काठमाडौं । शनिबारै थप पाँच जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै देशभर कोरोना संक्रमितको संख्या दुई सय  ७८ पुगेको छ । जसमा ३६ जना निको भएर घर फर्किएका छन् । 

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा विकास देवकोटाले महोत्तरी ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जानकारी गराए । संक्रमितमध्ये पुरुष २२४ जना रहेका छन् भने ५४ जना महिलाहरु रहेका छन् । 

हार्दिक शुभकामना !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५ वर्षीय, ३४ वर्षीय र ४४ वर्षीय पुरुषहरूमा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या ४२ पुगेको छ ।

नयाँ संक्रमित तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

नयाँ संक्रमित तीनैजनाको स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गर्दा संक्रमण भएको पाइएको मन्त्रालयले जनाएको छ ।

यसअघि शनिबार बिहानै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा थप संक्रमित फेला परेका दिए ।

नयाँ संक्रमितमा बर्दियाको नार्खु– ११ निवासी २८ वर्षीया महिला, सिराहाको सखुवा १९ का ३० वर्षीय पुरुष, पर्साको वीरगन्ज– १२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर– ४ की १८ वर्षीया युवती र चितवनको राप्ती नगरपालिका– १ की २५ वर्षीया महिला छन् । शनिबार बिहान संक्रमण पुष्टि भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसैबीच, त्रियुगा नगरपालिका–३ भुल्के बाहिर गाईघाट बजारमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । गाईघाट बजार नजिकै बस्दै आएका २५ वर्षीय युवकमा शुक्रबार कोरोना पोजिटिभ पुष्टि भएको हो । उनी पेसाले पत्रकार हुन् ।

एक जना पत्रकारसहित उदयपुरमा कोरोना संक्रमितको सख्या ३३ पुगेको छ । त्यसमध्ये १५ जना उपचारपछि डिस्र्चाज भइसकेका छन् । पहिलो पटक वैशाख ५ गते भुल्केको नूरी मस्जिदमा बस्दै आएका १२ जना जमातीमा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि क्रमशस् थपिँदै अहिलेसम्म ३३ पुगेको हो ।

उदयपुरकै ताप्ली गाँउपालिका–५ स्थायी घर भएका संक्रमित पत्रकार गाईघाट बजारमै बसेर पत्रकारिता गर्दै आएका थिए । उनी लकडाउन सुरु हुनुभन्दा धेरै अगाडिदेखि नै गाईघाटमै रहेको पत्रकार महासंघले जनाएको छ ।

भुल्के क्षेत्रमा रिपोर्टिङ गर्ने २६ पत्रकारको वैशाख ३१ गते पसीआर परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयले थ्रोट स्वाबको नमुना संकलन गरेको थियो । शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित प्रयोगशालाले दिएको रिपोर्टमा एक जनामा मात्रै कोरोना पोजिटिभ देखिएको थियो । संक्रमित पत्रकारलाई शनिबार उपचारका लागि विराटनगरस्थित कोसी अस्पतालमा पठाइएको छ ।

यसअघि विरगंज, जनकपुरमा पनि पत्रकारहरुमा संक्रमण देखिएको थियो । पछिल्लो पटक संक्रमित हुनेहरुका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरु देखिएका छन् । यसबाट प्रष्ट हुन्छ कि महामारीका विरुद्धको यो लडाइँमा फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुमा कोरोना संक्रमणको उच्च जोखिम रहेको छ । फ्रन्ट लाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतको स्वास्थ्य सुरक्षामा सरकार विशेष ध्यान दिनुपर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर