मेचीमहाकाली जनजागरण अभियानले अहिले देशव्यापी तरंग पैदा गरेको छ । देशमा भइरहेका राष्ट्रघाती र जनविरोधी गतिविधिको भण्डाफोर तथा जनसचेतना अभियानका रुपमा यसलाई जनताले स्वीकार गरेका छन् । अभियानले अहिले देशवपी गति पाएको छ । पूर्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेबाट यो अभियानको प्रत्यक्ष नेतृत्व भइरहेको छ । पश्चिम नेपालमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सचिव परि थापाको नेतृत्वमा अभियानको कार्यक्रम अघि बढिरहेको छ ।
जनताले देश किन अनिर्णयको बन्दी बन्न पुगेको छ र जनताका अधिकारहरु किन दिनप्रतिदिन हरण भइरहेका छन् भन्ने बारेमा बुझ्न र नेतासँग अन्तरसम्वाद गर्ने अवसर पाएका छन् । वर्गविभाजित समाजमा मानिसको वर्ग, उसको विचार र व्यवहार पनि वर्गीय हुने भएकाले तल्ला र वास्तविक शोषित तथा उत्पीडित वर्गका जनताले देशमा चलिरहेको शासन व्यवस्थाको यथार्थता यो अभियानमार्फत् जानकारी हासिल गर्ने अवसर पाएका छन् । यस अर्थमा यो अभियानको सार्थकता रहेको छ ।
दोस्रो कुरा, दलाल तथा जनविरोधी सरकारले निकै गुलिया नारा र झुठा आश्वासनका पोकाहरु बाँडेर जसरी देश र जनताका विरुद्धमा लागि परेको छ, यसको भण्डाफोर जरुरी थियो, त्यो भण्डाफोर जनताका माझमा पुगेर गरिएको छ । यसबाट कम्युनिष्टको नाममा दलालहरुले गरिरहेका चालबाजी जनताले बुझि सकेका छन् । मेचीमहाकाली अभियान आफैमा भण्डाफोर र यथार्थताको जानकारी गराउने अभियानमा परिणत भएको छ ।
मेचीमहाकाली अभियानको अर्को सार्थकता भनेको पार्टी, पार्टी नेता र जनताका बीचमा सघन तथा गहिरो सम्बन्ध कायम हुन पुग्नु हो । जनताले आफ्ना नेताहरु चिन्नु, उनीहरुको चालचलन, व्यवहार, विचार बुझ्नु, पार्टीका नीति तथा कार्यक्रमहरु थाह पाउनु, जनस्तरबाट आफ्ना कुराहरु पनि ती नेताहरुका सामु जस्ताको तस्तै राख्नु अनि उनका कुरामा पार्टी गाँसिनु र पार्टीका नीति तथा कार्यक्रमहरुमा जनताको स्वेच्छिक र वैचारिक सहभागिता रहनु हो । यसलाई माओले जनसमुदायसँग नेतृत्व तथा पार्टीलाई जोड्ने कुरा अन्तर्गत राखेका छन् । यदि पार्टी पार्टी नेताहरु जनताबाट, जननीतिबाट र जनसम्बन्धबाट कटेर अलग भए भने उनीहरु शासक र संभ्रान्त भन्दा फरक हुँदैनन् ।
मेची महाकाली जनजागरण अभियानले जनता र नेताहरुका बीचमा गहिरो सम्बन्ध स्थापना गर्दै जानका लागि सानो मात्राको भए पनि ढोका खुला गर्ने प्रयत्न गरेको छ । यसलाई संगठन निर्माण तथा बिस्तारका माध्यमबाट विसाल र व्यापक रुप दिंदै अघि बढ्ने कार्यक्रमहरु बनाएर जानु पर्छ । यो अभियानलाई पार्टीभित्र जननीति व्यापक बनाउने अभियानका रुपमा ग्रहण गर्ने गरी लिएर जानु पर्छ । सच्चिने र सच्याउने कुरा दोहोरो हुने भएकाले माओले यसलाई ‘जनताबाट लिएर जनतालाई दिने’ भनेका छन् । माओको भाषमा ‘बुक फिलोसोफी’लाई ‘लाइफ फिलोसोफी’सँग जोड्ने विधि र प्रक्रिया नै यस्तै जनअभियानहरु हुन् । यसको स्वरुप आफैमा वृहद् अन्तरक्रियात्मक हुुन्छ ।
मेची महाकाली अभियानले वर्गीय समाजमा रहेका जनतालाई उनीहरुको वर्ग र वर्गस्वार्थअनुसार ध्ुवीकरण र कित्ताबन्दी हुन पनि सहयोग गरिरहेको छ । जनसभाहरु मार्फत् जनताका माझमा अन्तरक्रियात्मक रुपमा पस्किएका देश र जनताका कुराहरु विश्लेषण गर्ने र तिनीहरुलाई समाजमा रहेका विविध विचारहरुका माझ आफू र आफ््नो वर्गअनुकूल संश्लेषण गर्ने गरी स्वायत्तता र स्वतन्त्रतासहित उनीहरुका बीचमा बहस सिर्जना गरिएको छ । अभियान र यसले दिएका सन्देशहरुले जनताका माझमा अन्तरक्रियालाई स्वचालित जस्तो बनाएर गति दिएको छ ।
यसले ध्रुवीकरण र कित्ताबन्दीलाई क्रमशः ठोस आकार दिंदै जानेछ । मेचीमहाकाली अभियानले दिएको तरंग आफैमा देश र जनताका पक्षमा भएको र यो वर्गीय तथा वैचारिक भएकाले पनि तत्काल ठोस परिणाम नदेखिए पनि यसले निर्माण गर्ने पक्षधरता विशिष्ट खालको हुनेछ । त्यो नै अवका दिनमा चल्ने वर्गसंघर्षको वैचारिक तथा सांगठनिक आधारबन्न जाने छ ।