जनयुद्धकै जगमा टेकेर क्रान्तिको अर्को अभियानलाई अगाडि बढाउँछौं : माहेन वैद्य किरण

‘जुन नेताहरु घमण्ड गरेर क्रान्तिकारी पार्टी एकताका विरुद्धमा जान्छन्, उनीहरुलाई परिस्थितिले ठिक गर्छ । संघर्ष र आन्दोलनका बीचबाट क्रान्तिकारीहरुलाई गोलबन्द गरेरै छाड्छौं ।’

प्रकाशित मिति : २०७६ फाल्गुन १
माेहन वैद्य ‘किरण’

आजभन्दा २४ वर्ष अगाडि सुरु भई दशवर्षसम्म सञ्चालित जनयुद्धलाई नेकपा (क्रान्तिकारी माओवादी)को महासचिवको हैसियतले कसरी स्मरण, मूल्याङ्कन तथा समीक्षा गर्नुहुन्छ ?
जनयुद्धको संस्मरण गर्दा यसका दुईवटा पाटा रहेका छन् ः सकारात्मक र नकारात्मक । सकारात्मक पाटोको चर्चा गर्दा दशवर्षसम्म जनयुद्ध गरियो । दशवर्षका बीचमा पुरानो राज्यसत्ताका विरुद्ध लड्ने जनमुक्ति सेनाको डिभिजन स्तरसम्मका संरचनाहरु बने । देशका विभिन्न भागहरुमा आधारइलाकाहरुको निर्माण भयो । जनसरकारहरु बने । पार्टी संगठनको व्यापक स्तरमा विस्तार भयो । यसले देशभित्र र देशबाहिर पनि सगरमाथाको देशबाट क्रान्तिको राम्रो सन्देश प्रवाहित ग¥यो । नेपाली जनता अब क्रान्ति पूरा हुन्छ, जनताका समस्याहरु समाधान हुन्छन्, र नेपालमा अब नयाँ जनवादी राज्यव्यवस्थाको स्थापना हुन्छ अनि समाजवादमा जान सकिन्छ भन्ने जनताले क्रान्तिकारी आशावादका साथ अपेक्षा पनि गरे । यो जनयुद्धको सकारात्मक पाटो हो । महान जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा जनयुद्धको एउटा नेतृत्वले ठूलो बद्मासी ग¥यो । उसले गम्भीर प्रकारको धोका दियो । र, जनयुद्धप्रति गद्दारी ग¥यो । हामीले पुरानो राज्यसत्तालाई फालेर नेपालमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्नुपर्छ, हतियार उठाएपछि हतियार बिसाइदैन, त्यसो गर्दा अपराध हुन्छ भनेर जुन प्रतिबद्धता जाहेर गरिएको थियो, त्यो प्रतिबद्धताका विरुद्ध जसका विरुद्ध लडिएको थियो, त्यसैसँग साँठगाँठ गरेर, पुरानै राज्यव्यवस्था स्वीकार गरेर नेतृत्वले जुन गम्भिर धोका दियो, त्यो नकारात्मक खालको संस्मरण हो । हामीले जनयुद्धका सकारात्मक पक्षलाई ध्यान दिंदै दशवर्षको जनयुद्धको प्रक्रियामा सहिदहरुले खेलेको भूमिका, वेपत्ता योद्धाहरुको त्याग, जनमुक्ति सेनाका योद्धाहरु र जनताको त्याग र बलिदानका कीर्तिमानहरुको मूल्यबोधको जगमा खडा भएर इतिहासका नकारात्मक पाटो र सकारात्मक पाटोबाट पनि शिक्षा लिदै फेरि क्रान्तिको दिशामा नयाँ ढंगले जानु पर्दछ । जनयुद्धको संस्मरण, समीक्षा र मूल्यांकन यही होे ।

