अन्तरसंघर्ष, अनुशासन र बिद्रोह

प्रकाशित मिति : २०७७ असार २५

- खगेन्द्र छन्त्याल

पार्टी विपरीतहरुको एकत्व हो । पार्टीभित्र विपरीत प्रवृत्तिहरुबीच हुने संघर्षलाई अन्तरसंघर्ष भनिन्छ । त्यसकारण पार्टी संगठनमा अन्तरसंघर्ष स्वभाविक चिज हो । जसरी चुम्बकलाई जति टुक्रा बनाए पनि उसले उत्तरी र दक्षिणी ध्रुव देखाइरहन्छ, त्यस्तै जीवित पार्टी संगठन जति पटक गठन, पुनर्गठन गरेता पनि त्यहाँ दुई फरक फरक प्रवृत्ति तथा विचारधाराहरु देखापरिरहन्छन् र तिनीहरुको बीच अन्तरसंघर्ष चलिरहन्छ ।

चिजहरु बिग्रने र बन्ने प्रक्रिया निरन्तर चलिरहन्छ । एकातिर बनिरहेको हुन्छ भने अर्कोतिर बिग्रिरहेको पनि हुन्छ । संगठन, आन्दोलन, व्यक्ति र नेतृत्वको सवालमा पनि यो कुरा सत्य हो । विश्व कम्युनिस्ट आन्दोलनमा एकातिर माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओको जीवनशील विचारधारात्मक तथा राजनीतिक लाइन देखिन्छ भने अर्कोतिर बर्नस्टिन, काउत्स्की, ख्रश्चोभ, गोर्वाचोभ र तेङको मरणशील विचारधारात्मक तथा राजनीतिक लाइन देखिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा पनि केशरजंग रायमाझीदेखि पछिल्लो पटक प्रचण्ड, बाबुराम र बादलसम्मको पतनको इतिहास केलाउँदा थुप्रै पटक पार्टी गठन, पुनर्गठन, बिघटनका घटनाहरु भएको भेटिन्छन् । आन्दोलनको उत्थान, पतन र पुनरुत्थान भएको देखिन्छन् । नेतृत्व पनि एकातिर बिचलित हुने, पलायन र पतन हुने अर्कोतिर नयाँ नेतृत्व स्थापित हुने गरेको हामीले पाउँछौ । यसरी बन्दै गर्ने र बिग्रदै गर्ने बीच, जीवनशील र मरणशील लाइनका बीच, विचलित, पलायन, पतन र विसजर्जन हुने नेतृत्व र आन्दोलन हाँक्नको निम्ति नयाँ जन्मने र स्थापित हुने नेतृत्व बीच तीब्र अन्तरसंघर्ष हँुदै आएको र त्यो अन्तर्संघर्षमा बिग्रनेमाथि बन्नेले, मरणशीलमाथि जीवनशीलले र विचलनवादी, पलायनवादी र विसर्जनवादीमाथि क्रान्तिकारी मालेमावादीहरुले बिजय प्राप्त गरेको देख्दछौ ।

क्रान्तिकारी पार्टी संगठनभित्रको अन्तरसंघर्ष खासगरी दुई प्रकारले संचालन हुन्छन् । एक– मैत्रीपूर्ण प्रकारले, दुई– शत्रुतापूर्ण प्रकारले । सिद्धान्त, रणनीति, विचार, दृष्टिकोणमा एकरुपता हँुदाहुँदै कार्यनीति, कार्यशैली र कार्यक्रममा हुने मतभेद र अन्तरसंघर्षलाई जनवादी केन्द्रीयताको मध्यमबाट मैत्रीपूर्ण प्रकारको अन्तरसंघर्षद्वारा हल गरिन्छ । सिद्धान्त, रणनीति, विचार, दृष्टिकोणमा फरक देखिन पुग्यो भने मैत्रीपूर्ण अन्तरसंघर्षले शत्रुतापूर्ण रुप लिने सम्भावना रहन्छ । त्यसखालको अन्तरविरोधलाई सुरुमा ‘बिरामीलाई निको पार्ने’ नीति अनुसारनै छलफल चलाइन्छ र सिद्धान्त, रणनीति, विचार दृष्टिकोणमा एकरुपता ल्याउने प्रयास गरिन्छ । तत्पश्चात पनि सिद्धान्त, रणनीति, विचार दृष्टिकोणमा एकरुपता कायम हुन नसकेमा अन्तरसंघर्ष निर्मम र सम्झौताहीन हुन पुग्दछ । त्यस्तो अवस्थामा संघर्षले शत्रुतापूर्ण रुप लिन पुग्दछ र संगठनले फुट र विभाजन ब्यहोर्न पुग्दछ । सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले सँधै एकता–संघर्ष–रुपान्तरण, नयाँ आधारमा नयाँ एकताको द्वन्द्ववादी मान्यतालाई पार्टी अन्तर्संघर्षमा लागू गर्ने र दह«ोसँग पकड्ने गर्दछन् ।

