समाजमा बलात्कार बढोत्तरी किन विषयक शीर्षकमा अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न

समाजमा बलात्कार बढोत्तरी किन विषयक शीर्षकमा अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । ‘समाजमा बलात्कार बढोत्तरी किन’ विषयक शीर्षकमा एक अन्तरक्रिया कार्यक्रम बिहीवार बागबजारस्थित होटल हार्दिकमा भव्यताकासाथ सम्पन्न भएको छ । पछिल्लो समयमा आउँदा एकदुई महिनाको अन्तरालमा देशभर बलात्कार र बलात्कारपछि हत्याको घटनामा अनायास बृद्धि भएपछि महिला संगठनहरुले संयुक्त रुपमा देशको राजधानी सहर काठमाडौंमा यस्तो खाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका हुन् ।

आयोजित कार्यक्रमको सुरुमा पूर्व मन्त्री तथा महिला नेता हिसिला यमीेले संयुक्त महिला संघर्ष समितिको तर्फबाट तयार पारिएको कार्यपत्र बाचन गरेर सुनाएकी थिइन् । ‘समाजमा बजात्कारको बढोत्तरी किन ?’ शीर्षकमा तयार पािरएको उक्त कार्यपत्रमा विषयप्रवेश, वैचारिक प्रश्न, राजनीतिक प्रश्न, सामाजिक प्रश्न, आर्थिक प्रश्न, सांस्कृतिक प्रश्न, मनोवैज्ञानिक प्रश्नहरु उठाउँदै र विश्लेषण गर्दै त्यसका समाधानका दीर्घकालीन र तात्कालीन उपायहरुको व्याख्या पनि गरिएको छ । विषयको उठान गर्दै महिलाका लागि नेपालका घर, विद्यालय, सार्वजनिक स्थल, वनपात, मेला, घाँस, कार्यालयहरु आदि सबै ठाउँ महिला हिंसाबाट अछुतो रहन नसकेको बताइएको छ । पिछडिएको सामाजिक संस्कृति र आयातित उपभोक्ता संस्कार, विचार र संस्कृतिको अन्तर घुलनले वैचारिक रुपमा नेपाली महिला जीवनमा लगातार प्रहार गरिरहेको कुरामाथि प्रकाश पार्दै राजनीतिक रुपमा महिलाका कुरा, हक तथा अधिकारहरु संस्थागत हुन नसकेका र आर्थिक तथा सामाजिक सांस्कृतिक रुपमा महिलालाई अझैं पनि दोस्रो दर्जाका रुपमा हेरिने गरेको यथार्थतालाई कार्यपत्रमा प्रकाश पारिएको छ ।

कार्यपत्र प्रस्तुत भइसकेपछि त्यसमाथि आफ्ना मन्तव्य राख्ने क्रममा पूर्वमन्त्री तथा सांसद रेखा शर्माले वर्तमानमा सापेक्षतामा महिला मैत्री कानुन बनेको तर त्यसलाई सही कार्यान्वयनमा लैजानुपर्ने कुरामा जोड दिएकी थिइन् । त्यसैगरी कञ्चनपुर महिला संघर्ष समितिकी अध्यक्ष माया नेगीले कञ्चनपुरकी एक अबोध बालिकाको बलात्कार पश्चात् गरिएको विभत्स हत्याका विरुद्धमा स्थानीयहरु सडकमा हप्तौंसम्म उत्रँदा पनि सरकारले वेवास्ता गरेको दुखेसो आक्रोशर्पूा तरिकाले पोखेर सबेैलाई झस्काएकी थिइन । मन्तव्य राख्ने क्रममा प्रहरी इन्स्पेक्टर कोपिला चुडालले अपराधीको खोजी पनि गरिने र दण्ड पनि दिलाएर छाडिने तर भावनाले भन्दा पनि बढी विवेक र कानुनले चल्नुपर्ने कुरामा जोड दिएकी थिइन् ।