जनयुद्धको सकारात्मक र नकारात्मक पाटोबाट शिक्षा लिंदै नयाँ ढंगले क्रान्तिको प्रक्रिया अगाडि बढाउने कुरा गर्नुभयो । नयाँ ढंगले भनेको कस्तो हो अलि प्रष्ट पारिदिनुस् न ।
नयाँ ढंग भन्नाले जनयुद्ध गर्दाताका र अहिलेको अवस्थामा केही परिवर्तनहरु भएका छन् । राज्यसत्ताका हिसाबले त खासै परिवर्तन भएको छैन । विज्ञान, प्रविधिमा, सूचना सञ्चारको क्षेत्रमा परिवर्तनहरु भएका छन् । यो स्थितिमा कसरी अगाडि बढ्ने त भन्ने विषयमा सोच्दा नेपाली विशिष्टतामाथि ध्यान दिंदै त्यही अनुसार संघर्षको कार्यदिशालाई विकास गर्दै अगाडि बढ्नुपर्छ भन्ने हो । जस्तो अब फेरि जनयुद्धजस्तो ठ्याक्कै हुँदैन तर जनयुद्ध नहोला भन्न त सकिदैन । आवश्यकता परे जनयुद्ध पनि हुन सक्छ । तर विगतमा लडेजस्तै तरिकाले हुँदैन । नेपाली विशिष्टतामा आधारित भएर सशस्त्र विद्रोह गर्नुपर्छ र त्यसको तयारी गर्नुपर्छ । जनयुद्ध, जनआन्दोलन, जनसंघर्ष बीचमा तालमेल मिलाउँदै फेरि अर्को संघर्षको तयारी गर्नुपर्छ भन्ने नै हो ।

भनेको जनयुद्धको जगमा सशस्त्र जनविद्रोह भन्ने नै हो ?
जगमा त उभिनै पर्छ । जनयुद्धको, जनआन्दोलनका जग पनि हुन्छन् । यी अनुभवहरु नभई हुँदैन । पोखराको राष्ट्रिय सम्मेलनबाट हामीले नेपाली विशिष्टतामा आधारित रहेर नेपालमा सशस्त्र जनविद्रोहको प्रक्रियालाई अगाडि बढाउनु पर्छ भनेर सातौ अधिवेशनको भन्दा यो अलि फरक कार्यदिशा विकसित गरेका छौं ।

राजतन्त्र समाप्त भई मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै जनयुद्धको मूल उपलब्धिको रुपमा व्याख्या गर्दै यसैलाई आधार मान्दै फरक रुपमा नयाँ जनवादी क्रान्तिको प्रक्रिया पुरा भएको भनेर अलि बढी प्रचार गरिएको छ । यस विषयलाई कसरी लिनु भएको छ ?
–पहिलो कुरा त हिजो बैधानिक राजतन्त्र थियो, अहिले गणतन्त्र भा छ । जस्तोसुकै भए पनि संघीयता भन्ने छ । धर्मनिरपेक्षता छ । समावेशी समानुपातिक प्रतिनिधित्वका कुरा पनि छन् । थोरै फरक त हो । यो मात्रात्मक फरक मात्रै हो । गुणात्मक फरक भन्ने कुरा केही पनि छैन । जस्तो राज्यसत्ता हिजो पनि नोकरशाही दलाल पुँजीवाद, सामन्तवादको हातमा थियो, हिजो पनि संसदीय व्यवस्था नै थियो, हिजो पनि हामीले देशीय प्रतिक्रियावादका साथसाथै वैदेशिक प्रतिक्रियावादका विरुद्ध संघर्ष गर्ने भनेका थियौं, भारतीय विस्तारवादसँगका थुप्रै असमान सन्धिसम्झौताहरुको खारेजीको कुरा गरेका थियौं, देश नवऔपनिवेशिक दिशामा गइरहको विश्लेषण गर्दै आइरहेका थियौं आदि यी सबै अवस्थाहरु अहिले पनि यथावतै रहेका छन् । लडियो लडियो, संसदीय व्यवस्थाको ठाउँमा संसदीय व्यवस्था ! अनि के क्रान्ति भयो त ! सबै संरचना उही पुरानै छ । क्रान्ति भनेको त संरचनामा आमूल परिवर्तन हो । आमूल परिवर्तन नहुने हो भने त क्रान्ति भएको मानिन्न नि त । पुरानै सत्तालाई युद्ध आन्दोलनका एकथरी सारथीहरुले, ऐतिहासिक झापा विद्रोह गर्नेहरुले, दशवर्षको जनयुद्धमा संलग्न हुने नेतृत्वको एउटा पंक्तिले यही हो उपलब्धि भनेर भनिराखेका छन् । जसका विरुद्ध लडेका थियौं, त्यसैसँग आत्मसमर्पण गर्ने अनि त्यसैलाई क्रान्ति भन्ने ? उहाँहरुले थुप्रै कुरा गर्नुहुन्छ परिवर्तन भयो भनेर । तर मूलभूत रुपमा गुणात्मक परिवर्तन केही पनि भएको छैन ।

