ट्रम्प अमेरिकी इतिहासकै कायर राष्ट्रपति हुन् त ?

प्रकाशित मिति : २०७६ असार ८

- प्रतीक सिग्देल

 विगत केही दिनयता विश्वकै महाशक्ति देश संयुक्त राज्य अमेरिका र आणविक शक्ति सम्पन्न मुलुक इरानका बीचमा युद्धको वादल मडारिँदै आएको छ । आणविक शक्तिका हिसाबले यी दुई मुलुकका बीचको द्वन्द्वले पुरै विश्वलाई नै तहसनहस पार्न सक्ने विश्वयुद्ध नै हुने पो हो कि भन्ने चिन्ता विभिन्न राजनैतिक विश्लेषकहरुले व्यक्त गर्न थालेका छन् ।

हालसालै अन्तर्राष्टिय थिंक ट्यांक Stockholm International Peace Research Institute (SIPRI) ले प्रकाशित गरेको एक अध्ययनले वाशिंटनको तेहरान तथा उत्तर कोरियाका साथ देखिएको पछिल्लो टकरावले विश्वमा अहिलेसम्मकै खतरनाक आणविक युद्धको वातारण बन्दै गएको र त्यो विश्व युद्धमा रुपान्तरण हुन सक्ने बारे अन्तर्राष्ट्रिय जगतलाई सचेत गराएको छ । मध्य पूर्वीय राष्ट्र इरान र अमेरिकाका बीचको द्वन्द्व कुनै नौलो कुरा होइन । पहिले देखि नै यी दुई देशका शासकका बीचको टकराब र मतभेद सतहमा आइरहन्थे । इरानका अमेरिका समर्थित राजा मोहम्मद रेजा शाह पल्लभीलाई १९७९को विद्रोह मार्फत अपदस्त गरेर इस्लामिक गणतन्त्रको स्थापना गरेदेखि नै इरानको शासन सत्तामा अमेरिकाले आफ्नो कठपुतलीलाई स्थापित गर्न राजनीतिक वा सैन्य हस्तक्षेप गर्दै आएको छ । तर यी दुई राष्ट्रबीचको पछिल्लो युद्धउन्मादकोे स्थिती भने अहिलेसम्मकै खतरनाक देखिएको छ । यी दुई राष्ट्रका प्रमुखहरुका बीचको वाकयुद्ध, एक अर्काप्रतिको आक्रमणको चेतावनी, सैनिकहरुको तैनाथी र केही छिटफुट परिघटनाले आगोमा घिउ थप्ने काम गरेका छन् । यसले विश्वलाई नै ध्रुवीकरण गर्दै लगेको छ ।

गत हप्ता गल्फ अफ ओमानमा दुई कार्गो पानीजहाजमाथि भएको आक्रमण र इरानले अमेरिकाको एक मानवरहित ड्रोनमाथि गरेको हमलाबाट यी दुई राष्ट्रको पछिल्लो टकराब सतहमा आएको छ । अब यी दुई राष्ट्रका बीचको यो टकराब यत्तिकै शान्त हुन्छ या आणविक युद्धमा परिणत हुन्छ भन्ने कुरा त समयले बताउला, तर यो परिस्थितीले संसारकै सबैभन्दा शक्तिशाली मानिएको अमेरिकाका राष्ट्रपतिको निर्णय क्षमतामाथि भने गम्भीर प्रश्न उठाएको छ । इरानले अमेरिकाको मानवरहित ड्रोन खसालिदिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल प्रतिक्रिया स्वरुप इरानमाथि हवाई आक्रमण गर्न लिएको निर्णय अन्तिम समयमा एक्कासी फिर्ता लिए । उनले फिर्ता लिने निर्णय हतारमा गरे या कुनै वाह्य शक्तिको प्रभावमा परेर गरे त्यो त स्पष्ट हुँदै जाला, अन्तर्राष्टिय विश्लेषकहरुले भने ट्रम्पको निर्णय गर्ने क्षमतामाथि शंका गरेका छन् ।

स्वभाविक पनि हो, अमेरिका जस्तो महाशक्ति देशका प्रमुखले भावी परिणामको कुनै आँकलन नै नगरी पहिला एक्कासी ठूलो निर्णय लिनु र केही समयको अन्तरालमा सोही निर्णय फिर्ता लिनुले उनको बौद्धिक अपरिपक्वतालाई स्पष्ट पारेको छ । इरानमाथिको हमलालाई लास्ट आवरमा फिर्ता लिने ट्रम्पको निर्णयले मध्य पूर्वमा युद्धको स्थितीलाई केही हदसम्म टारेपनि इरान र अमेरिकाका बीचको सम्बन्ध उनको आगामी व्यवहारमा भर पर्नेछ । तर सैन्य आक्रमणजस्तो गम्भीर निर्णय गरेर र सोही निर्णय एकैछिनमा उल्ट्याएर ट्रम्पले राष्ट्रपतिको हैसियतलाई भने पक्कै गिराएका छन् । विभिन्न टिप्पणीकारहरुका अनुसार उत्तर कोरियाका सन्दर्भमा ट्रम्पले प्रयोग गरेको पदावली “फायर एण्ड फ्युरी”का कारण आक्रामक छवि बनाएका ट्रम्पको यस पालीको यो परिघटनाले उनको त्यो छबि निकै धमिलिएको छ । मानसिक समस्याबाट ग्रस्त भएको आरोप लागिरहने ट्रम्पमाथि आफ्नै निर्णयप्रति दृढ नहुनुले पनि उक्त आरोपलाई पुष्टि गरिराखेको छ । यतिमात्र होइन, बोली र व्यवहारमा फरक देखिएको आरोप लाग्ने ट्रम्पलाई कतिपयले अमेरिकी इतिहासकै कायर र डरपोक राष्ट्रपति पनि भन्न थालेका छन् । ट्रम्पले इरानमाथिको हवाइ हमला गर्ने निर्णय अकस्मात फिर्ता लिनुमा मुख्यतः तीनवटा कारण जिम्मेवार छन् भन्ने देखिन्छ् ।

