‘जनवादी क्रान्तिका भगौडाहरु एमालेमा मिसिन गएपछि देशको संकट झन् गुणात्मक रुपमा बढेर गएको छ’ –मोहन वैद्य ‘किरण’

‘जनवादी क्रान्तिका भगौडाहरु एमालेमा मिसिन गएपछि देशको संकट झन् गुणात्मक रुपमा बढेर गएको छ’ –मोहन वैद्य ‘किरण’

काठमाडौं । नयाँ जनवादी गणतन्त्र स्थापनाका लागि घनिभूत रुपमा दश वर्षसम्म जनयुद्ध लडे पनि घुमिफिरी संसदीय व्यवस्थाको स्थापना भएको भन्दै नयाँ जनवादी क्रान्तिका भगौडाहरु यो वा त्यो रुपमा जनवादी क्रान्ति सम्पन्न भइसकेको भनेर एमालेमा मिसिन गएपछि देशको संकट झन् चुलिन गएको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघको काठमाडौं अनाम नगर घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको हलमा आयोजित विशेष राष्ट्रिय भेलालाई प्रशिक्षण दिने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

भ्रमको खेती गर्दै आएको एमालेमा त्यही भ्रमको थप खेती गर्ने नयाँ भ्रमकारी तात्कालीन माओवादी (केन्द्र) थपिन गएपछि संख्यामा बढोत्तरी हुँदा जनतामाथि पर्न गएको वैचारिक भ्रम ती दुई एक भएपछि साफ हुन गएको कुरा महासचिव किरणले चोटिलो रुपमा खुलासा गरेका छन् । किरणले क्रान्ति सम्पन्न भएको अवस्थामा राज्यव्यवस्था नै एक वर्गबाट अर्को वर्गमा हस्तान्तरण हुन पुग्छ भन्दै नेपालमा त्यसो नभएको बताएका छन् ।

के हुन सक्छन् नेपालमा नयाँ जनवादी क्रान्तिका आधारहरु भन्ने कुरामाथि प्रकाश पार्ने क्रममा महासचिव किरणले राष्ट्रियताको प्रश्न पहिलो हुने बताएका छन् । उनका अनुसार भारतले सीमा मिचिरहेको, पिलर सारिरहेको, हेप्ने र दम्काउने गरिरहेको र मिचाहा प्रवृत्ति कामयमै राखिएकाले जनवादी क्रान्तिका लागि राष्ट्रिय स्वाधीनताको प्रश्न पहिलो आधार हुनगएको बताएका छन् ।

देशको समृद्धि र विकासका लागि प्राकृतिक स्रोत साधन, मानवीय स्रोतसाधन, प्रविधिमैत्री कार्यक्रम, जनताको चासो, सहयोग र सहभागिता आदिका साथै लगानीका लागि आवश्यक बजेट नभएको कुरामाथि प्रकाश पार्दै महासचिव किरणले नेपालमा हाल रहेका प्रकृतिक स्रोत साधनहरु बेच्दै गरेको, नदीहरु बेच्दै गरेको, सीमा अतिक्रमणमा चूप रही माटो बेचेको र देशको ठूलो जनशक्ति सिंगो युवा पुस्ता विदेशिएको र आर्थिक टाट पल्टेको अवस्थामा देशको विकास र समृद्धि हुन नसक्ने बताएका छन् ।

लोकतन्त्र भनेको समानता र समावेशिता पनि भएको भन्दै महासचिव किरणले देश राजनीतिक रुपमा न त समावेशिता छ, न त सापेक्षिक समानता नै भन्दै आर्थिक रुपमा देश पूरै व्यापार घाटा छ, सबै निकासीबाट धानिएको छ र पैठारी शुन्य जस्तै भएको दावा गर्दै जनवादी क्रान्तिका भगौडाहरु एमालेमा मिसिन गएपछि संकट झन् गुणात्मक रुपमा बढेर गएको बताए ।

हामीले उज्यालो बत्ती बाल्नु पर्छ, त्यो उज्यालो देखेर देश र जनताको माया गर्नेहरु सबै हामीसँग गोलबन्द हुने छन् भन्दै किरणले प्रचार प्रसारको आफ्नो अभियानलाई दृढतापूर्वक अघि बढाउन आह्वान गरेका थिए ।