‘ओली सरकारले मुठ्ठिभर दलाल, नाफाखोर र विचौलियाको मात्र हितमा काम गरेको छ’

प्रकाशित मिति : २०७६ भाद्र २

नयाँ दिल्ली । नेपाली एकता समाज, भारत पश्चिम भारत एकताको प्रथम राज्य सम्मेलन, गुजरातको वापीमा २०७६ साल श्रावण २८ र २९ गते सम्पन्न भएको छ । सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय महासचिव परि थापाले वर्तमान ओली नेतृत्वको सरकार प्रतिक्रियावादी सरकार भएको भन्दै यसले मुठ्ठिभर दलाल, नाफाखोर विचौलियाको हितमा मात्र काम गरेको आरोप लगाएका छन् ।
समाजको सम्मेलन तयारी समितिका अध्यक्ष प्रताप थापाको सभापतित्व र सचिव मानबहादुर थापाको उद्घोषणमा सम्पन्न भएको सम्मेलनको उद्घाटन गर्दै महासचिव थापाले वर्तमान कथित कम्युनिस्ट पार्टीको सरकारले विगतका सरकारहरुले जस्तै राष्ट्रघात, जनघात र भ्रष्टाचारलाई निरन्तरता र व्यापकता दिएको बताए । उनले अगाडि भने, ‘समाजवाद’को लफ्फाजी दिएको सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको दायित्व लिनु पर्नेमा ती विषय र क्षेत्रमा भैरहेको निजीकरणलाई तीब्रता दिएर मुठ्ठीभर दलाल, नाफाखोर र विचौलियाहरुको हितमा काम गरेकोछ ।’ उनले अगाडि थपे, ‘वर्तमान राज्य व्यबस्था प्रतिक्रियावादमा पतन भैसकेकाले अब यसको भण्डाफोर गर्न आवश्यक नभएकाले आगामी मंसिर महिनामा हुने भनिएको संघीय र स्थानीय चुनावलाई सकृय बहिष्कार गर्दै संघर्षलाई सशक्त ढंगले अगाडि बढाएर संघीय जनगणतन्त्र स्थापनाको दिशामा अगाडि बढ्नु पर्दछ ।’ उनले सम्मेलनको भव्य सफलताको शुभकामना व्यक्त गर्दै नवनिर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई हार्दिक वधाई ज्ञापन समेत गरेका थिए ।
नेपाली एकता समाज, भारत केन्द्रीय समितिका सचिवालय सदस्य हेमराज पौडेलले प्रस्तुत गरेको नयाँ प्रदेश कार्य समितिको नामावली (प्यानल) बन्दसत्र (हाउस)ले सर्वसम्मतिबाट पारित गरेको थियो । त्यसैगरी उनले नवनिर्वाचित कार्य समितिलाई वधाई ज्ञापन समेत गरेका थिए ।


सम्मेलनमा शुभकामना मन्तव्य दिनेहरुमा नेपाली एकता समाज, भारतका पूर्व केन्द्रीय समितिका सदस्य एवं देजमो ५ नं. प्रदेशका सदस्य विक्रम भण्डारी लगायत थिए । सांस्कृतिक कलाकर्मीहरुद्वारा प्रस्तुत गरिएका रोचक प्रगतिशील गीत र नाचहरुले सम्मेलनको थप रौनकता बढाएको थियो ।

सम्मेलनले बालकृष्ण अधिकारको अध्यक्षतामा २७ सदस्सीय नेपाली एकता समाज पश्चिम भारत प्रदेश कार्य समिति चयन गरेकोछ । प्रदेश समितिका अन्य पदाधिकारीहरुमा उपसभापति केश बहादुर थापा, सचिव प्रताप थापा, सहसचिव मान बहादुर थापा, कोषाध्यक्ष भुराल त्रामु चयन रहेका छन् भने सदस्यहरुमा बेलमाया थापा, सिर्जना थापा, टेक बहादुर त्रामु, लीला त्रामु, बल बहादुर राना, धन बहादुर पुलामी, शक्ति रिमाल, लोकेश न्यौपाने, भानु सुनार, ओम खाम्चा, बेद बहादुर सारु, श्याम थापा, शान्ति घर्ति, विष्णुमाया अधिकारी, संदिप थापा, सविना थापा, ज्ञानु पहाडी, टेक प्रसाद भट्टराई, चन्द्र बहादुर त्रामु, भिम पुलामी, सपना पुलामी र वुद्ध मिदुन लगायत रहेका छन् ।