पहिलो, उनी आफैमा आफ्नो निर्णयप्रति गम्भीर छैनन् या हचुवामा निर्णय गर्छन् दोश्रो, उनी कसैको घेराबन्दीमा परे वा तेश्रो, उनी इरानसँगको युद्धले निम्त्याउने विश्वयुद्धको भयावह स्थितिसँग डराए । संभावित परिस्थितिको आँकलन नगरी किन निर्णय लिए यसले उनको बौद्धिक हैसियत माथि गंभीर प्रश्न उठाएको छ । अमेरिकाको प्रतिनिधि सभाकी सभामुख नान्सी पेलोसीले आफ्नो देशको राष्ट्रपतिले कुनै अर्को देशमाथि हमला गर्ने निर्णय लिनुभन्दा पहिला संसदको स्वीकृति लिनुपर्ने बताएपछि र रिपब्लिकन पार्टीका केही सांसदहरुले समेत ट्रम्पको उक्त निर्णयको विरोध गरेपछि उनका विरोधी पार्टी र आफ्नै पार्टीका सांसदको घेराबन्दीमा परेका देखिन्छन् । त्यसमाथि हालै किर्जीस्तानको विस्केकमा रुसी राष्ट्रपति पुटिन, चिनीया राष्ट्रपति सि र इरानका धार्मिक नेता अयातुल्लाहलाई एउटै मञ्चमा देखेको कुराले उनको दिमागमा धक्का दिएपछि उनी निर्णयबाट पछि हटेका हुन सक्छन् । जे होस्, उनले आक्रमणको निर्णय फिर्ता लिनुले विश्वयुद्धको बादल केही समयसम्मको लागि बिलाएको छ । यो खुशीको कुरा हो । तर, ट्रम्प जस्ता सनकी नेताका कारण भोली जे पनि हुन सक्ने हुनाले जनता भने अझै त्रसित नै छन् । ट्रम्पले इरानमाथिको हवाइ आक्रमणका कारण १५० भन्दा बढि सर्वसाधारणको ज्यान जाने भएकाले उक्त निर्णय फिर्ता लिएको बताएका थिए । इरानले मानवरहित ड्रोन खसालेको र आफ्नो आदेशका कारण १५० जना मानिस मर्ने कुरा बराबरी नहुने हुनाले उनले निर्णयबाट आफु पछि हटेको तर्क गरे । आउने दिनमा इरानसँग बदला लिन उनकै भाषामा बराबरी हुने किसिमको कार्वाही स्वरुप इरानमाथि थप आर्थिक नाकाबन्दी लगाउने विषयलाई उनले उपयुक्त विकल्प बनाएका छन् । स्पष्ट छ, ट्रम्पले अन्य मुलुकलाई जस्तै इरानलाई पनि आणविक अश्त्र निर्माण र भण्डारण गर्नबाट रोक्न विभिन्न किसिमका नाकाबन्दीहरु थोपर्ने छन् । तर इरानमाथि लगाइने आर्थिक लगायतका प्रतिवन्धहरुले केही हदसम्म युद्धको स्थितीलाई तत्काल रोके पनि कालान्तरमा तिनले झन गम्भीर समस्या पैदा गर्ने कुरा निश्चित छ ।

अन्तमा, बुझ्न जरुरी के छ भने विश्वका सम्पूर्ण आणविक अस्त्रहरु मध्ये ९० प्रतिशत हतियार अमेरिका र रुसमा थुपारिएका छन् । महाशक्ति देशहरुले त्यतिका हातहतियारको निर्माण र संचय गर्न पाउने तर इरान र उत्तर कोरिया जस्ता कमजोर देशले आत्मरक्षाका लागि राखेका ती अस्त्र विश्व शान्तिका बाधक हुने ? निरश्त्रीकरणको थालनी इरान तथा उत्तर कोरिया जस्ता देशबाट होइन अमेरिका र रुसबाट हुनु पर्दछ अनि मात्र अरु देशको पालो आउँछ । जहिले सम्म बलियाले आणविक क्षेप्यास्त्र बनाईराख्न पाउने र कमजोरले नपाउने नियम कायम रहन्छ विश्वभरी युद्धको बीउ त्यहीँ भित्र हुन्छ । अहिले इरानमाथि हात ठड्याउने होइन सबैले रुस र अमेरिका जस्ता देशको निशस्त्रीकरणको पक्षमा आवाज बुलन्द गर्नु पर्दछ । विश्वको निशस्त्रीकरण न हुने हो भने भयावह विश्वयुद्धका कारण यो संसारबाट मानव जाति र मानवता दुबै डाइनोसर जस्तै इतिहासका वस्तु बन्ने छन् ।