‘क्रान्ति जारी छ’ भन्दै रौतहटको चपुरमा नारा जुलुस र सभा सम्पन्न

चपुर, रौतहट । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिकामा ‘क्रान्ति जारी छ’ भन्दै नारा जुलुस र सभा भव्य रुपमा सम्पन्न भएको छ । चन्द्रपुर स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडिबाट सुरु भएको ¥याली बजारको मुख्य चोकमा पुगेर सभामा परिणत भएको थियो ।

‘दलाल सरकार मुर्दावाद, नेकपा क्रान्तिकारी माओवादी जिन्दावाद, क्रान्ति अझै जारी छ, दलालहरु होसियार’ लगायतका विभिन्न नाराहरु ¥यालीमा लगाइएका थिए ।

क्रान्तिकारी माओवादी रौतहटका सेक्रेटरी प्रलाद शाहको अध्यक्षतामा सम्पन्न उक्त जनसभालाई प्रमुख अतिथिको रुपमा मोर्चाका अध्यक्ष सीपी गजुरेलले र विशेष अतिथिका रुपमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेलले सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य तथा प्रदेश नम्बर दुईका सेक्रेटरी कृष्णदेव सिंह दनुवार, मोर्चाका प्रदेश संयोजक कमल चौधरी, पार्टीका केन्द्रीय सदस्य तथा महोत्तरी र रौतहटका इन्चार्ज विरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

सभालाई सम्बोधन गर्दै नेताहरुले जनताको व्यवस्था ल्याउनका लागि अर्को आन्दोलनको आवश्यकता रहेकोमा जोड दिए । नेताहरुले भारतीय विस्तारवादले सीमानामा अतिक्रमण गरेको राज्यले हेरेर बस्ने गरेको भन्दै कडा आलोचना समेत गरे ।