यथास्थितिवादी तथा पश्चगामी राज्यसत्ताका साथै संसदीय व्यवस्थामा पतन हुन पुगेको कथित कम्युनिष्ट नामधारी नेकपाको सत्तारोहणसँगै मुलुकमा एक किसिमको विभ्रमपूर्ण तथा छलछामयुक्त परिवेश निर्माण भएको छ । कुनै पनि रुपमा वाम र कम्युनिष्ट हुन नसक्ने दक्षिणपन्थी संशोधनवादी तत्वले नेपाली जनतालाई ठूलो एवम् दीर्घकालीन भ्रम दिन अनेकन प्रयत्न गर्दै आएको छ । वैचारिक एवम् राजनीतिक स्रुपमै स्खलित हुन पुगेको र साम्राज्यवाद एवम् विस्तारवाद परस्त रहेको पूर्व एमाले तथा पूर्व माकेको सम्मिलन आफैमा कलंकित एवम् दुर्गन्धित रहेको छ । भारतप्रति नतमस्तक हुँदै आएको वर्तमान ओली सरकारका गतिविधि राष्ट्रियता विरोधी एवम् जनघाती रहेका छन् भने नेपालका उत्पीडित तथा श्रमिकवर्गको हित विपरीत गरिने काम कारबाहीले कथित वाम सरकार लोकतन्त्र विरोधी समेत रहेको कुराको पुष्टि गर्दछन् । ओली प्रचण्डको कथित वाम सरकारले नेपाली सामाजिक जीवनमा परिवर्तन ल्याउनेभन्दा झन् झन् संकटमा फसाउने र मुलुकलाई कहालिलाग्दो अवस्थामा लैजाने निश्चितै छ ।
यस परिवेशमा नेपालको मूलधारका रुपमा रहेको क्रान्तिकारी वर्गको एक मात्र आस्थाको केन्द्रका रुपमा स्थापित नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । यसले मूलत ः सर्वहारा वर्ग र उत्पीडित वर्गमा आस्थाको सञ्चार गराएको छ । परिवर्तनकारी संघर्ष र तिनका उदात्त परिणामहरुलाई निमोठ्ने तथा संसदवाद, यथास्थितिवाद र दक्षिणपन्थी संशोधनवादमा आत्मसमर्पण गरी आत्मोत्थान गर्ने र सम्पूर्ण क्रान्तिकारी तप्काका विरुद्ध लागी इतिहासमै नभएको अभूतपूर्व किसिमको गद्दारी एवम् धोकापूर्ण क्रियाकलाप गर्ने क्रान्तिविरोधी तत्वको प्रभुत्वले क्रान्तिकारी एवम् परिवर्तनकारीहरुलाई सचेत बन्न हौसल्याएको छ । अवसरवादी एवम् छद्मभेषी कथित कम्युनिष्टहरुको पाखण्डी विचार र राजनीतिलाई ध्वस्त नपार्दासम्म क्रान्तिकारी आन्दोलन अघि नबढ्ने हुँदा सैद्धान्तिक र वैचारिक रुपमै प्रशिक्षित हुन र संघर्षकै बिचबाट संगठनलाई दरिलो बनाउँदै लैजानु आजको आवश्यकता भएको महसुस गरी नेकपा (क्रान्तिकारी माओवादी) को अहिलेको बैठकले यथार्थको गम्भीर विश्लेषण गरेको छ र चुनौतीहरुको सामना गर्ने दृढता देखाएको छ ।
नेपाली जनताले देखाएको अभूतपूर्व त्याग, उत्साह एवम् सहिदी संघर्ष र बलिदानको अपमान गर्ने पुष्पकमल दाहाल, बाबुराम भट्टराई–रामबहादुर थापा लगायत र साम्राज्यवादका दलालका रुपमा चिनिदै आएका ओली–नेपाल गुटको चिन्तन भनेको नेपाल र यहाँका परिवर्तनकामी जनताका विरुद्धमा रहनु र आफ्ना मालिकहरुको स्वार्थलाई समृद्ध गर्नु नै तिनको समृद्धिको सार हो । यसर्थ प्रतिक्रियावादी वर्गमा रुपान्तरित हुन पुगेको तत्वले राष्ट्रियता र जनतन्त्र एवम् जनजीविकाका सवाललाई प्रधानता दिँदैनन् र तिनका प्रति जनतामा आकर्षणभन्दा विकर्षण पैदा भई आक्रोश र प्रतिरोधको माग बढ्दछ । यसको उपयोग नेकपा (क्रान्तिकारी माओवादी)ले नै गर्नुपर्छ र क्रान्ति, परिवर्तन र राष्ट्रियताप्रति संवेदनशील रहेका तप्कालाई ध्रुवीकृत गराउँदै क्रान्तिको अग्राखी सम्भावानलाई सन्निकट ल्याउने काममा अग्रसरता देखाउने दायित्व पनि यसकै हो र त्यस दिशातर्फ लागेको सङ्केत अहिलेको केसको बैठकले देखाएको छ ।
उथलपुथलकारी क्रान्तिको निम्ति सशस्त्र जनविद्रोहको कार्यदिशालाई अवलम्बन गर्दै आएको क्रान्तिकारी शक्तिले आफूलाई मालेमावादी एक मात्र विद्रोही धार हो भन्ने कुरा पुष्टि र प्रमाणित गर्ने किसिमका संघर्षका उठानमा लगाउने चिन्ता र चासो यस बैठकले गरेको छ र यस बैठकका निर्णयहरु ऐतिहासिक एवम् दुरगामी महत्वका रहेका छन् । क्रान्तिकारी कम्युनिष्ट शक्ति कमजोर हुँदा नै इतिहास–घात हुन्छन् भने तिनको प्रबलतामै इतिहास–निष्ठ एवम् भविष्यनिष्ठ परिणाम जन्मन्छन् । कम्युनिष्टका नाम र विचार बेचेर प्रतिक्रियावादको खेती गर्ने तत्वको समाप्तिमै क्रान्तिकारी शक्ति बलिया हुन्छन् भन्ने कुरामा मालेमावादप्रति प्रतिबद्ध क्रान्तिकारी माओवादी रहेको छ ।