कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण यसपटक १८ औं इच्छुक स्मृति दिवस औपचारिक कार्यक्रमका साथ मनाउन पाइएन । प्रत्येक वर्ष जनपक्षीय तथा क्रान्तिकारी पत्रकारहरुले जेठ १३ गते इच्छुक स्मृति दिवसमा ‘प्रभातफेरी’ लगायतका कार्यक्रमहरु गर्दै आएका थिए । महामारीका कारण भौतिक रुपमा जमघटका साथ कार्यक्रम गर्ने स्थिति अहिले छैन । तथापि यसपटक पनि क्रान्तिकारी पत्रकार महासंघ, इच्छुक प्रतिष्ठान लगायतका संगठन तथा संस्थाहरुले फरक ढंगले कवि, साहित्यकार तथा पत्रकार सहिद कृष्णसेन इच्छुकलाई सम्झने र उहाँले नेपालको जनवादी तथा समाजवादी आन्दोलनमा पु¥याएको योगदानको बारेमा चर्चा परिचर्चा गर्ने क्रम चलिरहेको छ । यो छोटो आलेखमार्फत् महान सहिद कृष्णसेन इच्छुकको बहुआयामिक व्यक्तित्व र उहाँको व्यक्तित्व र कृतित्वबाट बाँचेको पुस्ताले सिक्नुपर्ने विषयहरुलाई यहाँ संक्षिप्तमा चर्चा गर्न खोजिएको छ ।

सेनको बहुआयामिक व्यक्तित्व
बुबा यामबहादुर सेन र आमा भीमकुमारी सेनको कोखबाट वि.सं. २०१३ कार्तिक ३ गते भारतको देहरादुनमा सेनको जन्म भएको थियो । जीविकाका लागि यामबहादुर सेन भारतीय सेनामा भर्ती हुनुभएको थियो । परिवारसहित भारतको देहरादुनमा रहँदा नै सेनको जन्म भएको थियो । पुख्र्यौली घर प्युठान भए पनि बसाइँ सरेर अर्घाखाँची जिल्लाको जलुके गा.वि.स.को सातमारामा उहाँहरु बस्दै आउनु भएको थियो ।
बुबाकै रेखदेखमा शिक्षारम्भ गरेका कृष्ण सेनले दाङको लालमटिया हाइस्कुलबाट एसएलसी पास गर्नुभयो । निम्न आर्थिक अवस्थाका कारण उहाँले पढाइलाई निरन्तरता दिन पाउनु भएन । बुबाको निधन भएपछि पारिवारिक जिम्मेवारी बहन गर्न सेन दाङ कोइलाबासको साल्ट ट्रेडिङमा जागिरे समेत हुनुभयो । जागिर खाँदै गर्दा उहाँले घरमै तयारी गरेर भारतबाट प्राइभेट आइए उत्तीर्ण गर्नुभयो । पछि महेन्द्र क्याम्पस दाङबाट बीएड उत्तीर्ण गर्नुभयो र एमएको तयारी गरे पनि परीक्षा भने दिनुभएन ।

हार्दिक शुभकामना !

