भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

प्रकाशित मिति : २०७६ श्रावण २२

नयाँ दिल्ली । भारतीय पूर्व विदेशमन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । उनको अन्तिम संस्कार आज साँझ ४ बजे दिल्लको लोधी शवदाह गृहमा हुनेछ । भाजपाका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि १२ बजेदेखि ३ बजेसम्म पार्टी मुख्यालयमा राखिनेछ ।
मंगलबार बेलुकी हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा मंगलबार उनको निधन भएको हो ।
एक्कासी हृदयघात भएपछि उनलाई स्थानीय समयअनुसार राति सवा १० बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पतालमा उनका परिवारका सदस्य भाजपाका वरिष्ठ नेताहरु डा. हर्षवर्धन, नितिन गड्करी, पियूष गोयललगायतको उपस्थिति थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।
यसअघि उनले सन् २००९ देखि २०१४ सम्म संसद्मा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हालेकी थिइन् । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दल काँग्रेससहितका राजनीतिक दल तथा नेताहरुले ट्वीटमार्फत् शोक व्यक्त गरेका छन् ।