सीमा मिचिएको विरोधमा क्रान्तिकारी माओवादीले निकालेको मसाल जुलुसमाथि प्रहरी हस्तक्षेप, जिल्ला सेक्रेटरीसहित १२ जना नेता कार्यकर्ता गिरफ्तार

सीमा मिचिएको विरोधमा क्रान्तिकारी माओवादीले निकालेको मसाल जुलुसमाथि प्रहरी हस्तक्षेप, जिल्ला सेक्रेटरीसहित १२ जना नेता कार्यकर्ता गिरफ्तार

कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी)ले कञ्चनपुरको सीमा क्षेत्र पुनर्वास–९ बीचफाटमा भारतीय सीमा सुरक्षाबलले गरेको सीमा अतिक्रमण र ज्यादतीको विरोधमा मसाल जुलुससहित गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले मसाल जुलससहित गरिएको विरोध प्रदर्शनमाथि हस्तक्षेप गरी जिल्ला सेक्रेटरी विक्रान्त, सहसेक्रेटरी विश्वराम दमाई, अखिल (क्रान्तिकारी)का ७ नं. प्रदेश संयोजक रामबहादुर महरा, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष तारा पन्त, जिल्ला सहसचिव माधव भट्ट, चन्द्रलाल डगौरालगायत १२ जना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई महेन्द्रनगर प्रहरी कार्यालयमा राखिएको हाम्रा सहकर्मी धनञ्जय अवस्थिले जानकारी दिनुभएको छ । प्रहरीले ग्रेटर नेपालका सुदुरपश्चिम संयोजक गजेन्द्र केसीलाई पनि गिरफ्तार गरेको छ ।

शान्तिपूर्ण रुपमा निकालिएको मसाल जुलुसमाथि प्रहरी दमन भएपछि क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुले प्रहरी हिरासतमा नै भारतीय विस्तारवाद र नेपाल सरकारको राष्ट्रघाती चरित्रका विरुद्ध चर्को नाराबाजी गरेका छन् । क्रान्तिकारी माओवादीले सीमा अतिक्रमणको विरोधमा बिहीबार साँझ महेन्द्रनगरमा मसाल जुलस निकालेको थियो ।

यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरले एक वक्तव्य निकालेर भारतीय सीमा सुरक्षा बलको ज्यादती र सीमा अतिक्रमणको विरोध गरेको छ । जिल्ला सचिव विक्रान्तले अघिल्लो बुधबार वक्तव्य जारी गरी भारतीय सीमा सुरक्षा वलका जवानहरुले नेपालीमा भूमिमा गाडिएको पोल जबर्जस्त उखालेर फालिदिएको घटनाको कडा शब्दमा निन्दा एवम् भत्र्सना गर्नुभएको थियो ।

वक्तव्यमा भनिएको थियो, “दक्षिणी क्षेत्र पुनर्वास न.पा. ९ मा पर्ने बिचफाटामा भारतीय निकुञ्जबाट नियमित आउने गरेका हातीको बथानबाट बस्ती सुरक्षित र नियन्त्रण गर्नका लागि बिद्युत पोल बनाउने उदेश्यले ६ लाखको लागतमा बन्दै गरेको पोल गाड्ने कार्य शुरु भइरहेको स्थानमा बधुबार दिउँसो १२ बजे नेपाल प्रहरीको सामुन्नेमा बलपूर्वक ३९ औ घोला बेश क्याम्प बटालियन (एस एस बि)बाट ठुलो सङ्ख्यामा आएको भारतीय टिमले सिमा स्तम्भ १९४ नजिकैको नेपाली भूमिमा गाडन लागेको पोल भारतीय सिमा सुरक्षा बलले बलपूर्वक भत्काएको घटनाप्रति हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ ।”

साथै वक्तव्यमा प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि भारतीय पक्षबाट सीमा अतिक्रमणका घटनामा बृद्धि भएको भन्दै यसरी दिनदिनै नेपाली भूमि मिचिँदा ओली नेतृत्वको सरकार चँु समेत नबोल्नुले यो सरकारबाट राष्ट्रियतामा गम्भीर संकट पैदा हुने खतरा देखिएको जनाइएको थियो र अब राष्ट्रिय स्वाधीनताको लडाइँका निम्ति तमतयार भएर बस्न सबै स्वाभीमानी नेपालीहरुलाई वक्तव्यमा आव्हान समेत गरिएको थियो ।

क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)को नेतृत्व र पार्टीको व्यवस्थापनमा भारतसँग सीमा जोडिएका ७ नं. प्रदेशका जिल्लामा ११ दिनसम्म सीमा निरीक्षण तथा सीमा बचाउँ अभियान नै चलाएको थियो ।

यसैबीच, नेपालको पश्चिमी सीमा क्षेत्र कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा जान स्थानीयले भारतीय प्रहरीसँग अनुमति लिनुपर्ने बाध्यता पैदा भएको छ ।

नगरपालिकाको वडा नं. ९ बिचफाटा सीमा पिल्लर नम्बर १९४ रहेको स्थानमा कञ्चनपुरका स्थानीयले बालि जोगाउन लगाएको विद्युतीय तरबार समेत भारतीय प्रहरीले उखेलेर फालेका छन् । भारतीय प्रहरीको उक्त दादागिरीविरुद्ध स्थानीयले विरोध जनाइ रहेका छन् ।

भारतीय प्रहरीको पोष्टबाट १५ मिटर दक्षिण—पश्चिममा रहेको पिल्लर नम्बर १९५ रहेको स्थानमा स्थानीयहरु जान खोज्दा भारतीय प्रहरीले जान रोक लगाएका छन् ।

आफ्नै भूिममा जान पनि भारतीय प्रहरीले अवरोध गरेपछि त्यस ठाउँमा केही समय निकै विवाद सिर्जना भएको थियो । विवादले उग्ररुप लिन थालेपछि भारतीय प्रहरीले ३, ४ जना स्थानीय मात्र जान पाउने सहमति भएको स्थनीयले बताएका छन् । स्थानीय त्यो ठाउँमा पुग्दा पिल्लर नम्बर १९५ भारतीयले प्रहरीले उखेलेर फालेको भेटिएको स्थानीयले जानकारी दिए । एसएसबीले स्थानीय नेपालीहरुलाई दुव्र्यवहार पनि गरेका छन् ।