

फाइल फाेटाे
काठमाडौं, वैशाख ३० । यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियान अन्तर्गत आठ जना नेपालीहरुको समूह आइतबार विहान चुचुरोमा पुगेको छ । नेपालतर्फको मोहोडाबाट यो टोली विश्वको अग्लो चुचुरोमा पुग्न सफल भएको हो । सगरमाथा आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस सिजनको बाटो निर्माण गर्दै हिडेँको टोली चुचुरोमा पुगेको हो ।
‘आज विहान साढे तीन बजे आठ जना नेपाली गाइडको टोली चुचुरोमा पुगेको छ,’ सम्पर्क अधिकृत श्रेष्ठले आधार शिविरबाट जानकारी दिए ।
उनका अनुसार, चुचुरोमा पुग्नेमा पासाङ्ग तेन्जिङ्ग शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जेनजेन लामा, सिद्धिबहादुर तामाङ्ग, पेम्बाछिरी शेर्पा, तेन्जिङ्ग ग्याल्जेन शेर्पा र दातुक भोटे छन् ।
यस वर्ष सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट ३८ वटा आरोहण दलका ३ सय ६४ सदस्य सगरमाथातर्फ गएका छन् । यी मध्ये ४ आरोहण दलमा २० जना नेपाली पनि रहेको श्रेष्ठले बताए ।
गत वर्षको वसन्तकालीन सिजनमा स्वदेशी र विदेशी गरी ४ सय ४८ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । चैतदेखि सुरु भई जेठमा सकिने आरोहण सिजनमा १ सय ८९ विदेशी र २ सय ५९ नेपाली गरी ४ सय ४८ आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए ।