क्रान्तिकारी ट्रेड यूनियन महासंघको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप, महासंघका अध्यक्ष र महासचिवसहित १६ जना पक्राउ

प्रकाशित मिति : २०७७ जेष्ठ १३

काठमाडौं । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को खारेजी, मजदुरहरुको उद्दार तथा राहत लगायतको विषयमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले मंगलबार गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । विभिन्न नारा लेखिएका प्ले कार्डसहित विरोध प्रदर्शनका लागि माइतीघर मण्डलामा पुगेका महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना, महासचिव बसन्त बोगटी लगायतका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्य मजदुर नेताहरुमा बद्री चापागाईं, अर्जुनलाल श्रेष्ठ, ढोग प्रसाद अधिकारी, कुमार घताने, दिनेश बर्तौला, बालकृष्ण सिटौला, बालकुमार सुनुवार, ध्रुव क्षेत्री, दिनेश थापा, देवि गौली, निशा राई, नरेन्द्र कार्की, शंकर बोहरा, गौतम श्रेष्ठ रहेका छन् ।


उनीहरुले राष्ट्रघाती एमसीसी चाहिदैन, मजदुर विशेष रोजगारको व्यवस्था गर, वैदेशिक रोजगारीमा रहेका मजदुुरहरुलाई स्वदेश फर्काउने व्यवस्था गर, सीमा क्षेत्र र भारतमा अलपत्र मजदुरहरुको उद्दार गर लगायतका नाराहरु लगाएका थिए । पक्राउ परेका मजदुर नेताहरुलाई भृकुटी मण्डपस्थित महेन्द्र पुलिस क्लवमा राखिएको बताइएको छ ।