काठमाडौं । अमेरिकी सिनेटभित्र ‘मेक्सिको पर्खाल’ विवादले निकै ठूलो रुप लिएको छ आधा रातसम्म लम्ब्याएर सिनेटको वैठक चलाउँदा पनि पारित हुन नसकेको मेक्सिको पर्खाल विवाद र त्यससँग जोडिएको संघीय निकाय खर्च अलपत्र परेको छ । सिनेटमा राष्ट्रपति ट्रम्पको रिपब्लिकनको पार्टीको बहुमत नहुँदा यो समस्या निम्तिएको हो ।
मेक्सिकोको सीमानामा पर्खाल बनाउनुमा अमेरिकालाई फाइदा छ वा घाटा ? यो त अमेरिकाको आप्रवासनसम्बन्धि नीति र मेक्सिकोसँग रहेको वा बनाइँदै गरेको सम्बन्धमा भर पर्नसक्छ । तर ट्रम्प भने आफूले अपनाएको संरक्षणवादी नीतिको मुख्य जोड यसैमा रहेको जस्तो गर्न थालेका छन् ।
सिनेटमा भएको यो गत्यावरोधका कारणले शुक्रवारदेखि अमेरिकी शेयर बजार निकै ओह्रालो लागेको छ । डेमोक्र्याटहरुले ट्रम्पको झोंक र दम्भले गर्दा सिनेटलाई नै बन्दी बनाउन खोजेको आरोप लगाएका छन् । उनीहरुले ट्रम्पले देश र जनताका लागि हानी हुने खालका एजेण्डाहरुमा पुनर्विचार नगरेमा देशमा भयाबह स्थितिको सिर्जना हुनसक्ने चेतावनी पनि दिएका छन् ।
यो भन्दा पनि तत्कालको महत्वपूर्ण कुरा त के भएको छ भने मेक्सिकोको पर्खालसँगै जोडिएको संघीय निकाय खर्च बजेट पनि पारित हुन सकेको छैन । यसबाट हाल संघीय व्युरोमा कार्यरत १० लाख कर्मचारीहरुको जनवरीदेखि खुवाउने तलव नै छैन । यसका साथै मेक्सिको सीमानामा पर्खाल उठाउनका लागि आवश्यक छअर्ब डलर रकमको बजेट माग पनि पारित हुन सकेको छैन ।