मोरङ कारागारमा कैदी तामाङको मृत्यु

मोरङ कारागारमा कैदी तामाङको मृत्यु

विराटनगर, असार १२ । मोरङ कारागार हाटखोलास्थित आफ्नो कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मंगलबार (आज) मृत्यु भएको छ ।

मोरङ सुन्दरहरैंचा नगरपालिका, इन्द्रपुर–९ स्थायी घर भएका २५ वर्षीय उत्तम तामाङको मृत्यु भएको कारागारका स्वास्थ्यकर्मी अन्जनी पोखरेलले बताए ।

तामाङ कारागारमा नाइकेको जिम्मेवारी सम्हालेर बसेका थिए । कारागारका छजना नाइके मध्ये उनी पनि एक हुन् । जबरजस्ती करणी मुद्दामा उनलाई जिल्ला अदालत मोरङले २०७० साल बैशाख १६ गते १२ वर्ष कैद सजायको फैसला सुनाएको थियो । पोखरेलका अनुसार लामो समयदेखि नशा सम्बन्धी समस्या रहेका तामाङको हृदयघातका कारण मृत्यु भएको हो ।

यस अघि पनि पटक–पटक बिरामी पर्दै आएका तामाङको नियमित उपचार हुँदै आएको थियो । अहिले पनि बिरामी भएपछि उपचारका लागि एम्बुलेन्समा कोसी अञ्चल अस्पताल लगिएकोमा र्पुयाउने वित्तिकै उनलाई बिहान कबिर साढे आठ बजे अस्पतालले मृत घोषणा गरेको थियो । उपचारमा संलग्न चिकित्सकले नशा सम्बन्धी समस्या रहेका कारण जुनसुकै बेला पनि खतरा रहेको र समस्या आउन सक्ने बताएको कारागारले जनाएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार मृत्यु भएका कैदी तामाङको शव मंगलबार नै आफन्तलाई जिम्मा लगाइएको छ । दुई सय ५० जनाको क्षमता रहेको मोरङ कारागारमा ७५ जना महिलासहित छ सय ८५ कैदी बन्दी रहेका छन् । क्षमता भन्दा झन्डै तेब्बर कैदी बन्दी राखिएपछि समस्या हुँदै आएको कारागार प्रशासनले जनाएको छ ।