काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले एक वक्तव्य जारी गरी संसारभरका सर्वहारावर्गका साथै विश्व समुदायसित अमेरिकी साम्राज्यवादको हस्तक्षेपकारी गतिविधिको विरोध र भेनेजुएलाको राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठान अनुरोध गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले आइतबार एक वक्तव्य जारी गरी यस्तो अनुरोध गरेका हुन् ।
भेनेजुएलाका निर्वाचित राष्ट्रपति निलोलस मदुरो पदमा बहाल हुँदाहुँदै संसद सदस्य हुवाँ गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गरेका र उनको त्यस कदमलाई संयुक्त राज्य अमेरिकाले समर्थन दिएको उल्लेख गर्दै वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमलाई भेनेजुएलाको राष्ट्रिय सार्वभौमिकतामाथि गरिएको नाङ्गो हस्तक्षेप तथा अतिक्रमणको रुपमा विरोध एवम् भत्र्सना गरेको छ । वक्तव्यमा भनिएको छ, “हालै भेनेजुएलामा निर्वाचित राष्ट्रपति निकोलस मदुरो आफ्नो पदमा बहाल हुँदाहुँदै संसद सदस्य हुवाँ गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गरेको र उनको त्यस कदमलाई संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिद्वारा समर्थन दिइएको कुरा सार्वजनिक भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा निर्वाचित बहालवाला राष्ट्रपति मदुरोलाई असम्बैधानिक बताउँदै हुवाँ गुएइदोको उक्त कदमलाई जुन समर्थन गरियो, त्यो उनीहरुकै लोकतन्त्रको निर्लज्ज उपहासका साथै भेनेजुएलाको राष्ट्रिय सार्वभौमिकता माथि गरिएको नाङ्गो हस्तक्षेप तथा अतिक्रमण पनि हो ।”
वक्तव्यमा अगाडि भनिएको छ,“अतः हाम्रो पार्टी भेनेजुएलामा भएको यस प्रकारको घटना र अमेरिकी साम्राज्यवादको हस्तक्षेपकारी नीतिको तीव्र विरोध तथा भत्र्सना गर्दै भेनेजुएलाको राष्ट्रिय स्वाधीनताको दृढ समर्थन गर्दछ । साथै, हाम्रो पार्टी अमेरिकी साम्राज्यवादको हस्तक्षेपकारी गतिविधिको विरोध र भेनेजुएलाको राष्ट्रिय स्वाधिनताको पक्षमा आवाज उठाउन संसारभरका सर्बहारा वर्गका साथै विश्वसमुदायसित पनि विशेष अनुरोध गर्दछ ।”
यसैबीच, काठमाडौंमा वामपन्थी बुद्धिजीवी तथा विद्यार्थीहरुले भेनेजुएलामाथि अमेरिकाले गरेको हस्तक्षेपको सडकमै उत्रिएर विरोध गरेका छन् । र, विश्वभरिबाट नै अमेरिकाको उक्त कदमको अहिले विरोध भइरहेको छ ।