रुकुमकोटमा बस दुर्घटनाहुँदा नौ घाइते, सातको अवस्था गम्भीर (नामसहित)

रुकुमकोटमा बस दुर्घटनाहुँदा नौ घाइते, सातको अवस्था गम्भीर (नामसहित)

रुकुम, असार ८ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज (शुक्रबार) बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी गराएका छन् ।

रुकुमकोटबाट दाङको तुलसीपुरको लागि छुटेको ना५ख ४०१२ नंको बस सिस्ने गाउँपालिका–५ रुकुमकोटमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीया समुद्रा ऐरी, रोल्पा लिबाङ–४ का ३० वर्षीय दिलीपकुमार पुन, रुकुम पश्चिम बाँफीकोट गाउँपालिका–५ का २० वर्षीय दीपक देवकोटा, रुकुम पूर्व सिस्ने–५ का ४० वर्षीय अमर थापा र सोही ठाउँकी ५५ वर्षीया पुतला ऐरी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै दुर्घटनामा परी घाइते हुनेमा रुकुम पूर्व सिस्ने–५ की ५१ वर्षीया सुधाकुमारी शर्मा, सोही ठाउँका २३ वर्षीय नारायण गौतम, बाँके डुडुवा–५ का ३० वर्षीय अजित ऐरी र अन्य दुईजनाको नाम ठेगाना नखुलेको प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

घाइते भएका मध्ये समुद्रा, दिलीप, अम्मर, सुधाकुमारी अजित र नाम ठेगाना नखुलेका दुईजनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । उनले जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

प्राय सबै घाइतेको टाउको, छाती, हातखुट्टामा चोट लागेको छ । गाडी तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । गाडी चालक दाङ, तुल्सीपुर–११ तरीगाउँका चूडामणि विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घाइतेलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।