घरेलु उद्योगमा विदेशी लगानी अस्वीकृत

प्रकाशित मिति : २०७५ चैत्र २

काठमाडौं । केपी शर्मा ओलीको सरकारले घरेलु उद्योगमा वैदेशिक लगानी लिन नपाइने कानुन निर्माण गरेको छ । यसअघि घरेलु तथा साना उद्योगहरुमा पनि वैदेशिक लगानी भित्र्याउन पाइने नियम बनाइएको थियो ।

घरेलु तथा साना उद्योगहरुमा वैदेशिक लगानी गर्न पाइने भनी यसअघि निर्माण गरिएको प्रावधानको विरुद्धमा उद्योग वाणिज्य महासंघले देशव्यापी विरोध जनाएको थियो । यसका साथै विभिन्न संस्थाहरु तथा राजनीतिक दलहरुले पनि यसमाथि कडा टिप्पणी गरेका थिए ।

घरेलु तथा साना उद्योगहरु स्वदेशी लगानीमा चल्नुपर्ने र तिनलाई आत्मनिर्भरउन्मुख बनाउनु पर्ने कुरामा सम्बन्धित पक्षहरुका माझमा ठूलो बहस पनि चल्दै आएको थियो ।

घरेलु उद्योगका लागि स्वदेशी लगानी स्वीकृत गर्न यसअघि राखिएको ३५ दिनको समयसीमा घटाएर यसलाई सात दिनमा झारिएको छ ।

अब साना तथा घरेलु उद्योगहरुमा गरिने स्वदेशी लगानीको स्वीकृति एक हप्ताभित्रै गरी कार्य सञ्चालन प्रारम्भ गर्न पाइने छ ।