
राष्ट्रिय जनता पार्टीकी सांसद तथा महिला नेतृ चन्दा चौधरीले प्रदेश नं. ४ का मुख्यमन्त्री तथा एमाले नेता पृथ्वीसुब्बा गुरुङको राजीनामा माग गरेकी छन् । गुरुङले पोखरामा महिला यौनकर्मीहरुका लागि ‘रेडलाइट एरिया’ घोषणा गरिदिने र स्थानको व्यवस्था गरिदिने भनेर प्रदेश सभाको मिटिङमै कुरा उठाएका थिए ।
उनले बाहिर आएर प्रचारबाजी गर्दै यौनधन्दा पोखरामा निकै फस्टाएको र यसलाई नियन्त्रण तथा नियमन गरेर सरकारको मातहतमा ल्याउनु जरुरी छ पनि भनेका थिए । उनले यौन व्यवसायलाई व्यवस्थित गरियो भने कर उठाउन पाइने कुरा पनि राखेका थिए । तर आजसम्म उनका यी अभिव्यक्तिबारे चौधरी बाहेक कसैले पनि प्रतिक्रिया दिएका थिएनन्।
गुरुङले यस्ताखाले कुरा गर्दैगर्दा देशभर महिला हिंसाका घटनाहरु दिन गुणा र रातमा चौगुणा बढिरहेका थिए । महिलाहरु देशमा रोजगारी नपाएर अवैध बाटोबाट विदेशमा जान लाम लागिरहेका थिए । लाहुरे संस्कृतिमा हुर्केका गुरुङले महिलालाई यौन व्यवसायमा संलग्न गराएपछि व्यक्तिलाई रोजगारी पनि भयो र राज्यलाई कर पनि आउने भयो भनेका थिए ।
तर गुरुङले कुन समय सन्दर्भमा के कुरा गरिनु पर्छ भन्ने हेक्का नै राखेका थिएनन् । स्वभावमा एकलकाँटे र जिद्धिवाल रहेका गुरुङ अब विस्तारै विवादका तानिएका छन् । संरक्षणवादी अर्थनीतिका पक्षधर गुरुङ जे बेचे पनि बेच तर पैसा कमाउ भन्ने पक्षमा देखिन्छन् । यो एमालेको आर्थिक तथा चारित्रिक लाइन पनि हो । एमाले सरकारले अहिले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नाममा लाखौं पुर्ख्यौली सालका रुखहरु काटेर इण्डियालाई बेच्ने निर्णय गरेको छ ।
पोखरामा महिला यौनकर्मीका लागि रेडलाइट एरिया बनाउने कुराले महिला हिंसा झन् बढाउने भन्दै चन्दा चौधरीले यसपछि महिलालाई हेर्ने दृष्टिकोण कस्तो बन्छ भनी गुरुङपक्षधरहरुलाई प्रश्न गरेकी छन् । उनले यसले थप हिंसा बढाउने भन्दै यस्तोखाले महिला अपमानित तथा प्रताडित गर्ने अभद्र र अपशव्द बोलेका र तदनुरुप योजना बनाएका मुख्यमन्त्री गुरुङले राजीनामा दिनुपर्ने माग गरेकी छन् । एक प्रमुख जनप्रतिनिधिको हैसियतमा रहेका गुरुङले नैतिकताको आधारमा विश्राम लिनुपर्ने उनको जोडदार माग छ । उनका अनुसार यौन व्यवसाय ‘लिगलाइज’ गर्ने, कर लिने र त्यसैबाट देशमा समृद्धि ल्याएर सुखी नेपाली बनाउने सपना देख्नु मुख्यमन्त्रीको फोहरी र महिला विरोधी आचरण तथा सोचको उपज पनि होे ।
लुकिछिपी यौन व्यवसाय त भइ नै राखेको छ त भन्ने जिज्ञासाको जवाफमा चौधरीको थप कथन छ– महिलालाई यौनकर्मीका रुपमा लिगलाइज गर्ने गुरुङको सोचले नेपालमा युवाहरुका लागि लागू औषध स्म्याक, हिरोइन, गाँजा, चरेश र कोकिन जस्ता पदार्थहरुको व्यवसाय पनि लुकीलुकी भइरहेको छ, गुरुङले यसलाई पनि लिगलाइज गरुन् । यो संभव छ ?






