अनुशासन संगठनको एउटा महत्वपूर्ण र आधारभूत विषय हो । क्रान्तिकारी संगठनले क्रान्तिकारी (फलामे) अनुशासनको पालनाबिना क्रान्तिकारी लक्ष्य प्राप्त गर्न सक्दैन । क्रान्तिकारी अनुशासनलाई पालना गर्ने सवालमा माओत्सेतुङ भन्नुहुन्छ “अनुशासनको नियमहरुलाई कसैले उलंघन गर्दछ भने उसले पार्टी एकतालाई भंग गर्दछ, अल्पमतको विचारलाई अस्वीकृत गरिएको छ भने बहुमतले स्वीकृत गरेको निर्णयलाई समर्थन गर्नैपर्दछ, अर्को सभामा पुन ः विचारार्थ ल्याउन सक्छ, तर त्यसबाहेक कुनै किसिमबाट पनि निर्णयको बिरुद्ध काम गर्नुहुँदैन ।”

लेनिनवादी संगठनात्मक सिद्धान्तले परिभाषित गरेको पार्टी अनुशासनका खास नियमहरु यसप्रकार छन् ः– व्यक्ति संगठनको अधिनमा, अल्पमत बहुमतको अधिनमा, तल्ला निकायहरु माथिल्लो निकायको अधिनमा, सबै सदस्यहरु केन्द्रीय समितिको अधिनमा र केन्द्रीय समिति महाधिवेशनको अधिनमा हुन्छ । कम्युनिस्टहरु बिशेष धातुले बनेका हुन्छन् भन्ने मान्यतालाई आत्मासात गर्दै कम्युनिस्ट पार्टीका सदस्यहरु पार्टी र क्रान्तिका फलामे अनुशासनदेखि कहिल्यै बिचलित हुनुहँुदैन । तथापि अनुशासन र बिद्रोह निरपेक्ष होइन, सापेक्ष हुन्छ । अनुशासन र जनवादी केन्द्रीयतालाई अधिभूतवादी या यान्त्रिक ढंगले बुझ्ने र अपनाउने गर्नुहुँदैन । नोकरशाहहरु सँधै तलबाट मात्र अनुशासनको अपेक्षा राख्दछन्, आफुले अनुशासनको पालना गर्दैनन् । अराजकतावादीहरु सँधै बिद्रोहमा जोड दिन्छन् अनुशासन के हो बुझ्दैनन् । तर क्रान्तिकारी माक्र्सवादीहरु पार्टी अनुशासनमा जोड दिन्छन् र पार्टी र क्रान्तिको हितमा आवश्यक परेको खण्डमा विद्रोहका निम्ति तयार रहन्छन् । सँधै अनुशासन मात्र ठिक बिद्रोह बेठिक हुँदैन । त्यस्तै सँधै बिद्रोह मात्र ठिक अनुशासन बेठिक पनि हुँदैन । त्यो पार्टीभित्र जीवनशील प्रवृत्ति हावी छ भने अनुशासन प्रधान हुन्छ, मरणशील प्रवृत्ति हावी हुँदै गएको छ भने त्यो प्रवृत्तिका विरुद्ध विद्रोह प्रधान हुन पुग्दछ । यसलाई पार्टी जीवनको सापेक्षतामा बुझ्नु पर्दछ ।
क्रान्तिकारीहरुले जब क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी पार्टी र आन्दोलनको रक्षाको निम्ति अवसरवादीहरुका विरुद्ध संघर्ष गर्दछन्, विद्रोह गर्दछन्, त्यतिवेला सापेक्षिक रुपमा अनुशासन गौण बिषय बन्न पुग्दछ । त्यस्तै जब अवसरवादीहरुले क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी पार्टी र आन्दोलनको बिरुद्ध षड्यन्त्र गर्दछन्, त्यतिबेला अनुशासन प्रधान बिषय बन्दछ । माओत्सेतुङ् भन्नुहुन्छ “माक्र्सवाद लागु गर, संशोधनवाद होइन, एकताबद्ध होऊ नफूट, खुला र स्पस्ट होऊ, छलछाम र षड्यन्त्र नगर” । अवश्य माक्र्सवाद लागुगर्ने, माक्र्सवादी सिद्धान्तको आलोकमा एकताबद्ध हुने र खुला र स्पस्ट हुने सन्दर्भमा क्रान्तिकारीहरुको निम्ति अनुशासन प्रधान बिषय बन्छ । तर संशोधनवादी, अवसरवादीहरुले मार्क्सवाद होइन, संशोधनवाद लागु गरेमा, गलत सिद्धान्त, विचारको कारण फुटको बिजारोपण गरेमा र संगठनमा खुला र प्रस्ट होइन, छलछाम र षड्यन्त्र गरेमा क्रान्तिकारीहरुको निम्ति अनुशासन गौण बिषय बन्दछ ।