कृष्ण सेनले ०४८ सालमा तक्मा केसीसँग विवाह गर्नुभयो । समीक्षा केसी उहाँहरुकी एकमात्र छोरी हुनुहुन्छ । सेनकी श्रीमती केसीले मेडिसिन क्याम्पस महाराजगन्जमा प्राध्यापन गर्नुहुन्छ । विचार र आस्थाका हिसाबले उहाँले आफ्नो सापेक्षतामा सेनको पदचाप पछ्याइरहनु भएको छ ।
देशको स्वाधीनता र श्रमजीवि जनताको स्वतन्त्राको पक्षमा कलम चलाएबापत जेल कृष्ण सेनको जीवनको अभिन्न अङ्ग बन्न पुग्यो । उहाँ ०३९ देखि ०४४ सालसम्म दाङ कारावासमा ६ वर्ष, ०५६ सालमा काठमाडौंको भद्रबन्दी गृहमा १ वर्ष र सिराहा तथा सप्तरीको राजविराजमा २ वर्ष गरी नौ वर्षसम्म जेल बस्नु भयो । सङ्कटकालका बेला ०५९ साल जेठ ६ गते काठमाडौँबाट गिरफ्तारमा पर्नुभएका सेनको ७ दिनपछि अर्थात् ०५९ साल जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर कुटीकुटी हत्या गरियो ।
०३२ सालदेखि कविता प्रकाशन गर्न थाल्नुभएका कृष्णसेन साहित्य सन्ध्या पुरस्कार (२०५७), पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९), कृष्णमणि साहित्य पुरस्कार (२०५९) र प्रेस सेनानी पुरस्कार (२०६५) बाट सम्मानित हुनुभयो ।
कृष्ण सेन ‘इच्छुक’ले नेकपा (अविभाजित चौथो महाधिवेशन) को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीतिक जीवन सुरु गर्नुभएको थियो । ०३८ सालमा चौथौ महाधिवेशनले पञ्चायती आम चुनावलाई बहिष्कार गर्यो । बहिष्कार अभियानमा विद्यार्थी मोर्चाबाट सक्रिय सेन ०३९ सालमा क्याम्पसबाटै पक्राउ परेर सुरक्षा कानुनअन्र्तगत ०४४ सालसम्म जेल बस्नुभयो ।
तात्कालीन अनेरास्ववियु (छैटौं) को संयोजक भएर विद्यार्थी मोर्चा सम्हालेका सेन अखिल नेपाल जनसांस्कृतिक संघको संयोजक र अध्यक्ष भएर सांस्कृतिक मोर्चामा क्रियाशील हुनु भयो । पार्टी विभाजनको क्रममा उहाँ नेकपा (मशाल) र एकता केन्द्र हुँदै माओवादीसँग आबद्ध हुन पुग्नु भयो । प्रगतिशील लेखक सङ्घ, नेपालका केन्द्रीय पार्षद् सेन जनयुद्धको बेला जनादेश (साप्ताहिक) र जनदिशा (दैनिक) का सम्पादक हुनुभयो । उहाँ नेपाल पत्रकार महासङ्घकोे केन्द्रीय पार्षद र दक्षिण एसियाली पत्रकार सङ्घका सदस्य पनि हुनुभयो । समाचारमूलक पत्रिका मात्र होइन, उहाँले ‘कलम’ साहित्यिक त्रैमासिकको पनि सम्पादन गर्नुभयो । पार्टीमा उहाँ नेकपा (माओवादी) को क्षेत्रीय ब्यूरो सदस्य हुनुहुन्थ्यो । ०४८ सालमा संयुक्त जनमोर्चा नेपालका केन्द्रीय सदस्य समेत रहनु भएको थियो । उहाँ मानवअधिकारवादी संस्था ‘जनअधिकार सरोकार अभियान’का केन्द्रीय सदस्य समेत रहनु भएको थियो ।
इतिहासको यस घडीमा (कविता सङ्ग्रह), शोकान्जली (शोककाव्य) र बन्दी र चन्द्रागिरी (लामो कविता) सेनले बन्दी गृहमै लेख्नु भएको थियो । ०५२ सालमा जनयुद्ध सुरु भएपछि सेनको साङ्गठनिक जीवन अरु कठिन बनेको थियो । भूमिगत सङ्गठनमा आबद्ध भएर खुला काम गर्नु परेको थियो । ०५६ पुष १९ गते ललितपुर जिल्लाको भट्टे डाँडाको प्रहरी चौकीमाथि माओवादी आक्रमण भएको समाचार छापेबापत उहाँले सम्पादन गर्ने साप्ताहिक पत्रिका जनादेशमाथि प्रतिबन्ध लगाइयो र कृष्ण सेनलाई पक्राउ वारेन्टसमेत जारी गरियो । वैशाखमा उहाँ पक्राउ पर्नुभयो । यसै क्रममा उहाँलाई सिराहा र सप्तरीको राजविराज जेलमा पु¥याइयो । जति जेल र यातना खेप्नु परे पनि उहाँले कहिल्यै आफ्नो सङ्गठन र आस्थालाई झुक्न दिनुभएन । बरु मृत्यु उहाँलाई स्वीकार्य भयो तर विचार र आस्थालाई डगमगाउन दिनु भएन ।
मातृभूमि (साप्ताहिक)मा प्रकाशित ‘भोलिप्रति’ कृष्ण सेन ‘इच्छुक’को पहिलो कविता हो । ‘शोकाञ्जली’ (२०४८), ‘इतिहासको यस घडीमा’ (२०५६) र ‘बन्दी र चन्द्रागिरि’ (२०५७) मृत्यु अगाडि प्रकाशित कृतिहरु हुन् । उल्लेखित रचना र यसबाहेक विभिन्न पत्रपत्रिकामा छरिएर रहेका फुटकर कविता र गद्य रचनाहरू इच्छुक रचनावली (भाग १, २, ३) मा सङ्कलित छन् । भाग १ मा ‘बन्दी र चन्द्रागिरि’ र ‘शोकाञ्जली’ छन् भने भाग २ मा ‘इतिहासको यस घडीमा’, ‘बन्दी आवाज’ र ‘आरम्भिक कविता’ अन्तर्गत फुटकर कविता सङ्कलित छन् । भाग ३ मा इच्छुकका गद्य रचनाहरू, चिठीपत्र, अन्तर्वार्ता आदि सङ्कलित छन् ।
कवि, जनसाँस्कृतिककर्मी, जनपक्षीय पत्रकार र जनपक्षीय राजनीतिककर्मीको बहुआयामिक व्यक्तित्व निर्माण गर्नुभएका सेनले देश जनताको मुक्ति र स्वतन्त्रताको लागि ४६ वर्षको उमेरमा आफ्नो जीवनको बलिदान गर्नुप¥यो ।

