सहिदहरुको शालिकमा माल्यार्पण र श्रद्धाञ्जली सभा सम्पन्न

प्रकाशित मिति : २०७५ फाल्गुन २०

चितवन । मेची–महाकाली अभियान टोलीले आज चितवनको सप्तगण्डकी क्याम्पसमा रहेको जनयुद्धका महान सहिदहरुको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । सप्त गण्डकी क्याम्पसको प्राङ्गणमा सहिदहरु शारदा श्रेष्ठ, विकास अधिकारी, हरिकला पौडेल, सुधा पण्डित, किरण पौडेल, ऋषि रेग्मी, प्रकाश सुवेदी, शिवहरि तिमिल्सिनाको सालिक रहेको छ ।

विभिन्न समयमा सोही क्याम्पसमा अध्ययन गरेका सहिदहरुको सम्झनामा त्यहाँ शालिक निर्माण गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) तथा देशभक्त जनगणतान्त्रिक मोर्चाले सहिद सप्ताहको सन्दर्भ पारेर आज सहिदहरुको सालिकमा माल्र्यापण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको हो ।

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, पार्टी स्थायी समिति सदस्य हरिभक्त कँडेल, पिविएमहरु दिनेश शर्मा, कृष्णदेव सिंह दनुवार, कमल चौधरी, पवनमान श्रेष्ठ, पार्टी केसहरु अम्बिका मुडभरी, विरेन्द्र यादव लगायतका नेताहरुले सहिदहरुको सालिकमा माल्यार्पण गरेका थिए ।

क्रान्तिकारी माओवादीले मेची–महाकाली अभियानकै बीचमा जनयुद्धका सहिदहरुको सम्झना र सम्मानमा सहिद सप्ताह मनाएको छ र प्रायः सबै प्रदेशका जिल्लाहरुमा सहिद परिवारहरुलाई विभिन्न कार्यक्रम गरी अभिनन्दन गरेको छ ।