चैत्र १–२ मा देशभक्त जनगणतान्त्रिक मोर्चा ३ नं. प्रदेशको सम्मेलन, जनसमुदायको नाममा जारी गरियो यस्तो अपील

चैत्र १–२ मा देशभक्त जनगणतान्त्रिक मोर्चा ३ नं. प्रदेशको सम्मेलन, जनसमुदायको नाममा जारी गरियो यस्तो अपील

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ३ नं. प्रदेशको सम्मेलन चैत्र १–२ मा हुने भएको छ । मोर्चाका ३ नं. प्रदेशका संयोजक पवनमान श्रेष्ठले सम्मेलनलाई लक्षित गरी जनसमुदायको नाममा एक अपिल समेत जारी गरेका छन् ।

“राष्ट्रिय स्वाधिनताको रक्षा गरौं !, संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्ष गरौं !!, यही चैत्र १ र २ गते हुने देजमो, नेपाल ३ नं. प्रदेश सम्मेलन सफल पारौं !!!’ भन्ने मूल नारालाई शीर्षक बनाई जारी गरिएको अपिलमा ‘जनताले लुटतन्त्र चाहेका हैनन्, न त जनयुद्धको लक्ष्य संघीय लोकतान्त्रिक गणतन्त्र नै हो । महान् जनयुद्ध नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी संघीय जनगणतन्त्र स्थापना गर्न भएको हो । यो लक्ष्य पुरा गर्न अझै बाँकि छ । देशभक्त जनगणतान्त्रिका मोर्चा, नेपाल यस उद्देश्यमा दृढ छ । यसले मात्र देशको राष्ट्रिय स्वाधीनता, आन्तरिक राष्ट्रियता तथा जनतन्त्र र जनताको जनजीविका समाधानको ग्यारेण्टी गर्नेछ । यसको लागि देजमो प्रतिक्रियावादी सत्ताका विरुद्ध शसक्त संघर्षको उठाउन कतिबद्ध छ । त्यसैले देजमो संगठन व्यवस्थित र सुदृढ गर्दै संघर्षको विस्तार गर्ने अभियानमा रहेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको राष्ट्रिय सम्मेलन आगामी चैत्र २४ गते संघर्षको रुपमा काठमाडौंमा हुन गइरहेको छ ।’ उल्लेख गरिएको छ ।

अपिलमा अगाडि भनिएको छ, “राष्ट्रिय सम्मेलन भव्य रुपमा सफल पार्न देशैभरी र ३ नं. प्रदेशका जिल्लाहरुमा देजमोको जिल्ला भेला तथा सम्मेलन सम्पन्न हुँदैछन् । यसै अभियान अन्तर्गत हामी देजमो, नेपाल ३ नं. प्रदेशको प्रथम प्रदेश सम्मेलन यही चैत्र १ र २ गते काठमाडौंमा सम्पन्न गर्न गइरहेका छौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको राष्ट्रिय सम्मेलन र प्रदेश सम्मेलन सफल पार्न सहयोग गरिदिन हुन आम न्यायप्रेमी तथा उत्पीडित जनसमुदायमा हामी हार्दिक अनुरोध गर्दछौं ।”

यस्तो छ अपिलको पूर्णपाठ :

“आदरणीय जनसमुदाय,
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त, प्रगतिशील, जनतान्त्रिक, वामपंथी र कम्युनिष्टहरुको संयुक्त मोर्चा हो । नेपाल जस्तो अर्धसामन्ती, अर्धऔपनिवेशिक र नवऔपनिवेशिक देशमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी साम्राज्यवादी र विस्तारवादी हस्तक्षेपको पूर्ण उन्मुलन तथा देशभित्र विद्यमान दलाल तथा सामन्ती उत्पीडनको अन्त्य गरी संघीय जनगणतन्त्र स्थापना गरेर मात्र देश र जनताको मुक्ति संभव छ । त्यसैले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आफ्नो प्रमुख लक्ष्यको रुपमा संघीय जनगणतन्त्रको स्थापना राखेको छ ।