सिद्धान्त, पार्टी र क्रान्तिको रक्षाको निम्ति अनुशासनको पालना गर्नुपर्ने हुन्छ । त्यसरी नै सिद्धान्त, पार्टी र क्रान्तिको रक्षाको निम्ति नै कथित अनुशासनको उलंघन गर्दै बिद्रोह गर्नुपर्दछ । क्रान्तिकारी सिद्धान्तको आधारमा, क्रान्तिकारी नेतृत्वको पहलकदमीमा जब क्रान्तिकारी आन्दोलन चलिरन्छ, तब क्रान्तिकारीहरुले सिद्धान्त, पार्टी र क्रान्तिको रक्षाको निम्ति क्रान्तिकारी अनुशासनको पालना गर्नुपर्दछ । जब अवसरवादीहरुले हेडक्वाटर कब्जा गरेर सिद्धान्तको तोडमोड गर्दछन् र पार्टी, क्रान्तिमाथि गद्दारी गर्दछन्, तब क्रान्तिकारीहरुले सिद्दान्त, पार्टी र क्रान्तिको रक्षाको निम्ति कथित अनुशासनको घेरा तोडेर बिद्रोह गर्दछन् । किनकि, सिद्दान्त, पार्टी र क्रान्तिभन्दा अनुशासन ठुलो कुरा होइन । बिद्रोहबारे लेनिन भन्नुहुन्छ– “जब क्रान्तिकारी पक्षले अवसरवादी पक्षका बिरुद्ध संघर्ष गर्दछ त्यो राम्रो कुरा हो, जब अवसरवादी पक्षले क्रान्तिकारी पक्षका बिरुद्ध बिद्रोह गर्दछ, त्यो नराम्रो कुरा हो ।”