त्यसै गरी अधिवक्ता ठाकुर वास्ताकोटीले हालको कानुनले पीडितको भनाइ र स्वास्थ्य परीक्षणलाई प्राथमिक आधार मानिएकाले मिलेमतो र मेलमिलापका नाममा दोषीलाई छूट दिने ठाउँ नै नराखेको बताए । सांसद तथा नेपाली कांग्रेसकी नेता पुष्पा भुसालले वर्तमान राज्यसत्ताको विभेदको डरलाग्दो घटना भनेको महिला हिंसा नै भएको ठाकुवा गरेकी थिइन् । तयसै गरी लक्ष्मी भट्टराईले यति ठूला महिला हिंसाका घटना हुँदा पनि संसदमा संकल्प प्रस्तावसम्म नलगिएको कुराप्रति खेद व्यक्त गर्दै यो वर्गीय कुरासँग पनि जोडिएको बताइन् । बोल्ने क्रममा अर्का वक्ता प्रमिला भण्डारीले हाल घटिरहेका बलात्कार तथा बलात्कारपछि हत्याका घटनाहरु समाज सचेत भएकै कारणले बाहिर आएको बताइन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले बलात्कार आफैमा एक जघन्य अपराध हो, त्यसमा पनि अझ हत्या गरिनु त अक्षम्य अपराध भएको भन्दै यो कुा राज्यसत्तासँग प्रत्यक्ष जोडिएको कुरामा जोड दिए । महिला मुक्तिका कुराहरु प्राप्त नहुँदासम्म पुरुषप्रधान समाजमा यस्ता विकृति र विसंगतिहरु रहिरहने भन्दै उनले महिला संघर्षको अभियानलाई मुक्ति संघर्षसँग जोड्नु पर्ने कुरामा जोड दिए ।

नेपाल पत्रकार महासंघकी सचिव लक्ष्मी पुनले सामाजिक घरव्यवहारबाटै छोरीलाई दोस्रो दर्जाको नागरिक मानिने भएकाले विभेद त्यहीबाट सुरुहुने बताइन् । वक्ता निभा शाहले प्रश्न गरिन्– महिला आठ हजार वर्षदेखि बलात्कृत हुँदै आए तापनि महिला आफैले महिलाविरुद्ध हुने विभेदको विरोध कति गर्यौं ? उनले यदि महिलालाई अझैं पनि यो विभेदमा राखिने हो भने महिलाले के अब पुरुषबाट ‘गर्भ कर’ लिनुपर्ने हो भनी गम्भीर प्रश्न उठाइन् । सांसद दुर्गा पौडेलले वर्ग रहँदासम्म महिला विभेद रहिरहने भएकाले र वर्गीय लडाइँ दूरगामी रहेकाले हाललाई प्रगतिशील र सुधारका कुराहरुलाई स्थापित र कार्यान्वयन गर्दै जानुपर्ने कुरामा जोड दिइन् ।

नेकपा मालेका नेता कुमार बेलबासेले हालको आयातित पुँजीवादले सोंच, चिन्तन र संस्कारमा उपभोक्तावादी बनाएकाले बलात्कारका घटना बढिरहेको कुरामा जोड दिए ।

टिप्पणीकर्ता मञ्जु गुरुङले नेपालमा, आफ्नै देशमा, भएका घटनामा ढिलै भए पनि न्यायको पहुँच त छ भन्दै वैदेशिक रोजगारमा गएका महिलाका लागि त त्यो पनि नभएको कुरा खुलस्त गरिन् । उनले सरकारले महिला मैत्री वैदेशिक रोजगारको सम्झौता गरी महिलाको कानुनी पहुँचलाई संबोधन गरिनु पर्ने कुरामा जोड दिइन् ।

सहभागीका तर्फबाट तिमिला यमी र बन्दना भण्डारीले विद्यतीय सञ्चार र त्यसमा पनि युटुबले बलात्कारको वातावरण तयार पारेको भन्दै अफिस तथा घरानीयाँका घरमा पनि बलात्कारका घटनाहरु घट्ने गरेको बताए ।

उक्त अन्तरक्रिया कार्यक्रममा जनक चालिसेको उद््घोषण, मनु हुमागाइँको अध्यक्षता र बन्धु चन्दको स्वागत भाषण रहेको थियो । आयोजित कार्यक्रममा महिला नेताहरु, पार्टीका नेताहरु, अधिकारकर्मीहरु, स्वतन्त्र विश्लेषकहरु तथा सरकारका सम्बन्धित सरोकारवाला तथा विभागहरुका प्रतिनिधिहहरुका साथै नेपाल प्रहरीबाट पनि उपस्थिति रहेको थियो ।