
विश्वको अनुसरण गर्दै नेपालमा पनि ज्येष्ठ नागरिक दिवस मनाइएको छ । ज्येष्ठ नागरिक दिवसलाई विभिन्न कोणहरुबाट लिने गरिएको पनि यो दिवसका अवसरमा पाइएको छ ।
युरोपतिर ‘ओल्ड पर्सन’का रुपमा लिने गरिएको छ र सरकारले नै आश्रमको व्यवस्था गर्ने तथा वृद्धभत्ता पनि दिने गरेको पाइन्छ । त्यहाँको संस्कारअनुसार यो ठीकै पनि हो किनकि त्यहाँ पैत्रिक सम्पत्ति पनि हन्तान्तरण गरिदैन र हुन पनि हुँदैन । आफैले कमायो, खायो ।
तर नेपालमा केही पूर्विया संस्कार, संस्कति र आफ्नैपनहरु छन् । नेपालमा ‘पितृदेवो भवः र मातृदेवो भवः’को प्रचलन छ । अर्थात् बुवाआमालाई देवतासरह सम्मान तथा आदरसहित पालनपोषण गर्ने । तर विदेशी डलरको आशामा आफ्नै वृद्ध बुवाआमालाई डलर कमाउन खोलिएका संस्थाहरुले घरबाट छुटाएर ल्याई संख्या देखाएर विदेशीसँग डलरको माग गर्ने र केहीहरुले बूढाबूढी पाल्न गाह्रो भएका नाममा बृद्धाश्रममा लगेर छोडिदिने चलनले समाजमा निकै नराम्रो असर पारेको छ ।
नेपालमा ज्येष्ठ नागरिकको सम्मान गरिरहँदा हामीले घरघरमा गएर गर्ने गर्नुपर्छ । ज्येष्ठ नागरिकको सम्मान भनेको उनीहरुको आफ्नै घर र कमाएको सम्पत्तिमाथि अधिकारको पकड राखिरहनु हो ।
तर विडम्वना ! नेपालमा यस्तो संस्कार लोप हुँदै गइरहेको छ । अहिले ज्येष्ठ वा बृद्ध भन्ने बित्तिकै वृद्धाश्रमको कल्पना गर्नु, कुरा गर्नु र उनीहरुलाई त्यहीं लगेर थान्को लगाउनु भन्ने कोणबाट सोचिन थालिएको छ । यो ज्येष्ठ नागरिक वा वृद्धवृद्धामाथिको सरासर अन्याय हो ।
नेपालीहरुले पशुपति लगायतका विभिन्न वृद्धाश्रमहरुमा बसेका वृद्धवृद्धाहरुलाई उनीहरुकै घरमा अधिकारसहित ससम्मान पुनस्र्थापित गर्नु पर्दछ । परिवारबाट हुने र गरिने अन्यायका विरुद्ध सिंगो समाज उठिबस्नु पर्दछ । वृद्धवृद्धाको नाममा भइरहेको डलर तथा लूटको खेती बन्द गरिइनु पर्छ ।





























