काठमाडौं । भारतमा लोकसभा निर्वाचनको पूर्वसन्ध्यमा भएको निर्वाचनमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले अप्रत्याशित हार बेहोरेको छ । पाँच राज्यमा भएको निर्वाचन परिणामले भाजपा सकिइँदै गएको देखाएको छ । निकै हल्लाखल्ला र प्रचारबाजीमा लागेको मोदी सरकार र यसको पार्टी जनतामा भने नांगिइँदै गएको प्रतित हुन थालेको भारतीय जनताले खुले बताउन थालेको छन् ।
छत्तीसगढ र राजस्थानमा भएको भाजपाको सरकारका ठाउँमा अब कांग्रेस आईले सरकार निर्माण गर्ने भएको छ । मध्य प्रदेशमा पनि कांग्रेस अगाडि नै देखिएको छ । छत्तीसगढ र राजस्थानमा भाजपाले १५ वर्षदेखि निरन्तर सरकार बनाउँदै आएको थियोे । तर यसपालाको निर्वाचनबाट उसले हात धुनु परेको छ । पाँच वर्षदेखि हालिमुहाली गर्दै आएको राजस्थान पनि यस पालादेखि गुमेको छ ।
यसले अब चार महनापछि हुन गइरहेको विधानसभाको निर्वाचनमा मोदीको पार्टी भारतीय जनता पार्टी बढारिन सक्ने पूर्व संकेत गरेको छ । सन् २०१४ देखि लगातार ओह्रालो लागिरहेको कांग्रेस आई अब उकालो लाग्न थालेको समाचार भारतभर संप्रेषण भएको छ । यसो हुनुको पछाडीको कारणहरुमा मोदीको अति हिन्दुवादी सोच र चरम दक्षिणपन्थीहरुको देशव्यापी अपाच्य हर्कतले काम गरेको छ । गैर हिन्दूमाथि गरिइँदै आएको निरन्तर बर्बरता पनि यसको अर्को कारण बन्न पुगेको छ ।
तेस्रो कारणमा कर्मचारी तथा प्रहरीहरुमाथि हिन्दूवादीहरुको दबाब र उत्पीडनले पनि काम गरेको छ । यसका साथै छिमेकी देशहरुसँग मोदी सरकारले गर्दै आएको द्विपक्षीय वा त्रिपक्षीय सम्बन्धले पनि यसमा ठूलो प्रभाव पारेको छ । नेपालमा भारतको हस्क्षेपलाई भारतीय विस्तारवादी हस्तक्षेप भनिए झैं भारतमाथि अमेरिकाले गर्दै आएको हस्तक्षेपलाई साम्राज्यवादी हस्तक्षेपका रुपमा भारतीयहरुले निन्दा र भर्त्सना गर्ने गरेका छन् । मोदी सरकारले अमेरिकी हस्क्षेपलाई प्राविधिक तथा हतियार खरिदको स्तरसम्म पनि विकास गरेको भारतीय जनतालाई चित्त बुझिरहेको छैन ।
प्रजातान्त्रीकरण हुनु पर्ने आजको जमानामा उल्टै धार्मिककरण हुन थालेपछि अब भारतको गति अगतिमा परिणत हुन जाने भारतीय वृद्धिजीवीहरुका बीचमा ठूलो बहस नै चलेको छ । त्यसैले ‘अति सर्वत्र बर्जयेते’ भने झैं भाजपाका दिन गन्तीहरु सुरु भएकै भारतीय जनताको ठहर देखिएको छ ।