तात्कालिन नेकपा (माओवादी)ले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने मुख्य लक्ष्य सहित ०५२ फागुण १ गते दिर्घकालीन जनयुद्धको थालनी गरेको थियो । जनयुद्धका प्रमुख नेतृत्वबाट राष्ट्रिय र वर्गीय आत्मसमर्पणसहित देश, जनता र पार्टीमाथि गंभीर रुपमा विश्वासघात तथा गद्दारी गर्ने काम भयो । तिनले प्रतिक्रियावादी र संसदवादीसंग मिलेर कथित दोस्रो संविधान सभा मार्फत विश्वमै असफल भइसकेको उही पुरानो संसदीय संविधान–०७२ षड्यन्त्रमुलक ढंगले जारी गर्ने काम भयो । देखावटी रुपमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिकताको कुरा रहेतापनि संघीय लोकतान्त्रिक गणतन्त्र विहारी गणतन्त्र हो । यसले देशको राष्ट्रिय स्वाधीनताको रक्षा र उत्पीडित जनसमुदायको हकहितको रक्षा गर्न नसक्ने मात्र होइन, बरु देशको राष्ट्रियतामाथि गंभीर संकट पैदा गर्ने, जनताको जनतन्त्रमाथि कुठाराघात गर्ने र जनताको जनजीविकामाथि गंभीर संकट पैदा गर्दछ ।

आदरणीय जनसमुदाय,
आजकोे दुई तिहाइको कथित कम्युनिष्ट सरकारको एक वर्षको गतिविधि र परिणामले संघीय लोकतान्त्रिक गणतन्त्रको असली चरित्र नेपाली जनताको जीवन व्यवहार मै पुष्टि भएको छ । डबल नेकपा र सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारा जनतालाई उल्लु बनाएर भोट आफ्नो पोल्टामा पार्ने षडयन्त्र मात्र रहेछ भन्ने कुरा छर्लङ्ग भएको छ । यस बीचमा सरकारले पानी जहाज र रेलको कुराको डङका खुबसंग पिट्ने काम भयो । तर आम नेपालीको ढाड सेक्ने गरी करको बृढि, आकाशिदो महंगी, भ्रष्टाचार र कमिशनतन्त्रले देशको अर्थतन्त्र चौपट पारेको स्थिति छ ।

वाइड वडी हवाइ जहाज, नेपाल दूर संचारको ४ जी आदिमा भएको अरबौंको भ्रष्टाचार लगायत सबै क्षेत्रमा व्यापक रुपमा भइरहेका भ्रष्टाचारले के देखाउँछ ? निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७ महिनापछि पनि हत्याराको अत्तोपत्तो नहुनु र दैनिक रुपमा किशोरीहरुको बलात्कार र हत्याका घटना हुनुले के देखाउँछ ? ३३ किलो सुन तस्करीको कुरा त्यतिकै सेलाउनुले के संकेत दिन्छ ? सिन्डिकेट समाप्त पार्ने कुरा बीचैमा तुहिनुले के भन्छ ? वेरोजगार युवाहरुलाई रोजगार र संबृद्ध नेपालको कुरा गर्ने सरकार युवाहरुलाई विदेशमा पठाउन मरिहत्ते गर्नुले के जनाउँछ ? स्वास्थ्य र शिक्षा हुनेखानेहरुको पहुँचमा मात्र रहनुले के संकेत गर्दछ ? जनताका कथित प्रतिनिधीहरुले आफूखुसी आफ्नो सुविधा बढाउनुले देखाउँछ ?