यसै विषयलाई लिएर त्यो पंक्तिले क्रान्ति सम्भव छैन, हुँदा पनि हुँदैन, आवश्यक पनि छैन भनेर अलि बढी प्रचार गरिरहेको छ नि ?
क्रान्ति गर्न पर्दैन भन्दा त समस्या समाधान हुनुप¥यो नि त । राष्ट्रियताको समस्या पहिलेको भन्दा अझ थपिएको छ । जनतन्त्रका समस्या र जनजीविकाका समस्या पनि विकराल अवस्थामा छन् । हामीले राष्ट्रिय स्वाधीनताको विषयलाई लिएर लड्दै आएका थियौं । अहिले भारतले त लिम्पियाधुरा, कालापानी, लिपुलेकसम्मको भूभागलाई घोषित रुपमा आफ्नो नक्साभित्र गाभिसक्यो । कालापानीमा त ब्यारेक नै राखिराखेको छ । ७१ भन्दा बढी ठाउँमा सीमा अतिक्रमण भइराखेको छ । पुराना असमान सन्धि सम्झौताहरु कायमै छन् । राष्ट्रियताका यी समस्या त गम्भिर छँदैछन् । त्यसमाथि अमेरिकाको एमसीसीले झन संकट थपेको छ । हिन्द प्रसान्त रणनीतिको कुरा आइराखेको छ । नेपाललाई एउटा सैन्य गठबन्धनमा सामेल गराउने कुराहरु आइरहेको छ । सरकारले ती सबै कुराहरुलाई अनुमोदन गराएर अमेरिकी साम्राज्यवादसँग साँठगाँठ गर्न खोजिरहेको छ । यसबाट नेपालमा राष्ट्रियताको समस्या त झन जटिल बन्दै गइरहेको देखिन्छ ।

जनतन्त्रका कुरा गर्ने हो भने संसदीय व्यवस्थाको जनतन्त्र कस्तो हो भने कुरा गर्नलाई त छ अलि अलि । स्वतन्त्रता, समानता, भातृत्वको करा गर्छन् । जब साँच्चै जनतालाई अधिकार दिने कुरा आउँछ, त्यो त दिइदैन । पहिचानसहितको संघीयताको कुरा थियो, नाम राखिएको छ पञ्चायतीकालका अञ्चलकै नाम जस्तै । बाग्मती, गण्डकी । खै त पहिचान कहाँ गए ? पहिचानसहितको संघीयता त सबै गुमिहाल्यो । पार्टीहरुका कुरा गर्ने हो भने एकदम लोकतन्त्रको वकालत गर्छन्, विप्लव जीको पार्टीलाई प्रतिबन्ध लगाउँछन् । त्यो पार्टीलाई किन प्रतिबन्ध लगाउनु प¥यो । यत्रो रगत पसिना बगाएर ल्याएको भन्ने अनि पार्टीमाथि प्रतिबन्ध लगाउने ? अनि कहाँबाट लोकतन्त्र भयो ? एकदम गरिबको पक्षमा सरकार भन्ने आर्थिक समानता खोइ त ? धनी र गरिब बीचमा यत्रो खाडल छ । त्यही हो लोकतन्त्र ? यसरी हेर्दा जनतन्त्रका समस्या पनि गम्भिर छन् ।

जनजीविकाका समस्याहरु त अझ विकराल छन् । भ्रष्टाचारको कुनै सीमा छैन । यति समूह, ललिता निवास, बालुवाटार, वाइडबडी, न्यारोबडी प्रकरणहरु सार्वजनिक भइरहेका छन् । भ्रष्टाचार काण्डका नयाँ नयाँ घटनाहरु सार्वजनिक भइरहेका छन् । यी सबै घटनाप्रक्रियाहरुलाई हेर्दा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु झन विकराल बन्दै गइरहेका छन् । क्रान्ति पुरा भयो अब गर्नु पर्दैन भन्ने कुरा त सरकारमा बसेकाहरुले भन्ने कुरा मात्रै हो । उनीहरुलाई क्रान्ति आवश्यक छैन । उनीहरुलाई त भयो त । त्यो पनि आत्मसमर्पण गरेर भयो । घर खनेर आँगन पुर्नेलाई के भन्ने ? अहिले दुई तिहाईको सरकार भन्ने अलिकति दम्भ छ उनीहरुलाई । फेरि चुनाव त होला नि त । यो दम्भ त्यही चुनावमा सिद्दिन्छ । त्यसबेला उनीहरुलाई थाहा हुन्छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई अब नयाँ जनवादी क्रान्तिसँग जोडेर लैजान आवश्यक छ । समाजवादी क्रान्ति पनि यिनै समस्यासँग जोडिएका छन् । क्रान्ति हुन्छ । त्यो आवश्यक छ र सम्भव पनि छ ।