माओले एक पटक एकजना कमरेडसंग सोध्नुभएको थियो ः केन्द्रीय कमिटीमा संशोधनवाद देखाप¥यो भने तिमी के गर्ने छौ ? यसबारे माओ स्वयंले प्रस्ट पार्दै भन्नुभयो, “जब केन्द्रीय एजेन्सीहरुले खराब काम गर्दछन्, तब मैले स्थानीय संगठनहरुलाई बिद्रोह गर्न र केन्द्रमाथि आक्रमण गर्न आह्वान गर्नेछु ।” माओले थप प्रस्ट पार्दै भन्नुभयो, “माक्र्सवादमा हजारौ सत्य छन्, तर ति सबलाई एउटै वाक्यमा भन्न सकिन्छ– “बिद्रोह गर्नु अधिकार हो” । ‘केन्द्रिय कार्यलयमा बम बर्षाउ’ नारा दिएर महान सर्वहारा सांस्कृतिक क्रान्तिको समयमा यसलाई माओले ब्यबहारिक रुप मै प्रयोग गर्नुभयो । सिद्धान्तको गम्भीर ढंगले उलंघन भएपश्चात् जनवादी केन्द्रीयता र अनुशासनलाई पालना गर्ने कुरा प्रधान हुँदैन, संगठनसित नै सम्बन्ध विच्छेदमा जोड दिनुपर्ने हुन्छ । किनकि त्यो अवस्थामा बिद्रोहलाई पनि उचित मानिन्छ । यो पनि लेनिनवादी संगठनात्मक मान्यताको विशेषता हो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा विभिन्न खाले गलत चिन्तन, विचलन र भड्कावका बिरुद्ध क्रान्तिकारीहरुले संघर्ष र बिद्रोह गर्दै आएको इतिहास छ । केशरजंग रायमाझीको राजापरस्त सोच, पुष्पलालको कांग्रेसपरस्त सोेच र मनमोहनको संशोधनवादपरस्त सोचका साथै मोहनविक्रमको न जनसंघर्ष न सशस्त्र संघर्षको सारसंग्रहवादी चिन्तनका बिरुद्ध गरिएको संघर्ष र बिद्रोहहरु इतिहासका उदाहरण हुन् । पछिल्लो समयमा बिगत लामो समयदेखि प्रचण्ड–बाबुरामको तत्कालीन नवसंशोधनवादी हर्कतहरुको बिरुद्ध पार्टीभित्रै क्रान्तिकारीहरुले कठोर संघर्ष गरे । क्रान्तिकारीहरुले अन्तरसंघर्षद्वारा उनीहरुको रुपान्तरणको निम्ति प्रयास गरे । तर ति प्रयासहरु सबै बिफल भए । प्रचण्ड–बाबुरामहरु एकपछि अर्को दलदलमा फस्दै गए । अन्ततः उनीहरुको क्रान्तिकारी रुपान्तरण असम्भव भयो । उनीहरुले सिद्धान्त, पार्टी र क्रान्तिप्रति, शहीदहरुका सपनाप्रति र भोका नाङ्गा जनताका आस्थाप्रति खुलेआम घात गरे । तत्पश्चात उक्त संघर्षको अन्तिम निकास स्वरूप ०६९ असारमा ऐतिहासिक बौद्ध भेलाद्वारा क्रान्तिकारीहरुले बिद्रोह गरे । प्रचण्ड–बाबुरामहरुले रछ्यानमा मिल्काउन खोजेको हसियाँ हथौडा अंकित रातो झण्डालाई क्रान्तिकारीहरुले जोगाए । प्रतिक्रान्तिकारी समुहको बिरुद्ध क्रान्तिकारीहरुले गरेको त्यो बिद्रोह पार्टी, क्रान्ति देश र जनता निम्ति सहि बिद्रोह थियो ।

त्यसको केहि समय पश्चात बिप्लव समुहमा सैद्धान्तिक, वैचारिक विचलन आयो, जसको कारण उक्त समुहले संक्षिप्त छलफल, बहसकै बीच क्रान्तिकारी पार्टीसंँग हतारमा सम्बन्ध–बिच्छेद ग¥यो । त्यस्तै बादल समुहमा व्यक्तिगत सुख, सुविधा र ऐस आरामको भोग जाग्यो र बिनाकुनै बहस, छलफल नै त्यो समुह क्रान्तिको यात्राबाट पलायन भएर प्रतिक्रियावादी कित्तामा पुग्यो । वास्तवमा बिप्लव–बादलको नेतृत्वमा भएका यी दुवै घटनाहरु विचलन र पलायन थिए । बिद्रोह थिएनन् । अर्को शब्दमा भन्नुपर्दा विचलनवादी र पलायनवादीहरुले क्रान्तिकारीहरुको बिरुद्ध गरेको कथित बिद्रोह थियो त्यो । संगठनबाट अवसरवादीहरुको पलायनले दीर्घकालीनरुपमा क्रान्तिकारी आन्दोलनलाई फाइदा नै पुग्दछ । उचित समयमा नै क्यान्सर पत्ता लगाएर उचित उपचार गर्न सकिएन भने क्यान्सरले मान्छेको जीवन समाप्त गर्दछ । क्रान्तिकारी आन्दोलनमा अवसरवाद एउटा गम्भीर प्रकारको रोग हो । यसको समयमै उचित उपचार हुन नसकेमा यसले आन्दोलनलाई बर्वाद बनाउछ । क्रान्तिकारी संगठनले संगठनभित्रका अवसरवादी स्वभावका साथीहरुको क्रान्तिकारी रुपान्तरणको निम्ति एकहदसम्म प्रयास गर्नुपर्दछ । उनीहरुको क्रान्तिकारी रुपान्तरणको सम्भावना नदेखेपश्चात् क्रान्तिकारी संगठन र आन्दोलनको रक्षाको निम्ति उनीहरुलाई संगठनबाट निस्काशन गर्नुपर्दछ ।