काठमाडौं । संरक्षणवादी नीति लिएको अमेरिका ट्रम्पको पालादेखि आफ्ना प्रतिबद्धता तथा निर्णहरुबाट एकपछि अर्को निहुँ झिक्दै बाहिरिने ध्याउन्नमा लागेको छ । हालै मात्र उसले भियनाको अभिसन्धिबाट बाहिरिने र संयुक्त राष्ट्रसंघको अन्तरर्राष्ट्रिय न्यायालय (आईसीजे) पनि छोड्ने घोषण गर्दै हिंडेको छ । यसबाट अमेरिका र अमेरिकी ध्रुव संयुक्त राष्ट्रसंघबाट टाढा हुँदै जान थालेको र चिनियाँ ध्रुव संयुक्त राष्ट्र संघभित्र पकड जमाउँदै जान थालेको देखिएको छ । इरान हाल चिनियाँ ध्रुवमा रहेको छ ।
इरानमा अमेरिकाले एकतर्फी र एकलौटी रुपमा लगाएको नाकाबन्दीको विरोधमा इरान अन्तर्राष्ट्रिय अदालतमा पुगेपछि उक्त अदालतले इरानको पक्षमा फैसला सुनाएको छ । अदालतले अमेरिकाले औषधी, खाद्यान्न तथा लत्ताकपडा जस्ता आधारभूत र अत्यावश्यक सामानहरु पुर्याउन र मानवीय सहयोग गर्नुपर्ने निर्देशन दिएको छ ।
यो निर्देशनपछि इरानको अन्तर्राष्ट्रिय रुपमा जीत भएको छ । अमेरिकाको हार भएको छ । यसलाई लिएर अमेरिकाले आफू भियना अभिसन्धिबाट बाहिरिने र आईसीजेको निर्णय अवज्ञा गर्ने सुनाउँदै हिंडेको छ । अमेरिकाले आईसीजेको निर्णय बाध्यकारी नभएको पनि खुल्लमखुल्ला भन्ने गरिरहेको छ ।
अन्तर्राष्ट्रिय न्यायालयले यस्ता महत्वपूर्ण निर्णय त गर्छ र गर्दै पनि आएको पनि छ । तर उसले गरेका निर्णयहरुलाई बाध्यकारी रुपमा कार्यान्वयन गराउनका लागि ऊसँग अन्तर्राष्ट्रिय सेना छैन ।