अहिले क्रान्तिकारी माओवादीले एकल रुपमा र नौं दलीय कार्यगत एकतामार्फत् संयुक्त आन्दोलन पनि अगाडि बढाइरहेको छ । तर ती आन्दोलनमा अपेक्षित जनताको सहभागिता किन भइरहेको छैन ?
अहिले अपेक्षित रुपमा जनताको सहभागिता कम छ । विस्तारै बढ्दै जान्छ । हाम्रा अभियान, कार्यक्रमहरुमा जनताको सहभागिता विस्तारै बढ्दै गइरहेको छ । अपेक्षा गरे अनुसारको सहभागिता अहिले तुरुन्तै भइहाल्छ भन्ने पनि छैन । आन्दोलनको प्रक्रिया अगाडि बढाउँदै जाँदा र जनताले वास्तविक कुरा बुझेपछि जनताको व्यापक सहभागिता हुन्छ । यो त हाम्रो रिहर्सल मात्र हो । यो त समान्य आन्दोलन मात्र हो । यसलाई सबै हिसाबले अगाडि बढाउँदै लैजान्छौं । क्रान्ति, रुपान्तरण, परिवर्तन पार्टीले चाहेर मात्र हुँदैन । जनताले चाहनु पर्छ । रहरले हुने कुरा होइन । क्रान्ति त आवश्यकता र बाध्यताको बीचबाट हुने कुरा हो ।

वैदेशिक हस्तक्षेप विरुद्धको प्रतिरोध संघर्ष उठान गर्ने क्रममा एकल र संयुक्त रुपमा भइरहेका प्रयासहरुका बारेमा केही बताइदिनुस् न ।
एकल रुपमा चैत्र २४ सम्म अहिले हाम्रो पार्टी देशव्यापी अभियानमा छ । राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तारलाई एकसाथ जोडेर अहिले अभियान चलाइरहेका छौं । चैत्र २४ पछि ‘लिम्पियाधुरा जाऔं’ भन्ने अर्को अभियान चलाउने पनि तयारी गरिरहेका छौं ।
संयुक्त आन्दोलन पनि सँगसँगै अगाडि बढाइरहेका छौं । अहिले हामीले नौं दलबाट सुरु गरेका छौं । यसमा बुद्धिजीवि तथा नागरिक समाजको तहबाट जारी राखिएका आन्दोलनहरुलाई पनि जोड्ने प्रयास गरिराखेका छौं । उहाँहरुसँग पनि हाम्रो कुरा भइरहेको छ । खुशीको कुरा के पनि छ भने सरकारमै रहेका पार्टीका केही नेताहरु पनि हामीले राखेका कार्यक्रमहरुमा सहभागि हुनुभएको छ । राष्ट्रिय स्वाधीनताको पक्षमा देखिएको यो घटनाक्रम भनेको राष्ट्रिय प्रतिरोध आन्दोलन विकसित, विस्तारित र सुदृढ हुँदै जान्छ भन्ने लक्षण हो ।

यो परिस्थितिमा नयाँ जनवादी क्रान्तिका पक्षधर विभिन्न कम्युनिस्ट घटकहरुलाई एकताबद्ध तुल्याउने दिशामा पनि क्रान्तिकारी माओवादीले पहल गरिरहेको छ । त्यसको सम्भावना चाहिं कस्तो छ ?
–तुरुन्तैको सम्भावना नदेखिएपनि विभिन्न समुहमा छरिएर रहेका क्रान्तिकारीहरुलाई गोलबन्द गरेर जानुपर्छ भन्नेमा हामी स्पष्ट र दृढ छौं । पहल पनि गरिरहेका छौं । जुन नेताहरु घमण्ड गरेर क्रान्तिकारी पार्टी एकताका विरुद्धमा जान्छन्, उनीहरुलाई परिस्थितिले ठिक गर्छ । संघर्ष र आन्दोलनका बीचबाट क्रान्तिकारीहरुलाई गोलबन्द गरेरै छाड्छौं । क्रान्तिका निम्ति क्रान्तिकारीहरुलाई गोलबन्द गर्न जरुरी छ ।

