विरोध जुलुसमाथिको हस्तक्षेप र गिरफ्तारी ओली सरकारको राष्ट्रिय आत्मसमर्पणवादको निर्लज्ज उदाहरण : क्रान्तिकारी माओवादी

देशैभरबाट गिरफ्तार गरिएका नेता कार्यकर्ताको अविलम्ब रिहाईको माग

प्रकाशित मिति : २०७५ बैशाख २९

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले वक्तव्य जारी गरी पार्टीले काठमाडौं लगायत देशैभरि गरिएको विरोध प्रदर्शन तथा विरोध जुलुसमाथि ओली सरकारले गरेको हस्तक्षेप र गिरफ्तारीलाई ओली सरकारको राष्ट्रिय आत्मसमर्पणवादको निर्लज्ज उदाहरण भएको जनाउँदै गिरफ्तार गरिएका नेता सीपी गजुरेलसहित सबैको अभिलम्ब रिहाईका लागि जोडदार माग गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छ, “यो एकातिर भारतीय विस्तारवादद्वारा नेपालको राष्ट्रिय स्वाधीनतामाथि गरिंदै आएको हस्तक्षेपको अत्यन्तै भद्दा नमूना हो भने अर्कोतिर आफूलाई देशभक्त, वाम तथा कम्युनिस्ट भनाउने ओली सरकारको निकृष्ट दलाली तथा राष्ट्रिय आत्मसमर्पणवादको निर्लज्ज उदाहरण हो । साथै यो जनताको विरोध प्रदर्शन गर्ने मौलिक अधिकारलाई कुल्चने घोर फासीवादी क्रियाकलाप पनि हो । हाम्रो पार्टी ओली सरकारका यसप्रकारका गतिविधिहरुको तिव्र विरोध एवम् भत्र्सना गर्दछ ।”

वक्तव्यमा “हाम्रो पार्टी ओली सरकारका यसप्रकारका गतिविधिहरुको तिव्र विरोध एवम् भत्र्सना गर्दछ । साथै गिरफ्तार गरिएका क. सिपी गजुरेल लगायतका सम्पूर्ण कमरेडहरुको अविलम्व रिहाइको पनि जोडदार माग गर्दछ । अन्तमा, हाम्रो पार्टी राष्ट्रघातको विरोध तथा देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको पक्षमा दृढतापूर्वक उभिई जुलुश प्रदर्शनमा सहभागी हुनु भएका देशैभरिका आदरणीय जनसमुदायसहित सम्पूर्ण कमरेडहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।” जनाइएको छ ।

वक्तव्यको पूर्णपाठ यस्तो छ : 

“भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा ठूलो शक्ति प्रदर्शन गरी यही वैशाख २८ गते ओली–मोदी गठबन्धनमा अरुण तेस्रो जलविद्युत परियोजनाको शिलान्यास गरिएको छ । मोदीको नेपाल भ्रमण, राष्ट्रघाती अरुण तेस्रोको शिलान्यास तथा ओली–मोदी गठबन्धनका विरुद्ध आज जुलुश प्रदर्शनको क्रममा रत्नपार्कबाट हाम्रो पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष क. सिपी गजुरेल, पी.वि.एम.द्वय क. कमल चौधरी तथा क. पवनमान श्रेष्ठ, सिसिएम क. सुरेश श्रेष्ठ, क. शारदा महत, क. रमेश पौडेल, क. खगेन्द्र छन्त्याल, क. इन्दिरा अधिकारी, क. टेकबहादुर विक, क.शोभा विश्वकर्मा, क.मनोज बुढाथोकी, क. भूमि बुढाथोकी, क.सुरेन्द्र राई, क.मधु राई, क. जितबहादुर लामा, क.सुमित्रा न्यौपाने, क.अर्जुनलाल श्रेष्ठ, क. प्रेम तामाङ, क. नमस्ते सायमी, क. कर्ण विसी, क.मंगल तामाङ, क. ज्ञानेन्द्र प्रजापति, क.सरोज मोक्तान, क. बद्रहरि नेपाल, क.दीलबहादुर तामाङ, क.सुरेश तामाङ, क. फडिन्द्र कार्की, क.बालकुमार सुनारसहितका दर्जनौं कमरेड तथा साथीहरुलाई निर्लज्ज रुपमा गिरफ्तार गरिएको छ ।

यसैक्रममा हिंजो काठमाडौंको असनमा अवस्थित नेकपा (क्रान्तिकारी) को जिल्ला कार्यालयबाट हाम्रो पार्टीका केन्द्रिय समिति सदस्यद्वय अमिर महर्जन तथा हरिकृष्ण गजुरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य गोर्की श्रेष्ठका साथै अरुण तेस्रो शिलान्यासका विरुद्ध अनसनरत अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा काठमाडौंका संयोजक महेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, संघर्ष दाहाल सहित ८ जना नेता कार्यकर्ताहरुलाई पनि गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको छ ।

त्यसैगरी बुटवलमा आज पार्टी पिविएम तथा देजमो ५ नं. प्रदेश संयोजक क.केवी गुरुङ, क.प्रेम रिमाल, क.रवि पाण्डे, नेपालगञ्जमा बाँके सेक्रेटरी क.अर्जुन, क.भूकम्प, क.विराट, क.विशाल शाही र कैलालीमा देजमोका ७ नं. प्रदेश संयोजक क. रामबहादुर केसी, क.टंक कोइराला र क. केशव साउदललाई पनि विरोध प्रदर्शनको क्रममा गिरफ्तार गरिएको छ ।

यो एकातिर भारतीय विस्तारवादद्वारा नेपालको राष्ट्रिय स्वाधीनतामाथि गरिंदै आएको हस्तक्षेपको अत्यन्तै भद्दा नमूना हो भने अर्कोतिर आफूलाई देशभक्त, वाम तथा कम्युनिस्ट भनाउने ओली सरकारको निकृष्ट दलाली तथा राष्ट्रिय आत्मसमर्पणवादको निर्लज्ज उदाहरण हो । साथै यो जनताको विरोध प्रदर्शन गर्ने मौलिक अधिकारलाई कुल्चने घोर फासीवादी क्रियाकलाप पनि हो । हाम्रो पार्टी ओली सरकारका यसप्रकारका गतिविधिहरुको तिव्र विरोध एवम् भत्र्सना गर्दछ । साथै गिरफ्तार गरिएका क. सिपी गजुरेल लगायतका सम्पूर्ण कमरेडहरुको अविलम्व रिहाइको पनि जोडदार माग गर्दछ । अन्तमा, हाम्रो पार्टी राष्ट्रघातको विरोध तथा देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको पक्षमा दृढतापूर्वक उभिई जुलुश प्रदर्शनमा सहभागी हुनु भएका देशैभरिका आदरणीय जनसमुदायसहित सम्पूर्ण कमरेडहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।”