काठमाडौं । चाडपर्वका बेला पानीले छल्छली नुहाएर दसैं मान्ने काठमाडौंवासीहरुको चाहना यो वर्ष पनि पूरा हुन पाएन । दसैंको अवसरमा मेलम्चीको पानीले नुहाइधुवाइ गरेर परिकार बनाई खान पाउने आशा पालेका काठमाडौंवासीहरु मेलम्चीको पानी पिउन र प्रयोग गर्न तिहारपछिको समय कुर्नुपर्ने भएको छ ।
कतिपयले त मेलम्ची काठमाडौंको काकाकूल नै भएको पनि टिप्पणी गर्ने गरेका छन् । कृष्णप्रसाद भट्टराईको पालामा बाँडिएको सपना गिरिजाप्रसादको देहान्तका केही वर्षहरु पछि नै साकार हुने भएको छ । हाल जीवित प्रधानमन्त्रीहरु पनि आधा दर्जनभन्दा बढी भैसकेका छन् । तर मेलम्ची भने आफ्नै गतिमा हिंडिराखेको छ ।
मेलम्चीको सुरुङ काठमाडौंको सुन्दरी जलमा खसाल्ने गरी लगभग पूरा गरिसकिएको छ । कतै रहेका सानातिना कामहरुबाहेक सबै कामहरु सकिइसकेका छन् । तर ठेकेदार कम्पनी र आयेजनाका बीचमा करीब डेढ अर्ब हिसाबकिताब बाँकी रहेको पनि बताइएको छ । यसले पनि मेलम्ची खानेपानीमा तनाब बढाएको भनिएको छ ।
तर ठेकेदार कम्पनी तथा आयोजना दुवैले नोभम्बरको अन्त्यसम्म मेलम्चीको पानी डाइभर्सन गरी सन्दरी जलमा खसालिने सहमति भएको बताइएका छन् ।