कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको दुई जिल्ला कञ्चनपुर र कैलालीमा भीषण आँधीहुरी आएको छ । बिहीबार साँझ ८ बजेको समयमा आएको आँधीहुरीमा परी कैलालीमा एकजनाको मृत्यु भएको छ । हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । कैलालीका एसपी सुदीप गिरीका अनुसार हावाहुरी चलेका बेला चौधरी सवार मोटरसाइकल टिपरमा ठोक्किएपछि उनी गम्भीर घाइते भएका थिए ।

हार्दिक शुभकामना !

हावाहुरीमा परी घाइते भएका अन्य ३२ जनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीको हावाहुरी बर्दिया र दाङतर्फ बढ्ने क्रममा छ । उक्त क्षेत्रका स्थानीयलाई सर्तकता अपनाउन आग्रह गरेको छ । हावाहुरीका कारण ठूलो जनधनको क्षति पुगेको छ ।

धनगढीसँगै जोडिएको डोकेबजारमा हावाहुरीले उडाएको ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक दुबैजना घाइते छन् । कैलालीका प्रहरी उपरीक्षक गिरी नेतृत्वको प्रहरी टोलीले दुबैजनाको उद्दार गरी सेती अञ्चल अस्पताल पु¥याएको थियो । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुर प्रहरीले सातजना भन्दा बढी घाइते महाकाली अञ्चल अस्पतालमा पुगेको जनाएको छ । हावाहुरीले कैलाली र कञ्चनपुरका सैयौं घरका छाना उडाएको छ ।

स्थानीयहरु पूर्वी तराईको बाराको जस्तै हावाहुरी आएको बताउँछन् । कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट जति आएको भयानक हावाहुरी अहिलेसम्मकै ठूलो भएको स्थानीयहरुको दाबी छ ।

कैलाली र कञ्चनपुरमा दर्जनौं विद्युतका पोलहरु ढलाएकाले विद्युत् आपुर्ती बन्द भएको छ भने नेपाल टेलिकमका पोलमा पनि क्षति पुगेपछि केही स्थानको फोन सेवा समेत अवरुद्ध भएको छ । कैलाली प्रहरीेले मानिसहरु रुख ढलेर च्यापिएको खबर आए पनि त्यहाँ जाने सडकमा दर्जनौं रुख ढलेकाले जान नसकेको जनाएको छ । प्रहरीका अनुसार उद्दार कार्यका लागि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर