प्रा.डा. गोविन्द केसीको १६औं अनसनको लोकप्रियता निकै घटेको छ । घटेको यो लोकप्रियता सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेर होइन, बरु उनले १६औं अनसनका लागि तयार पारेका एजेण्डाहरुमा बेप्रसंगको द्वन्द्वकालीन मुद्दा जोडेर उठाउनाले हो । द्वन्द्वकालीन मुद्दा एक राजनीतिक मुद्दा हो । केसीले उठाएका मागहरु बढि शैक्षिक र सामाजिक रहँदासम्म देशभरका जनताले उनलाई विसाल समर्थन र सहयोग गरे पनि ।
तर जब उनको माग बढि राजनीतिक प्रेरित भई जनतालाई पनि नपच्ने हुँदै गयो, उनी क्रमशः जनताबाट अलग्गिदै गए र ओझेलमा पर्दै गए पनि । हाल उनी अनसनमै छन्, तथापि उनको समर्थनमा उनीपक्षधर मुट्ठीभर चिकित्सक, केही कांग्रेसीहरु र केही माओवादी विरोधीहरु मात्र रहन पुगेका छन् । हाल केसीको अनसनले जनसमर्थन गुमापछि सरकार लगायतका सम्बन्धित पक्षहरुले पनि उनलाई बेवास्तता गर्न थालेका छन् ।
हाल संसदीय सत्तामा दुईतिहाई बहुमत प्राप्त पार्टी र यसको सरकार छ । सत्ताधारी पार्टी नेकपाको एउटा अध्यक्षमा हिजोका माओवादी नेता पष्पकमल दाहाल पनि छन् । उनीदेखि डा. गोविन्द केसीलाई निकै औडाह भएको बुझिन्छ । दाहालले राम्रो काम गरेका छन् देश र जनताका लागि भन्ने पनि जनताका बीचमा छैन । दाहाललाई अनसनरत डा. केसीले भन्दा बढी घृणा गर्छन् जनताले । उनी त्यत्तिकै एमालेको टाँगमुनि छिर्न गएका होइनन् पनि । उनीप्रतिको जनघृणा यति बढ्दै गएको छ कि सत्ता लुछ्ने हुँडारबाहेक कोही पनि उनको पक्षमा देखिदैनन् । दाहाललाई विदेशी र विशेष गरी भारतले ‘महादलाल’ बनाएको छ ।
दाहालका वरिपरि माफिया र तस्करहरु झुम्ने गरेका छन् । तर यति बेला डा. केसीले के बुझ्न सकेनन् भने दाहाललाई अन्तर्राष्ट्रिय हेग पुर्याउने भन्ने कालो मनसायका साथ द्वन्द्वकालीन मुद्दा पनि जब अनसनको एजेण्डामा समावेश गरे, केसी पनि जनताबाट दाहालजस्तै अलग्गिन पुगे । दाहाल लगायतका व्यक्ति विशेष जो सुकै होलान्, तर जनयुद्ध आम नेपाली जनताको थियो, उनले उठाएका चिकित्सा विधेयक विरोधी जनपक्षीय कुराहरु जनयुद्धले पनि उठाएको थियो । जनयुद्ध सफलतामा पुगेन त्यो अर्को कुरा हो ।
हालको अवस्थामा पुष्पकमल दाहाल जसरी विदेशीको महादलाल बनेर भूइँ पोत्ने पोतारी बनेका छन्, त्यसै गरी द्वन्द्वकालीन मुद्दा उठाउन लगाएर अनसनरत डा. केसीलाई पनि विदेशी शक्तिहरुले पोतारी बनाउन थालेको जनताले स्पष्ट बुझेका छन् । यसै कारणले डा. केसीको लोकप्रियतामा यति ठूलो ह्रास आएको हो ।
नेपालको अन्तरविरोध, रुपमा देखिंदा जातीय, क्षेत्रीय, भाषिक, लिंगीय वा उत्पीडित होला, तर त्यो सारतः वर्गीय अन्तरविरोध नै हो । डा. केसीले जनताका नाममा चिकित्सा विधेयकका विरुद्धमा जुन जनपक्षीय कुरा उठाए, त्यसमा जनताको वर्गीय समर्थन थियो । जनताका माझमा बोल्दा वामपन्थी र समाजवाद निर्माणका कुरा गरे पनि र समृद्धि तथा विकासका नारा दिए पनि ओली दलाल सरकारका जनविरोधी सोच, एजेण्डा र कार्यक्रमका तुलनामा डा. केसीका सोच, एजेण्डा र कार्यक्रमहरु बढी नै जनपक्षीय थिए ।
तर जब केसीले द्वन्द्वकालीन मुद्दा नै आफ्नो एजेण्डा बनाएर अघि बढे, तब जनताले बिरालोलाई जति सिरकमुनि ढाकेर लुकाए पनि आखिर ‘म्याउँ’ गरिछाडेको पाए । केसी पनि विदेशीका एजेण्डाको वरिपरि फन्को मारिरहेको प्रत्यक्ष महसुस गरे । अब डा. केसी न त केही अग्रगामी र प्रगतिशील रहे, न त उनी विगतका आफ्ना समाज तथा शैक्षिक सुधारका एजेण्डाका बाहक नै बने ।
केसीप्रतिको जनविश्वास सकियो, उनी अब डा. गोविन्द केसी मात्र रहे, जसरी हिजोको ‘प्रचण्ड’ आजका पुष्पकमल दाहालमा सिमित हुन पगे । दुवै आफ्ना एजेण्डाबाट च्यूत भई केवल विदेशीको भरिया बन्न पुगे ।