विप्लव नेकपाले गरिरहेको गतिविधिलाई चाहिं यहाँले कसरी हेर्नुभएको छ ?
विप्लव जीले त्यस्तो ठूलै केही गर्न खोजेको भन्ने होइन । उहाँहरु दलाललाई हान्ने भन्नुहुन्छ, केही केही ठाउँमा त हान्नुभएको पनि हो । त्यही मात्रले हुनेवाला त छैन । त्यसकारण त्यसलाई त्यतिका ठूलो बनाएर पेश गर्नुपनि उपयुक्त हुँदैन । अर्कोकुरा विप्लवप्रतिको सरकारी व्यवहार पनि राम्रो छैन । पार्टीलाई प्रतिबन्ध लगाएर नेता कार्यकर्ताहरुलाई धमाधम जेलमा हालिरहेको छ । यसको हामीले जोडदार रुपमा विरोध गर्दै आएका छौं । हामीले विप्लव जीलाई भन्दै आएका छौं– तपाईहरु मिहिनेत गर्नुस्, पार्टी एकता गरौं, कार्यदिशाको विषयमा छलफल बहस गरौं । त्यो तरिकाले हुँदैन । तरिका उहाँहरुको बिग्रिएको छ । सरकारले पनि त्यो तरिकाले दमन गर्नु हुँदैन । सरकारले आफ्नो तानाशाहीपन देखाइरहेको छ । उहाँहरुले पनि कसरी लैजाने भन्ने विषयमा त्यतिका सोचेर बुझेर कार्यक्रम बनाइरहनु भएको छैन । नयाँ ढंगले सोच्नु प¥यो भन्ने हाम्रो विप्लव जीलाई सुझाव छ ।

अन्तमा, जनयुद्धका सहिद तथा वेपत्ता परिवार, घाइते अपाङ्ग, कार्यकर्ता पंक्ति लगायत आमूल परिवर्तनका पक्षधर जनसमुदायलाई जनयुद्ध २५ औं वर्ष प्रवेशको अवसरमा के सन्देश दिन चाहनुहुन्छ ?
हामीले समाजको आमूल परिवर्तन गरेर नयाँ जनवादी राज्यसत्ता स्थापना निर्माण गर्ने भनेर जनयुद्ध गरेका थियौं, त्यो लक्ष्य त पुरा हुन सकेन । तर जनताले, सहिद, वेपत्ता, घाइते अपाङ्ग योद्धा, जनमुक्ति सेनाका योद्धाहरुले त्याग, तपस्या, बलिदानको जुन कीर्तिमान कायम गरे, त्यो रगत खेर जाँदैन । अहिले उहाँहरुले दुःख पाए पनि हामी त्यही जगमा उभिएर क्रान्तिको अर्को अभियानलाई अगाडि बढाउँछौं । जनयुद्धमा बगेको रगत, बलिदान खेर गएको छैन । यसमा गर्व गर्नुपर्छ । जनयुद्ध र बलिदानमाथि भएका धोका र गद्दारीका विरुद्ध वैचारिक संघर्ष गर्दै सहिद तथा वेपत्ता परिवार, घाइते अपाङ्ग योद्धा, जनमुक्ति सेनाका योद्धाहरु र अन्य नेता कार्यकर्ताहरुलाई पनि क्रान्तिको प्रक्रियामा जोडिन आव्हान गर्दछु । सहिद, वेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग योद्धा, जनमुक्ति सेनाका मागहरुप्रति ऐक्यबद्धता जनाउँदै ती माग पुरा गराउन पनि लड्ने प्रतिबद्धता व्यक्त गर्दछौं । जनयुद्धको २५ औं दिवसको यस ऐतिहासिक अवसरमा म जनयुद्धको प्रक्रियामा सहादत प्राप्त गर्ने वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, वेपत्ता र घाइते तथा अपाङ्ग योद्धाहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछु र जनसमुदायद्वारा प्रस्तुत गरिएका त्याग, वीरता र बलिदानका कीर्तिमानहरुको संस्मरण गर्दछु । साथै, यस अवसरमा सहिद तथा वेपत्ता योद्धाका परिवारजन, सम्पूर्ण पार्टी कमरेडहरु, समर्थक तथा सुभेक्षुकहरु, आदरणीय जनसमुदाय र भाईचारा पार्टी तथा विश्व सर्वहारावर्गप्रति हार्दिक शुभकामना र लाल अभिवादन अर्पण गर्दछु ।