विप्लव नेकपाका जिल्ला इन्चार्जसहित दर्जनौ क्रान्तिकारी माओवादीमा प्रवेश (हेर्नुस फोटोफिचर)

विप्लव नेकपाका जिल्ला इन्चार्जसहित दर्जनौ क्रान्तिकारी माओवादीमा प्रवेश (हेर्नुस फोटोफिचर)

काठमाडौं । नेकपा (विप्लव)का धनकुटा इन्चार्ज चट्टानसहित दर्जनौं नेता कार्यकर्ताहरु नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा कोशी व्यूरो सदस्य संघर्ष (पाँचथर), कमला लिम्बू(पाँचथर इन्चार्ज), छिरिङ (संखुवासभा सेक्रेटरी), नवराज (व्यूरो सदस्य, धनकुटा), लेखनाथ (व्यूरो सदस्य, धनकुटा), अतित (काठमाडौं जिल्ला सदस्य), एडी (काठमाडौं जिल्ला सदस्य), पूर्ण (काठमाडौं) जिल्ला सदस्य लगायत २१ जना रहेका छन् । पार्टी प्रवेश गर्नेहरुलाई पार्टी महासचिव मोहन वैद्य‘किरण’ तथा क्रान्तिकारी संयुक्त मोर्चाका अध्यक्ष सीपी गजुरेलले अबीर र खादा लगाएर स्वागत गरेका थिए । विप्लवबाट विद्रोह गरी आएका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिवले भने, “अब ध्रुवीकरण सुरु भएको छ । ठूलै ध्रुवीकरणको सम्भावना छ । हामी सबै छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणमा ल्याउने प्रयत्न गरिरहेका छौं । सम्भावना बढेर गएको छ । क्रान्तिका लागि क्रान्तिकारीहरु एक ठाउँमा नआई सुखै छैन ।”


विप्लव नेकपा परित्याग गरी क्रान्तिकारी माओवादी प्रवेश गर्नेहरुको तर्फबाट प्रतिनिधित्व गर्दै चट्टानले नेकपा (क्रान्तिकारी माओवादी)को कार्यदिशा तथा नीति कार्यक्रमप्रति प्रतिबद्ध भई नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्न आफूहरु जस्तो सुकै चुनौतीको सामना गर्न पनि तयार रहेको बताए । लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका थिए । कार्यक्रमको अध्यक्षता क्रान्तिकारी माओवादीका पीविएम प्रभाकिरणले गरेका थिए भने सञ्चालन पीविएम अग्नीज्वालाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि पार्टी महासचिव किरण र विशेष अतिथि मोर्चा अध्यक्ष गौरव रहेका थिए । कार्यक्रमलाई महासचिव किरण, मोर्चा अध्यक्ष गौरव र जबस मोर्चाको तर्फबाट शारदाले सम्बोधन गरेका थिए ।


कार्यक्रममा प्रमुख अतिथि लगायत सबै अतिथि र कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरुले लेनिनको फोटोमा माल्यार्पण गर्दै मौनधारणमार्फत् विशेष कमरेड लेनिनप्रति विशेष सम्मान तथा श्रद्धासुमन प्रकट गरेका थिए ।