बलिदानको मूल्यबोध ?
जनयुद्ध चलिरहेकै थियो । वि.सं २०५८ मंसिर ११ गते तत्कालिन सत्ताले देशमा संकटकाल लगाएपछि जनपक्षीय तथा क्रान्तिकारी पत्रकारहरुमाथि कठोर दमनचक्र चलाइयो । जनपक्षीय संचार माध्यमहरु बन्द गराइनुका साथै सयौ पत्रकारहरुलाई गिरफ्तार गर्ने, जेलमा राख्ने, हत्या गर्ने, वेपत्ता पार्ने तथा भूमिगत हुन वाध्य पार्ने जस्ता काम भए । जनपक्षीय तथा क्रान्तिकारी पत्रकारहरु कृष्ण सेन, डि कौडिन्य, कंचन प्रियदर्शी, राजकुमार केसी, हिराबहादुर सारु, चिनबहादुर बुढा, कमल एसी, विनोद सजना, कुमार घिमिरे, नगेन्द्र पोखरेल, पदमराज देवकोटा, महेश्वर पहारी, आनन्दकुमार थापा, भीमवहादुर घर्ति, सुवास मैनाली, मोहन खनाल, चीनवहादुर बुढा, दिवस, आधार, कुशल, अग्नि, विपनासहित २६ जना क्रान्तिकारी पत्रकारहरुको हत्या गरियो । स्तम्भकार दण्डपाणी न्यौपाने, पत्रकार मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, राजेन्द्र ढकाल, मदन ढकाललाई वेपत्ता पारियो र दर्जनौ पत्रकारलाई जेल हालियो ।

जनयुद्धको क्रममा कृष्णसेन लगायत दुई दर्जन बढी जनपक्षीय तथा क्रान्तिकारी पत्रकारहरुलाई राष्ट्रियता, जनतन्त्र, जनजीविकाको पक्षमा कलम चलाएका कारण, समाचार सम्प्रेषण गरेका कारण हत्या गरिएको थियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विचार अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दा उहाँहरुले आफ्नो अमूल्य जीवन बलिदान गर्नुप¥यो । कृष्णसेन इच्छुक लगायत सबै जनपक्षीय तथा क्रान्तिकारी पत्रकारहरुको सपना, लक्ष्य र उद्देश्य एउटै थियो– नेपालमा संसदीय व्यवस्थाको अन्त्य गरी श्रमजीवि, शोषित उत्पीडित वर्ग तथा समुदायको नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने । यही उद्देश्यका लागि दशवर्षको जनयुद्ध सञ्चालन भएको थियो । त्यसैकारण कृष्णसेन इच्छुकले आफ्नो शब्द र कर्मद्वारा आफूलाई त्यही लक्ष्य चुम्ने दिशामा आफ्नो जीवन समर्पित गर्नुभयो । तर बिडम्बना, उहाँको हत्या भएको तीन वर्षपछि शान्तिप्रक्रियाको सुरुवात भयो । नेतृत्वले दिएको धोका र गरेको गद्दारीका कारण जनयुद्धले गम्भिर धक्का खान पुग्यो । फलतः दशवर्षे जनयुद्धका उपलब्धिहरु एकपछि अर्को गरी सबै गुमे । पार्टी पनि टुट फुट विभाजनबाट गुज्रिन पुग्यो । फेरि यो वा त्यो नाममा संसदीय व्यवस्था नै पुनस्र्थापित र सुदृढ हुन पुग्यो । इच्छुक लगायत जनयुद्धका हजारौं महान सहिदहरुका सपना अधुरै रहन पुगे ।

कृष्णसेन इच्छुकका नाममा काठमाडौं लगायत देशका थुप्रै ठाउँमा विभिन्न संघ संस्थाहरुको स्थापना गरिएका छन् । प्रत्येक वर्षको जेठ १३ गते इच्छुक स्मृति दिवस मनाइन्छ । र, इच्छुकको नाममा स्थापित गरिएका पुरस्कार राशीबाट जनपक्षीय तथा जनपक्षीय साहित्य सिजर्नाको क्षेत्रमा गरेको योगदानको आधारमा पुरस्कृत गरिने क्रम पनि चलिरहेको छ । १८ औं इच्छुक स्मृति दिवससम्म आइपुग्दा यसरी पुरस्कृत हुने पत्रकार तथा साहित्यकारहरुको संख्या पनि ठूलै छ । कृष्णसेनका सहकर्मी, उत्तराधिकारी तथा अनुयायी दावी गर्ने पत्रकार तथा साहित्यकारहरुको पंक्ति पनि ठूलै छ । तर उनीहरुको शब्द र कर्मबीचको अन्तरविरोध भने समीक्षा गर्न लायक विषय बनेको छ ।

हिजो जनयुद्धताका संगठित भएका क्रान्तिकारी पत्रकारहरु तत्कालीन पार्टीमा आएको टुटफुट र विभाजनसँगै विभिन्न धारामा विभाजित बन्न पुगेका छन् । कृष्णसेनका अधिकांश सहकर्मीहरु आज त्यही संसदीय राज्यव्यवस्थाको बफादार बन्न पुगेका छन् । तर उनीहरुले प्रत्येक वर्ष कृष्णसेन स्मृति दिवस भने मनाउने गरेका छन् । इच्छुककै नाममा पुरस्कार पनि बाँड्ने गरेका छन् । उनीहरु इच्छुकको योगदानको चर्चामा पनि शब्दहरु खर्चिन्छन् तर उनीहरुको कर्मले भने इच्छुकको सम्मान भन्दा बढी अपमान गरेझै महसुस हुन्छ । आज दिनरात पद र पैसाको पछि दगुर्ने, भोग विलासमा रमाउने, सत्ता र शक्तिको चाकडी गर्ने, सारा जनपक्षीय मूल्यमान्यता र वर्गप्रतिको निष्ठालाई बेचीखाने प्रवृत्ति हावी बन्न पुगेको छ । यो प्रवृत्तिले अहिले इच्छुकको बलिदानलाई समेत बेचिखाइरहेको छ ।

इच्छुकको बलिदानको मूल्यबोध भनेको उहाँले आफ्नो सिंगो जीवन जुन लक्ष्य र उद्देश्यको लागि समर्पित गर्नुभयो, उहाँका जे जस्ता सपना थिए, त्यस दिशातिर हिड्ने संकल्प गर्नु, शब्द र कर्मबाट त्यसको पक्षमा जनमत निर्माण गर्न सकेको योगदान गर्नु हो । अर्थात् इच्छुकलाई मान्ने, सम्झने, सम्मान गर्ने र उहाँको योगदानको कदर गर्ने हर व्यक्तिले सामन्तवाद, दलाल पुँजीवाद तथा साम्राज्यवाद (भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवाद)का विरोधी धारमा आफूलाई उभ्याउने र निरन्तर जनपक्षीय तथा क्रान्तिकारी आन्दोलनको पक्षपोषण गर्नु हो । आफूमा क्रान्तिकारी रुपान्तरण ल्याउनु हो ।

