लक डाउनकै बीचमा क्रान्तिकारी ट्रेड युनियन महासंघले देशव्यापी रुपमा मनायाे १३१ औं अन्तर्राष्ट्रिय मजदुर दिवस (फाेटाेफिचर)

लक डाउनकै बीचमा क्रान्तिकारी ट्रेड युनियन महासंघले देशव्यापी रुपमा मनायाे १३१ औं अन्तर्राष्ट्रिय मजदुर दिवस (फाेटाेफिचर)


काठमाडौं ।    नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले १३१ औं अन्तर्राष्ट्रिय मजदुर दिवस देशव्यापी रुपमा मनाएकाे छ । काेराेना भाइरसकाे महामारीका कारणा जारी लक डाउनकै बीच महासंघले देशव्यापी रुपमा मजदुर दिवस मनाएकाे हो ।


प्राप्त समाचार अनुसार काठमाडौको जोरपाटीमा महासंघको केन्द्रीय समितिको आयोजनामा मजदुर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पार्टी पिबिएम तथा ३ नम्बर प्रदेश सेक्रेटरी प्रवेश प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मजदुर महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा महासंघका नेताहरु ढोग प्रसाद अधिकारी, उमेश लामा र राजु लामाको समेत उपस्तिथि थियो । कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अनौपचारिक श्रम बजारमा काम गर्ने नेपाली मजदुरहरुको अवस्था गम्भीर बन्दै गएकोले राज्यले मजदुर लक्षित राहतको कार्यक्रम घोषणा गर्न विलम्ब भएको बताउदै औपचारिक क्षेत्रमा काम गर्ने मजदुरको रोजगार तथा तलब कटौतीका सन्दर्भमा सरकार पक्ष गम्भीर बन्न नसकेको टिप्पणी गर्नु भयो । उहाँले भन्नुभयो ” यो सरकारको हदै सम्मको लाचारी र मजदुर वर्ग माथिको अन्याय हो, अब यसको विकल्प खोज्नु पर्छ ।”


यसै गरि महासंघको आयोजनामा सिन्धुलीको भिमानमा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महासंघका महासचिव वसन्त बोगटी प्रमुख अतिथि रहेको कार्यक्रममा प्रवासी मजदुर नेता घनश्याम पहाडी, पार्टीका ३ नम्बर प्रदेश सदस्य सुनिता बुढाथोकी, RYLका ३ नम्बर प्रदेश कमिटी सदस्य सुरेश खत्री, विद्यार्थी नेता नरेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा महासचिव बोगटीले नेपाल भित्र र वैदेशिक रोजगारीको शिलशिलामा भारत, मलेसिया, मध्यपुर्व लगायत संसार भरी करिब ६० लाखको संख्यामा रहेका नेपाली श्रमिक दाजुभाइ दिदिबहिनीले हाल भोग्नु परेको संकटमा सहयोग गर्ने गरि सरकारले आफ्नो न्युनतम उपस्थिति पनि देखाउन नसकेको बताउदै अब मजदुर वर्गले यो संकट भित्रैबाट नयाँ सम्भावना र विकल्पको खोजी गर्नु पर्ने टिप्पणी गर्नु भयो ।


यसैगरी काठमाडौको शान्तिनगरमा यातायात मजदुरहरुको अन्तरक्रिया सम्पन्न भएको छ । महासंघका केन्द्रीय सचिवालय सदस्य कुमार घतानेको संयोजनमा उक्त कार्यक्रम भएको थियो । ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि मजदुरहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ जसलाई महासंघका केन्द्रीय सदस्य दिनेश थापाले संयोजन गर्नु भएको थियो । उता जनकपुर बसपार्कमा महासंघका केन्द्रीय सदस्य नन्दु झाको संयोजकत्वमा यातायात मजदुरहरुको अन्तरक्रिया सम्पन्न भएको छ भने ५ नम्बर प्रदेशको देवदह नगरपालिका-७ मा पनि भव्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महासंघका केन्द्रिय सदस्यद्वय भिमलाल काफ्ले र राजु भुजेलले संयोजन गरेको कार्यक्रममा उल्लेख्य मजदुरहरुको उपस्थिति रहेको बुटवलबाट भिमलाल काफ्लेले जानकारी गराउनु भएको छ ।