संग भागबन्डा मिलेन भने बैध्य र बिप्लब देखाउछ ।
तत्कालीन एमालेसंग माओवादी केन्द्रको एकता कुनै क्रान्तिकारी कदम थिएन र हैन पनि । बिचार र राजनीतिक कार्यदिशाले सबै कुराको निर्धारण गर्ने क. माओको भनाइ अनुरुप नै गलत बिचार र राजनैतिक कार्यदिशाका कारण प्राप्त उपलब्धि पनि गुम्दै जान थाले पछी माओवादी जनयुद्धको प्रचण्डमा रहेको लिगेसी पनि संसोधनवादको जबज मोडेलको ओलि एडिसनसंग बन्दकी राखेको मात्रै हो । हिजो क्रान्तिकारी पार्टी , जनमुक्ति सेना, जनसत्ता , कम्युन विघटन सहि मानेमा बैचारिक स्खलनको सांगठनिक निर्णय थियो तर प्रचण्ड वरिपरिकाले यसलाई ठूलो क्रान्तिकारी कदम देखे । आफैंले लडेर निर्माण गरेको र नेतृत्व गरेको संविधानसभा खारेज गर्नु वास्तविक अर्थमा प्रतिक्रान्तिकारी कदम थियो ।
आफू संग भएको सहि बिचार , राजनैतिक कार्यदिशा परित्याग गर्दै महान जनयुद्धले स्थापित गरेको नेतृत्व , जसले दस वर्ष सम्म जन्युद्धलाइ नेतृत्व गर्यो आज परिवर्तन बिरोधि र कम्युनिस्ट आन्दोलनमा सुधारवादको नयाँ एजेण्ट केपि ओलि र उनको पार्टीसंग एकतालाई ऐतिहासिक आवश्यकता देख्नेहरुले आज विरोध गर्नुको कुनै अर्थ छैन । यो संसदीय व्यवस्था हो । प्रचण्ड क्रान्तिका नेता थिए , उनिबाट दलाल संसदिय व्यवस्थाको नेतृत्व सम्भव भएन । पुर्व एमाले र त्यसभित्र पनि केपि ओलिको प्रवृति नै संसदीय व्यवस्थाको कम्युनिस्ट मुखुण्डोधारी प्रतिनिधि र नेता पनि हो । यसै संशोधनवादी उसै संसदीय हुने भए पछी किन प्रचण्डको पछी लाग्नु , उनले फर्केर क्रान्तिको नेतृत्व गर्न पनि सक्दैनन , संसदिय व्यवस्थाको नेतृत्व उनले गर्न सकेनन र सक्दैनन् । प्रचण्ड आफैं ओलि क्याम्पमा पुग्दा खुशियाली मनाउनेहरुले बादल लगायत ओलि क्याम्पमा पुग्दा जनयुद्ध र सहिद परिवार सम्झिनु चाहिँ प्रचण्डले भनेझैं मात्राको जोड घटाउ मात्रै हो गुणमा रुपान्तरण गर्ने चिन्ता भने हैन ।

प्रतिक्रिया

सम्बन्धित खवर