इच्छुकबाट बाँचेको पुस्ताले सिक्ने कुरा

१– शब्द र कर्मबीचको मेल
सामाजिक तथा राजनीतिक जीवनका हरेक क्षेत्रमा आज पाइलै पाइलामा द्वैध चरित्र प्रदर्शन गर्ने धेरै मानिसहरु भेटिन्छन् । भन्ने एउटा गर्ने अर्कै । बाहिर एउटा भित्र अर्कै । अर्थात् शब्द र कर्मबीच ठूलो खाडल पाइन्छ । पाखण्डपूर्ण र खोक्रो आडम्बरपूर्ण जीवन रुचाउनेहरुको कमि छैन । इच्छुकले कहिल्यै जीवनमा द्वैध चरित्र प्रदर्शन गर्नु भएन । उहाँले जे भन्नुभयो, त्यही गर्नुभयो । आफ्ना साहित्य सिर्जनामा जे जस्ता विचारहरु व्यक्त गर्नुभयो, आफ्नो जीवनमा त्यसलाई सर्लक्कै उतार्नु भयो । शब्द र कर्मबीचको अनुकरणीय मेल कृष्णसेनबाट बाँचेको पुस्ताले सिक्नुपर्ने महत्वपूर्ण शिक्षा हो ।
२– विचार, लक्ष्य र उद्दश्यप्रति अविचल निष्ठावान
नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादी क्रान्ति हुँदै साम्यवादको उदात्त लक्ष्य हासिल गर्ने कृष्णसेन इच्छुकको लक्ष्य र उद्देश्य थियो । सो लक्ष्य अनुसार आफ्नो जीवनको हरेक समयलाई सही सदुपयोग गर्नु, जस्तोसुकै कठोर र कष्टपूर्ण जीवनलाई पनि सहज रुपमा लिनु, बरु हरेक यातनाका दस्ताबेजहरुमा हस्ताक्षर गर्नु तर विचार र आस्थाबाट रतिभर पनि नडगमगाउनु । श्रमजीवि, शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिको निम्ति अमूल्य जीवनको बलिदानलाई पनि हाँसी हाँसी स्वीकार्नु तर लक्ष्य र उद्देश्यबाट विचलित नहुनु, धोका र गद्दारी नगर्नु ।
३– कलमका एक निडर र निर्भिक सिपाही
इच्छुक कलमका एक निडर र निर्भिक सिपाही हुनुहुन्थ्यो । माक्र्सवाद–लनिनवाद–माओवादको वैचारिक आलोकमा उहाँले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा आफूलाई सँधै खह«ो रुपमा प्रस्तुत गर्नुभयो । पत्रकार, कवि तथा साहित्यकारको रुपमा उहाँले आफूलाई सर्वहारा मुक्ति आन्दोलनको एक सशक्त सिपाहीको रुपमा उभ्याउनु भयो । वर्गदुश्मनप्रति आक्रामक र वर्गप्रति निष्ठावान र इमान्दार नै उहाँको पहिचान बन्यो । विचार र आस्थासँग उहाँले कहिल्यै कसैसँग सम्झौता गर्नुभएन । पत्रकारिता र साहित्य सिर्जनाको माध्यमबाट उहाँले निरन्तर रुपमा क्रान्तिकारी आन्दोलनको पक्षमा जनमत निर्माण गरिरहनु भयो । साहित्य, सिर्जना र पत्रकारितालाई पनि उहाँले युद्धको फरक मोर्चाको रुपमा स्थापित गर्नुभयो ।
४– जीवनप्रतिको मूल्यबोध
सेनले निजी जीवनको अधिकांश समय पार्टी र क्रान्ति, वर्ग मुक्ति आन्दोलनमा खर्चिनु भयो । विचार, वर्ग र आदर्शका निम्ति त्याग, तपस्या र बलिदान सेनको जीवनप्रतिको मूल्यबोध हो । निजी जीवनको भोग, विलास, ऐस आरामतिर उहाँले कहिल्यै सोच्नुभएन । सामन्ती तथा पुँजीवादी चिन्तन, सोच, प्रवृत्तिको सँधै विरोध गर्नुभयो । सँधै भुइँ मान्छेहरुको हक, हित, अधिकारको पक्षमा निरन्तर कलम चलाइरहनु भयो । उहाँले सचेत रुपमा मुक्ति या मृत्युको कसम खाएर क्रान्तिकारी आन्दोलनमा आफूलाई समर्पित गर्नुभयो । उहाँले मृत्युलाई सहजै जित्नु भयो । उहाँको भागमा मृत्यु परे पनि हरेक मुक्ति आन्दोलनमा कृष्णसेन इच्छुक जिउँदो, जाग्दो र भरभराउँदो बनेर हजारौं मुक्ति योद्धाहरुलाई युगौंसम्म उर्जा र उत्प्रेरणा बनिरहनु हुनेछ । भौतिक शरीरको हत्या गरिए पनि उहाँको विचारले शक्तिशाली रुपमा जनपक्षीय आवाजहरु बुलन्द गरिरहने छ । यो यथार्थ बुझेर नै उहाँले भौतिक जीवनलाई मात्रै जीवन ठान्नु भएन । देश र जनता, सर्वहारा, श्रमजीवी जनताको मुक्ति अभियानमा भौतिक जीवनलाई समर्पित गर्दा प्राप्त हुने जीवनलाई नै उहाँले खास र वास्तविक जीवनको रुपमा बुझ्नु भयो । त्यही जीवनलाई अँगाल्नु भयो । जीवनप्रतिको यही मूल्यबोधले उहाँलाई महान र कालजयी बनाएको छ । हरेक क्रान्तिकारीहरुका लागि जीवनप्रतिको यो मूल्यबोध अनुकरणीय छ ।

र, अन्त्यमा

सहिदहरुलाई बर्षमा एक पटक सम्झिने अनि बर्षभरि बिर्सने, विभिन्न कर्मकाण्डमा सीमित राख्ने भन्दा पनि सहिदहरुका भौतिक जीवन कालमा शब्द र कर्ममा अभिव्यक्त क्रान्तिकारी स्प्रिटलाई समात्नु हो अर्थात् आफूलाई क्रान्तिकारी रुपान्तरण गर्नु हो । क्रान्तिकारी आन्दोलनको पक्षमा शब्द र कर्मबाट जनमत निर्माण गर्न योगदान गर्ने, प्रतिक्रियावादी, संशोधनवादी तथा अवसरवादीहरुले छरेका भ्रम र क्रान्तिकारीहरुका विरुद्ध गरेका षड्यन्त्रहरुको पर्दाफास गर्ने र श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायको मुक्ति अभियानलाई प्रबल बनाउन निरन्तर लागिपर्नु हो । इच्छुक स्मृति दिवस मनाउनु, इच्छुकको नाममा स्थापित पुरस्कारबाट पुरस्कृत हुनु वा इच्छुकलाई सम्झनुको अर्थ पनि यही हो । यसैमा सार्थकता र औचित्यता सावित हुन्छ । अन्यथा भए गरिए त्यो सर्वथा इच्छुक लगायत सम्पूर्ण सहिद तथा बलिदानमाथिको अपमान हुन जानेछ ।
आउनुहोस्, इच्छुकको १८ औं स्मृति दिवसको अवसरमा इच्छुकको शब्द र कर्मलाई ठीक ढंगले बुझौं र आत्मसात गर्ने कोशिस गरौं । राष्ट्रियता, जनतन्त्र र जनजीविकाप्रतिका आफ्ना जिम्मेवारीहरु पूरा गर्ने संकल्प गरौं । श्रमजीवि, शोषित उत्पीडित वर्ग र समुुदायको मुक्ति आन्दोलन र अभियानलाई सशक्त बनाउने आ–आफ्नो ठाउँबाट प्रतिबद्धता जाहेर गरौं । जनपक्षीय तथा क्रान्तिकारी पत्रकारिताको धारलाई सशक्त रुपमा स्थापित र संगठित गरौं । महामारी विरुद्धको लडाइँसँगै राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित लडाइँ पनि जित्ने परिस्थितिको विकास गरौं ! महान सहिद इच्छुक लगायत सम्पूर्ण सहिदहरुमा हार्दिक श्रद्धाञ्जली ! पत्रकार तथा स्तम्भकार दण्डपाणी न्यौपाने लगायत सबै बेपत्ता योद्धाहरुमा उच्च सम्मान !

प्रतिक्रिया

सम्बन्धित खवर