इच्छुक स्मृति दिवसमा विशेष कविता गाेष्ठी सम्पन्न

प्रकाशित मिति : २०७७ जेष्ठ १४

काठमाडौं । १८ औँ इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवशका अवसरमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले अनलाइन सेवा जुम मार्फत् विशेष कविता गोष्ठी सम्पन्न गरेको छ ।

महान् सहिद कृष्ण सेन ‘इच्छुक’को तात्कालिन महेन्द्र पुलिस क्लव काठमाण्डौमा हत्या भएको जेठ १३ गतेलाई अखिल नेपाल जनसांस्कृतिक महासङ्घ र इच्छुक सांस्कृतिक प्रतिष्ठानले ‘इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवश’ मनाउँदै आएका छन् ।

यस वर्ष कोरोनाजन्य माहामारीले सिङ्गो विश्व आक्रान्त भएको छ । नेपालमा पनि कोरोनाको उच्च जोखिम रहेको र माहामारीको प्रभाव बढ्दै गएका हुनाले देश विगत दुई महिनादेखि लकडाउनमा रहेको छ । यस्तो अवस्थामा कुनै पनि सङ्घ संस्थाहरूले प्रत्यक्ष रूपमा कुनै पनि गतिविधि गर्न सकिरहेका छैनन् । इच्छुक सांस्कृतिक प्रतिष्ठानले जेठ १३को वलिदान दिवशलाई अनलाइन सेवा जुममार्फत् विशेष कविता गोष्ठी गरेर यस वर्ष इच्छुकलाई सम्झिए ।

प्रतिष्ठनका अध्यक्ष हिरामणि दुःखीको सङ्क्षिप्त मन्तव्य पश्चात सुरु भएको कार्यक्रममा २६ जना कविहरूले सहभागिता जनाए । कविहरूले अहिलेको राज्यसत्ताको उत्पीडन, दमन, कोरोनाजन्य माहामारीले पारेका प्रभाव, राष्ट्रिय स्वाधीनता, जनयुद्धको मूल्यबोध आदि विषयमा कविता वाचन गरेका थिए । कार्यक्रमको सुरुआतमा प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले सहभागि कविहरूलाई स्वागत गर्दै इच्छुकको योगदान, सांस्कृतिक वलिदान दिवशको सन्दर्भ र औचित्यबारे सङ्क्षिप्त मन्तव्य राखेका थिए । त्यसपछि कार्यक्रको सहजीकरण प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले गरेका थिए भने प्राविधिक व्यवस्थापन प्रतिष्ठानका सदस्य प्रा.डा.ताराकान्त पाण्डे्यले गरेका थिए । पाण्डे्यले इच्छुकको कविता कृति बन्दी र चन्द्रागिरीबाट ‘यात्रामा हिँड्दाहिँड्दै’ शीर्षकको कविता वाचन गरेर कविता वाचनको प्रकृया अगाडि बढाइएको थियो ।

उक्त जुमसेवा मार्फत् कविता वाचन गर्ने कविहरूमा सुनिता बुढाथोकी, विष्णु भण्डारी, छायादत्त न्यौपाने, विमला चन्द, शीला योगी, गौरी दाहाल, जगदीशचन्द्र भण्डारी र मित्रलाल पंज्ञनी (काठमाडौं), राजेन्द्र पौडेल, पोषराज पौडेल, पर्शुराम कोइराला, कल्पना चिलुवाल र कृष्णराज अधिकारी (पोखरा), इन्दिरा अधिकारी, पञ्चकुमारी परियार र केशव सिलवाल (ललितपुर), उमेश आचार्य (हेटौँडा), मोदनाथ मरहट्टा, विष्णु न्यौपाने (चितवन), रोशन जनकपुरी (जनकपुर), अनिल श्रेष्ठ (तनहुँ), बलराम तिमल्सिना (भक्तपुर) र हिरामणि दुःखी (दाङ) थिए ।

मंगलबार दिउँसो दुई बजेबाट सुरु गरिएको कार्यक्रम साढे चार बजे सकिएको थियो । कार्यक्रमको समापनमा प्रतिष्ठानका अध्यक्षले लकडाउनका अवसरमा पनि सबै आआफ्नै घरमा बसेर महान् सहिद कृष्ण सेन इच्छुकलाई स्मरण र सांस्कृतिक वलिदान दिवशको मूल्यवोध गर्दै इच्छुकका अधुरा सपना पूरा गर्न सबैले वर्तमान प्रतिक्रियावादी राज्य व्यवस्थाका विरुद्धमा पुनः आन्दोलनको सृष्टी गर्नुपर्ने औँल्याउँदै सबै सहभागिहरूलाई धन्यावाद दिएका थिए ।