काठमाडौं । बैसाखमा राष्ट्रिय भेला गर्ने निर्णयसहित नेवा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पूर्ण वैठक मंगलवार काठमाडौंमा सम्पन्न भएको छ । वैठक सुरुभए लगत्तै ध्रुवीकरणको प्रक्रिया अन्तरगत नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालमा आबद्ध हुनु भएका श्री शिव श्रेष्ठ, नरेन्द्रमान श्रेष्ठ र दशराज शाक्यलाई मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले हार्दिक स्वागत अभिवादन गरेका थिए । स्वागतपछि श्रेष्ठले आफ्नो परिचय र नेवाः मोर्चामा आबद्ध हुनुका कारणसहित संक्षिप्त तर भावोत्तेजक मन्तव्य राखेका थिए ।

हार्दिक शुभकामना !

यही भावभूमिमा नेवाः मुक्ति आन्दोलन र वर्गीय आन्दोलनका क्रममा वेपत्ता भएका योद्धा साथीहरुलाई सम्मान प्रकट गर्दै तथा उक्त आन्दोलनमा शहादत प्राप्त गर्नु हुने महान् शहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै बैठक अघि बढाइएको थियो । वैठकमा मोर्चाका अध्यक्षले गत के.स.को बैठकदेखि अहिलेसम्मको संक्षिप्त रुपमा रिपोर्ट पेस गरेपछि बैठकमा उपस्थित केन्द्रीय समिति सदस्यहरुबाट अनुभुतिसहितका आआफ्नो कार्यक्षत्रको संक्षिप्त रिपोर्ट पेस गरेका थिए । मोर्चा अध्यक्ष तथा केन्द्रीय सदस्यहरुले पेश गरेको रिपोर्टको सार भनेको मोर्चाको सांगठनिक र सङ्घर्षको गतिविधि के गरी र कसो गरी बढाउनु पर्ने भन्नेमा केन्द्रित रहेको थियो ।

रिपोेर्टिङपछि नेवाः मोर्चाका अध्यक्षबाट बैठकमा ‘तात्कालिक राजनैतिक तथा सांगठनिक प्रस्ताव᾽ पेस गरिएको थियो । उक्त प्रस्तावमाथि उपस्थित सबै सहभागीहरुबीच व्यापक छलफलका क्रममा आएका सुझावहरुसहित प्रस्ताव समृद्ध गर्ने एकमतसहित प्रस्ताव पारित गरिएको थियो । पारित प्रस्तावमा ओली नेतृत्वको सरकार बदनाम र असफल भएको; मुलुकमा वर्गीय, जातीय, लिङ्गीय, क्षेत्रीय र सामुदायिक उत्पीडन यथावत कायम रहेको; भारतीय विस्तारवादका कारणले आन्तरिक राष्ट्रियता गंभीर संकटमा रहेको; वर्तमान संविधान–०७२ र ब्राह्मणवादी ओली नेतृत्वको सरकारका कारण आन्तरिक राष्ट्रियता पनि गंभीर समस्यामा रहेको निष्कर्ष निकालिएको छ । त्यसै गरी आदिवासी नेवाः जाति सबैभन्दा ठूलो जातीय उत्पीडनमा परेको भन्दै यसले कहिं नेवाः जाति लोप हुने अवस्थामा त पुग्ने होइन भन्ने गम्भीर चिन्ता पनि व्यक्त गरिएको छ । वर्तमान ओली नेतृत्वको सरकारमा आकाशिंदो महंगी, भ्रष्टाचार, तस्करी, महिला हिंसा, बलात्कार र हत्या जस्ता कुराहरु बढ्न गई संघीयता र कम्युनिष्ट पार्टीलाई बदनाम गराउने खेल चलिरहेको ठहर गरिएको छ ।

अन्तर्राष्ट्रिय रुपमा रुस–चीन गठबन्धन, युरोपीयन युनियन र अमेरिका गरी विश्व मुलतः तीन ध्रुवमा विभाजित रहेको विशलेषण गर्दै चीन र अमेरिकाको व्यापार युद्धले विश्वमा तनाव बढ्दै गएको बताइएको छ । यसले समग्रमा हिजोको स्थितिमा परिवर्तन आएको र क्रान्तिकारीहरुका लागि परिस्थिति अनुकूल बन्दै गएको पनि बताइएको छ । आदिवासी, जनजाति र नेवाः जातिको आन्दोलन क्रान्तिकारी शक्ति शक्तिशाली नभएको कारणले गर्दा केही सुस्ताएको बेलामा पारित प्रस्तावमा नेवाः आन्दोलनको सहि कार्यदिशा, नेवाः आन्दोलनका आधारहरु र नेवाः आन्दोलनका मुद्दाहरुलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

प्रस्तावमा एकता कुराहरुलाई कायमै राखी अहिले ध्रुवीकरणलाई प्रधान बनाएर आवश्यकता अनुसार संयुक्त मोर्चा र कार्यगत एकता गरी संघर्ष उठान गर्ने कुराहरुको उल्लेखसहित आगामी काममा वैचारिक, राजनैतिक काम, संगठनात्म काम, संघर्ष र प्रचारप्रसार आदिलाई सशक्त रुपमा अघि बढाउने कुरामा जोड दिइएको छ ।

वैठकले सांगठनिक रुपमा पनि केही महत्वपूर्ण निर्णयहरु लिएको छ । नेवाः मोर्चाका महासचिव श्री सुरेश श्रेष्ठलाई उपाध्यक्षको र ध्रुवीकरण प्रक्रियामा नेवाः मोर्चामा आबद्ध हुनु भएका श्री शिव श्रेष्ठलाई मोर्चाको महासचिवको जिम्मेवारी दिइएको छ । मोर्चा ध्रुवीकरणसँगै नेवाः मोर्चाको राष्ट्रिय भेला ०७६ बैशाख अन्तिम हप्तामा गर्ने निर्णय गरिएकाले त्यस अगावै स्थानीय तह, जिल्ला र प्रदेशको भेला/सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको पनि बताइएको छ ।

मोर्चाले संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ जसमा ज्ञापनपत्र बुझाउने, व्यापक जनपरिचालन गर्ने र आमहडतालसम्म जाने निर्णय गरिएको छ । वैठकपछि प्रेषित विज्ञप्तिमा मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ र महासचिव शिव श्रेष्ठको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर