कावासोतीमा नौ दलको विरोधसभा

प्रकाशित मिति : २०७६ फाल्गुन ४

- नारायण पंगेनी

राष्ट्रियताको लागि देशभर आन्दोलन थालेको विभिन्न साना नौ दलले शनिवार पूर्वी नवलपरासीको कावासोतीमा विरोधसभा गरेको छ । ठूलो परिमाणको रकम सहयोग गर्ने गरी अमेरिकाबाट हुन लागेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना खारेज गर्नुपर्ने माग गर्दै ती दलहरुले विरोध गरेका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माले), गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, जनसमाजवादी पार्टी लगायत नौ दलले कावासोतीमा संयुक्त रुपमा विरोधसभाको आयोजना गरेका थिए ।

विरोधसभाका सम्बोधन गर्दै उनीहरुले एमसीसी एशिया प्यासिफिक रणनीति अन्तर्गतकै एक अभिन्न अंग भएको दाबी गरे । विकासका नाममा एमसीसी परियोजना ल्याएर नेपालमा अमेरिकी सेना भित्र्याउने चलखेल रहेको दाबी गरे । विरोधसभामा बोल्ने वक्ताहरुले राष्ट्रियताको रक्षाका लागि सबै राष्ट्रवादी शक्तिहरु एक हुनुपर्नेमा पनि जोड दिए ।

लिम्पियाधुरदेखि कालापानी हुँदै लिपुलेकसम्मको नेपाली भूमिलाई भारतले आफ्नो देशमा गाभेर नक्सा सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध भएको छ ।

कावासोतीको फलफूल चोकमा आयोजना भएको विरोधसभामा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी उत्तम थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गीरबहादुर महतरा, नेकपा मालेका जिल्ला अध्यक्ष लोकप्रसाद काफ्ले, पूर्व जनमोर्चा नेपालका जिल्ला अध्यक्ष जुद्धप्रसाद सिग्देल, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष पिताम्बर तिवारी लगायतले सम्बोधन गरेका थिए ।

शनिवार नै प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यवस्थापिका संसदमा विशेष सम्बोधन गर्दै अतिक्रमित भूमि कुनै पनि हालतमा फिर्ता लिने प्रतिबद्धता जनाएका थिए भने एमसीसी संसदमा पेश हुने वित्तिकै पास हुने दाबी गरेका थिए ।