नेपाल मण्डलमा यतिखेर पुँजीवादी ‘राजतन्तर’को उदय भएको छ । खासमा राजतन्तर भनेको त सामन्तवाद नै हो केरे । सामन्तवादी राजतन्तरमा राजाको छोरो राजा हुने भएकाले यो बंसजको आधारमा रहेको हुन्छ । तर ऐले नेपाल मण्डलमा पुँजीवाद आइसकेको हुनाले र गनतन्तर पनि भएको हुनाले यस्तो व्यवस्थामा हुने राजतन्तरलाई पुँजीवादी गनराजतन्तर भनिन्छ । यो नेपाल मण्डलबाट पहिलो पटक आविष्कार भई प्रयोगमा समेत सिद्ध भएर आएको छ ।

हार्दिक शुभकामना !

यसमा बंसजको उत्तरअधिकारी हुँदैन । यस्तो राजतन्तरमा भाले या पोथी जाती मध्य जो पनि राजा हुन पाउँछ । शनैः शनैः यो गनराजतन्तरले पनि सामन्तवादी बंसजको राजतन्तरले प्रयोग गर्ने राजसी भाषा, संस्कृति, रतिरिवाजा, धर्म परम्पराको बिँडो थाम्दै अघि बढ्ने सुरसार कसिरहेको छ ।

यो पिर्थिवीलोकका अरू मण्डलमा राजतन्तर हटेर गनतन्तर, पर्जातन्तर वा आधुनिक भाषामा लोकतन्तर आएको तीन चार सय बर्ख वितिसकेको छ । केही मण्डलमा अझै पनि राजतन्तर कायमै रहेको छ । नेपाल मण्डलमा पनि राजतन्तर अस्ति भर्खरसम्म ज्युँदै थ्यो । त्यो सक्रिय पनि थ्यो । त्यो सामन्तवादी प्रेतकालको राजतन्तर हटेर गनतन्तर आ’को हो । तर पञ्चप्रेतको पाटीले राजतन्तर फर्काउन पर्च भनेर आन्दोल गर्दै देश दौडाहा गरिराखेको छ ।

चारतारे पाटी भित्रका केही थान नेताहर्ले पनि प्रेतकालको राजतन्तर फर्काउन पर्च भनेर कस्सिएकै छन् । उता रोल्पाली बाबुसावको कम्निस पाटीले पनि राजतन्तर फर्काउने अभियानमै लाग्या छन् भनेर गाइँयगुइँय हल्ला पनि गर्चन् । त्यै भ’र होला हाम्री महामहिम आधिआकास घर्लप्पै ढाकेकी राष्ट्रका पति महोदयाले पनि अब राजतन्तरैकालको झल्को दिइरहेकी छन् । त्यसोगर्न उनलाई निकै उत्सुकता जागेको छ । उनलाई महारानी बनेर राजकाज गर्ने हुटहुटी जागेको छ ।

महारानी बन्ने मनसुवा भएकैले रहेछ बडादशैँमा देशका गन्यमान्य, उच्च ओहोदाका नोकरीदारहर्लाई टीका प्रसाद बक्स हुँदा घुँडा टेकाएरै बक्स भएको थियो । प्रेतकालका राजामहाराजहर्ले जस्तै पशुपतिनाथको दर्शनभेट र पूजा अर्चना गर्ने, भोटो जात्रामा भोटो दर्शन गर्ने, हिन्दू धर्मका विभिन्न मठमन्दिरमा गएर पूजापाठ गर्ने काममा प्रेतकालिन राजाहरूको बिँडो थाम्दै आएको यसपाला त सरकारी नीतिको पोको खोल्ने कार्यक्रममा सरकारलाई मेरो सरकार भन्न पनि भ्याइन् । हिज प्रेतकालमा सरकारलाई राजाले मेरो सरकार भन्ने भएकाले त्यसलाई श्री ५ को सरकार भनिन्थ्यो ।

आज राष्ट्रका पति महोदयाले पनि मेरो सरकार भनेर बाणी बक्स भएको हुनाले अब यो सरकार नेपाली मनुखेको नभई राष्ट्रका पतिको भएकाले यसले नयाँ प्रकारको राजतन्तर आएको जनाउ दिएको छ । अब राष्ट्रका पति महोदया बडामहारानीका रुपमा उदाइबक्सेको छ । यसले अब राजतन्तर फर्काउनु पर्च भनेर राजनीति गरिरहेका प्रेत पाटी, चारतारेका केही नेता र नागार्जुनका प्रेतहरू सबै सबैका माग पूरा भएका छन् । अब राजतन्तर फर्कान पर्च भनेर रोइधोइ गर्न नपर्ने भएको छ ।

हाम्रा राष्ट्रका पति महोदयालाई महारानी बनेर श्रीपेच पहिरिने यत्रो धोको रहेछ, हामी उल्लु रैती मनुखेले पत्तै पाएनछौँ । हामी पनि कस्ता हुस्सु छौँ भन्या । सरकारी पाटीका विचरा दुइनम्बरी अध्यक्षलाई समेत केही निसापत्तो रहेनछ । संसदमा दुबै खोरका मान्नेहर्लाई सम्बोधन बक्स हुँदा मात्रै था’ पाएछन् । यो सबै चाँजोपाँजो त एकनम्बरी अध्यक्ष अर्थात् नेपाल मण्डलका पर्धानमन्तरीले पो मिलाएका रहेछन् । उनी त देश खाइ शेस पल्टेका ।

उनलाई त कुन देशमा के कस्तो व्यवस्था छ, के कस्तो भाषा छ, के कस्तो राजनीति र संस्कार संस्कृति छ भन्ने कुराको हेक्का छ । त्यै भ’र उनले अब उप्रान्त यो सरकार नेपाली रैती मनुखेको नभई राष्ट्रका पति प्रमुखको हो भन्ने कुरा संसदमा घोषणा गर्न लगाएर लाहाछाप ठोकी दिए । यसो गर्दा राजा फर्काउन पर्च भन्नेहर्को पनि माग पूरा हुने, यता राष्ट्रका पति प्रमुखको पनि बडामहारानी बन्ने धोको पूरा हुने । बडा गजबको काइदाको फाइदा भयो ।

यसरी नेपाल मण्डलमा गनतन्तरात्मक राजतन्तरको उदय भएको छ । यसैगरी केही समय पछि हिन्दू राज्यको पनि नयाँ अवतारका रुपमा उदय हुने छ । यसका लागि हाम्रा छिमेकमा गुज्जर भैय्याले चुनाउ जित्नु पर्ने छ । गुज्जर भैय्या र हाम्रा पर्धानमन्तरीको सुमधुर मात्रै नभएर भित्रिया सम्वन्ध पनि भएकाले त्यसका लागि गुज्जर भैयाले विशेष सहयोग गर्ने नै छन् । बडामहारानी मौसुफ सरखारको जय होस् ।

प्रतिक्रिया

सम्बन्धित खवर