काठमाडौं । शुक्रबार साँझ राजधानी सहर काठमाडौंको राष्ट्रियसभा गृहमा इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘जीवन शर्मा संयुक्त सांस्कृतिक साँझ’ कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । लामो समयपछि रक्तिम सांस्कृतिक परिवार, सामना सांस्कृतिक परिवार र हास्य कलाकार सुबोध गौम एउटै मञ्चमा त्यो पनि साझा कार्यक्रम लिएर देखा परेका थिए ।
कार्यक्रममा प्रस्तुतिका हिसाबले जनवादी गायक जीवन शर्माको एकल प्रस्तुती रहेको थियो तर बीचबीचमा सामनाका नृत्यहरु तथा सुवोध गौतमको प्रस्तुति पस्किइएका थिए । संयुक्त सांस्कृतिक साँझ निकै रोचक र सहभागिता पनि निकै सघन रहेको थियो । सहभागिताका हिसाबले मञ्च र फ्लोर एकै साथ गाइरहेको र नाचिरहेको थियो ।
एकल प्रस्तुति नै भए पनि सांस्कृतिक साझमा प्रयोग गरिएका विभन्न रङका प्रकाशहरु जस्तै गीतमा उठाइएका विषयवस्तुहरुमा रहेका विविधताहरुले प्रस्तुति निकै ग्राह्य, सरल र आनन्दित बनाएको थियो । सामनाका नृत्यहरुसँगै दर्शकहरु नाच्न थाल्दथे भने जीवनका स्वरहरुसँगै गाउन र स्वर मिलाउन थाल्दथे ।
जीवन शर्माको स्टेज प्रवेशसँगै हौसिएका दर्शकहरुले ‘रातो लाल्टिन’ को गीतको बोलमा प्रदर्शन गरिएको नृत्यपछि ‘आकाशमा चट्याङ पर्दा’ र ‘सिमली छायाँ’ जस्ता गीतहरुमा हल नै जुरुक्क उठाउलान् जस्तो गरी एकाकार भएर मिसिन पुगेका थिए ।
उपस्थित नेताहरुकै स्वर निकालेर हास्य कलाकार सुबोध गौतमले गरेको क्यारिकेचर यो सांस्कृतिक साँझको अर्को भिन्न आकर्षक थियो । आफू स्वयम् भौतिक रुपमा उपस्थित हुँदा आफ्नै स्वर मञ्चमा गुञ्जिनु र दर्शकहरुले बसेको स्थानबाट उठीउठी ती नेताहरुलाई हेर्नु आफैमा निकै रमाइलो स्वाद थियो ।
संयुक्त सांस्कृतिक साँझका आयोजक इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले सांस्कृतिक साँझका नायक जीवन शर्माका गीत वैचारिक चेत, जनवादी मूल्य र आत्मोत्सर्गको उच्च भावनाले भरिएको बताएका थिए । जीवन शर्मा आफैले पनि निरन्तर क्रान्तिको पक्षमा आफ्ना गीतहरु भएको बताएका थिए ।
उक्त संस्कृतिक कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेता रामसिंह श्रीस, नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेकपा नेता झलनाथ खनाल, गोकर्ण विष्ट तथा मन्त्री बिना मगरको अतिथिको रुपमा उपस्थिति रहेको थियो ।