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको वेला प्रम वलीले मोदीसंग गरेको दलालीले के को संकेत हो ? नेपालका ठुल्ठुला तथा सस्तो जलविद्युत् भारतको पोल्टामा सुम्पिनुले के संकेत गर्दछ ? भारतले प्रकाशित गरेको नेपालको नक्शा देशको सबै ठाउँमा प्रयोगमा ल्याउनु तर त्यसमा लिम्पीयाधुरा, कालापानी, लिपुलेक लगायत नेपालको भूभाग ३७२ वर्ग कि.मी. नरहेको अवस्थामा पनि सरकार चँुसम्म नबोल्नुले के जनाउँछ ? स्थानीय विकास तथा राज्य पुनर्संरचना मन्त्रालयबाट प्रकाशित स्थानीय निकायको क्षेत्रफलसहित नक्शामा नेपालको कुलक्षेत्रफलमा १०१९ वर्ग कि.मी. अपुग भएकोमा सरकारबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआउनुको अर्थ के होला ?
नेपालमा सदियौंदेखि उत्पीडित आदिवासी जनजाति, महिला, दलित, मधेशी, मुस्लीम र उत्पीडित क्षेत्रका जनताहरुहरुको हक अधिकारमा खासै अन्तर आएको छैन । लोकतान्त्रिक गणतन्त्रले ल्याएका केही सुधार पनि उहि सरकारी पार्टीका टाठाबाठाहरुले आफ्नो मुठीमा पारेको अवस्था छ । तर आदिवासी जनजाति लगायत उत्पीडितहरुका अधिकार विगतको जस्तै अवस्थामा रहेको छ । उनीहरुको भापा, कला, संस्कृति, आदिथलोमाथिको अतिक्रमण गंभीर बन्दै गएको छ । साँस्कृतिक सम्पदामाथि व्यक्तिबाट आज बेरोकतोक कब्जा हुँदै गर्दा राज्य मौन बस्ने मात्र होइन, राज्य आफै जग्गा दलालहरुको मिलोमितोमा आउटर रिङरोड, स्मार्टसिटी, फास्टट्रयाक आदि आयोजना मार्फत काठमाडौं उपत्यका ऐतिहासिक मौलिकता ध्वस्त बनाउँदैछ । यो के को संकेत हो ?

यी यस्ता प्रश्न हुन्, जसको जवाफ संघीय लोकतान्त्रिक गणतन्त्र वा संसदीय व्यवस्थामा हुँदैन । यसलाई लुटतन्त्रीय व्यवस्था पनि भन्न सकिन्छ ।

जनताले लुटतन्त्र चाहेका हैनन्, न त जनयुद्धको लक्ष्य संघीय लोकतान्त्रिक गणतन्त्र नै हो । महान् जनयुद्ध नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी संघीय जनगणतन्त्र स्थापना गर्न भएको हो । यो लक्ष्य पुरा गर्न अझै बाँकि छ । देशभक्त जनगणतान्त्रिका मोर्चा, नेपाल यस उद्देश्यमा दृढ छ । यसले मात्र देशको राष्ट्रिय स्वाधीनता, आन्तरिक राष्ट्रियता तथा जनतन्त्र र जनताको जनजीविका समाधानको ग्यारेण्टी गर्नेछ । यसको लागि देजमो प्रतिक्रियावादी सत्ताका विरुद्ध शसक्त संघर्षको उठाउन कतिबद्ध छ । त्यसैले देजमो संगठन व्यवस्थित र सुदृढ गर्दै संघर्षको विस्तार गर्ने अभियानमा रहेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको राष्ट्रिय सम्मेलन आगामी चैत्र २४ गते संघर्षको रुपमा काठमाडौंमा हुन गइरहेको छ । राष्ट्रिय सम्मेलन भव्य रुपमा सफल पार्न देशैभरी र ३ नं. प्रदेशका जिल्लाहरुमा देजमोको जिल्ला भेला तथा सम्मेलन सम्पन्न हुँदैछन् । यसै अभियान अन्तर्गत हामी देजमो, नेपाल ३ नं. प्रदेशको प्रथम प्रदेश सम्मेलन यही चैत्र १ र २ गते काठमाडौंमा सम्पन्न गर्न गइरहेका छौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको राष्ट्रिय सम्मेलन र प्रदेश सम्मेलन सफल पार्न सहयोग गरिदिन हुन आम न्यायप्रेमी तथा उत्पीडित जनसमुदायमा हामी हार्दिक अनुरोध गर्दछौं ।”