एमसीसीका विरुद्ध निरन्तर सडक संघर्षमा क्रान्तिकारी माओवादी : बुधबार काठमाडौंमा गरियो नाराजुलुससहित विरोधसभा (फोटोफिचर)

प्रकाशित मिति : २०७७ असार १७

- अनु निरौला


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशको आयोजनामा एमसीसी खारेजीको जारी संघर्ष अन्तर्गत बुधबार विरोध जुलुससहित विरोधसभा सम्पन्न गरेको छ ।

रत्नपार्क शान्तिबाटिकाबाट अमेरिकी साम्राज्यवाद मूर्दावाद, एमसीसी सम्झौता खारेज गर, विदेशी दलाल शासकहरु मूर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल जिन्दावाद लगायत नारा लगाउँदै जमल, भोटाहिटी हुँदै असनको इन्द्रचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।


विरोधसभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र पार्टीका पोलिटव्यूरो सदस्य तथा ३ नं. प्रदेशका इन्चार्ज दिनेश शर्मा सागरलगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । विरोधसभाको सञ्चालन पार्टीका पोलिटव्यूरो सदस्य तथा ३ नं. प्रदेशका सचिव प्रवेशलेगर्नुभएको थियो ।


कार्यक्रममा नेताहरुले क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक कोर्चाको सडक आन्दोलनको दबाबकै कारण सरकारले लिम्पियाधुरासहतिको नक्सा जारी गर्न बाध्य भएको चर्चा गर्दै राष्ट्रघाती एमसीसी सम्झौता पनि जारी सडक आन्दोलनकै दबाबका कारण खारेज हुने बताउनु भयो । एमसीसी सम्झौता नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि गम्भिर आँच पुर्याउने र नेपाललाई अमेरिकी साम्राज्यवादको कड्पुतलीमा परिणत गराउने उद्देश्यसहित गरिएकोले यसको अविलम्ब खारेजी गरिनुपर्ने तर्क गर्नुभयो ।