हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित सातै जनाको मृत्यु

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहित सातै जनाको मृत्यु

 

काठमाडौं । ताप्लेजुङको पाथिभरास्थित सिस्ने खोला क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित हेलिकोप्टरमा सवार सातै जनाको मृत्यु भएको छ । काठमाडौंबाट बुधबार (आज) बिहान साढे ८ बजे तेह्रथुमका लागि उडेको कल साइन अल्फा माइक इन्डिया (एएमआई) हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको हो ।

प्रहरी स्रोतका अनुसार सदरमुकाम फुङलिङबाट तीन घण्टाको पैदल दूरीमा हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनास्थलमा शव डढेका कारण पहिचान हुन सकेको छैन ।

मन्त्री अधिकारी प्रधानमन्त्री ओलीको निर्देशनमा तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो । विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्किने क्रममा मन्त्री अधिकारी सवारसहित दुर्घटना भएको हो ।

हेलिकोप्टरमा सवार मन्त्री अधिकारीलगायत यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया सबैको मृत्यु भएको छ ।

यसैबीच, मन्त्री अधिकारीको दुर्घटनामा परी निधन भएको खबरसँगै उनका बुवा र आमालाई काठमाडौं ल्याइएको छ ।