काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी पीबीएम् हर्कबहादुर शाहीको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणद्वारा एक वक्तव्य जारी गरी गहिरो दुख व्यक्त गरिएको हो ।
विज्ञप्तिमा भनिएको छ– “ यही २०७५ चैत्र २६ मा नेपाली कम्युनिस्ट आन्दोलनका एक नेता तथा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको पोलिट ब्युरोका सदस्य कमरेड हर्कबहादुर शाहीको दुःखद निधन भयो । वहाँको निधनबाट हामी अत्यन्तै स्तब्ध भएका छौं ।”
दैलेख जिल्ला निवासी नेता शाही निकै प्रष्ट र प्रखर वक्ता थिए । उनको इतिहासमाथि प्रकाश पार्दै विज्ञप्तिमा भनिएको छ– “२०२४ सालमा नेपाली कम्युनिस्ट आन्दोलनमा आबद्ध वहाँ नेपाल मजदुर किसान पार्टी हुँदै माओवादी आन्दोलनमा समावेश भई तात्कालीन नेकपा (माओवादी) हुँदै नेकपा (क्रान्तिकारी माओवादी)मा पोलिट ब्युरो सदस्यका रुपमा क्रियाशील हुनुहुन्थ्यो ।”
श्रीमती, २ छोरा, २ छोरी, बुहारी नाती नातिनीहरुसहित बस्दै आएका शाही नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका केन्द्रीय सदस्य क. दीपक बहादुर शाहीका पिता हुन् ।
विज्ञप्तिको अन्त्यमा भनिएको छ– “वहाँको निधनबाट पार्टीमा ठूलो क्षति भएको छ । हामी कमरेड हर्कबहादुर शाहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, वहाँका सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।”
मंगलवार साँझ नै नेकपा (क्रान्तिकारी माओवादी)का नेताहरु पुगी श्रद्धाञ्जली व्यक्त गरेका थिए । शाहीको पार्थिव शरीर बुधवार १२ बजे दिउँसोदेखि २.०
बजे अपान्हसम्म श्रद्धाञ्जलीका लागि नेकपा (क्रान्तिकारी माओवादी) को ३ नं. प्रदेश तथा जनवर्गीय संगठनहरुका कार्यालय कुपण्डोलमा राखिएको छ ।